२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सवारी आयात प्रतिबन्ध निरन्तरताप्रति व्यवसायी असन्तुष्ट

फाइल तस्बिर

सरकारले निजी सवारी साधन आयातमा लगाएको प्रतिवन्धलाई निरन्तरता दिएपछि अटो व्यवसायीले असन्तुष्टि जनाएका छन्। विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै करिब ६ महिनादेखि सरकारले निजी सवारी साधन (जिप, कार, भ्यान) लगायत चार वस्तुको आयातमा रोक लगाएको थियो।

गाडी, मोटरसाइकल, मदिरा र स्मार्टफोन आयातमा लगाएको प्रतिबन्ध आगामी मंसिर २९ सम्मलाई निरन्तरता दिने निर्णय गरेको छ। चार पांग्रे निजी सवारी साधन आयात करिब ६ महिना रोकिँदा अटोमोबाइल क्षेत्र संकटग्रस्त भएको भन्दै खुल्ला गर्न नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले माग गरेको थियो।

व्यवसायी टाट पल्टिँदा पनि सरकारले वेवस्ता गरेको व्यवसायीको गुनासो छ। निजी सवारी साधन आयात खोल्ने मागलाई उपेक्षा गरेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए। ‘अटो व्यवसायी टाट पल्टेर व्यवसायबाट पलायन हुने अवस्था आएको छ,’ थापाले भने, ‘हाम्रो आग्रहलाई वेवास्ता गरियो।’ सवारी प्रतिबन्धले अर्बौं रूपैयाँ नोक्सानी हुँदा पनि सामान्य ढंगले लिएको उनले बताए। विदेशी मुद्रा सञ्चितिमा सुधार आएकाले सवारी आयात खोल्नुपर्ने माग गर्दै व्यवसायीले लविङ गर्दै आएका थिए।

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले गत वैशाखदेखि निजी सवारी साधन (जिप, कार, भ्यान) आयातमा प्रतिबन्ध लगाएको थियो। कारोबार ठप्प भएपछि अटोमोबाइल क्षेत्रबाट लाखौंको रोजगारी गुमेको व्यवसायीले बताएका छन्। ‘अटो व्यवसायमा सयौं विस्थापित भएका छन् भने हजारौंको रोजगारी गुमेको छ,’ अध्यक्ष थापाले भने, ‘सरकारबाट वेवास्ता भयो।’

६ महिना आयात रोकिँदा करिब नौ हजार निजी सवारी साधनको कारोबार रोकिएको छ। सरकारले आर्थिक वर्ष २०७८/७९ मा निजी सवारी साधनबाट करिब ३९ अर्ब राजस्व संकलन गरेको थियो। करिब ६ महिना सवारीको आयात रोकिँदा त्यसको आधा करिब साढे नौ अर्ब रूपैयाँ राजस्व गुमाएको छ। अटोमोबाइल क्षेत्रले कुल राजस्वमा करिब नौ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ। अटोमोबाइल क्षेत्रले भन्सार विन्दुमा उठ्ने परल मूल्यभन्दा दोब्बर राजस्व बुझाउँछ। व्यापार घाटामा अटो क्षेत्रको अंश थोरै भए पनि राजस्वमा धेरै योगदान पुर्‍याएको व्यवसायीको दाबी छ।

मुद्रा सञ्चिति घटेपछि सरकारले सुरुमा १० वस्तुको आयातमा प्रतिवन्ध लगाएको थियो। चुरोट तथा सुर्ती, हीरा, टीभी, खेलौना, तास, कुरकुरे/लेज, मदिरा, तास, मोबाइल, टीभी, मोटरसाइकल लगायत वस्तु बन्देज गर्ने निर्णय गरेको थियो।

गत भदौ १४ मा राजपत्रमा सूचना प्रकाशन गरेर चुरोट तथा सुर्ती, हीरा, टीभी, खेलौना, तास, कुरकुरे/लेजको आयात प्रतिवन्ध फुकुवा गरे पनि ४ वस्तु आयातको प्रतिवन्धलाई मंसिरसम्म लम्ब्याएको हो।

प्रकाशित: ३० आश्विन २०७९ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App