१६ चैत्र २०८० शुक्रबार
अर्थ

'नेपालमा अब आर्थिक क्रान्तिको आवश्यक छ'

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्तिको आवश्यक रहेको बताएका छन्।

बुधबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले नेपालमा विगतमा सबै खालका क्रान्ति भएको भन्दै अब कृषि क्रान्तिमार्फत आर्थिक क्रान्तिको आवश्यक भएको बताए।

अध्यक्ष गोल्यानले नेपालमा विभिन्न क्रान्तिमार्फत गणतन्त्र ल्याएपनि आर्थिक क्रान्ति हुन नसकेको दाबी गरे। उनले आर्थिक विकास गर्ने विषयमा पनि नेपालमा राजनीतिक हुने भएको भन्दै कृषि, पर्यटन मार्फत क्रान्त्रिका भाषण गरेर नेताहरुले भोटको राजनीति गरेको बताए।

उनले अब भोटको राजनीति नभएर किसानहरुलाई कृषि उत्पादनमा जोड दिएर आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए। उनले राजनीतिदेखि आम जनतालाई आर्थिक क्रान्तिसँग जोड्ने दायित्व मिडियाको रहेको बताए। उनले स्वदेशी उत्पादन र त्यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने ठूलो आवश्यकता रहेको पनि बताए।

उनले भने,‘नेपालमा अबको आवश्यकता आर्थिक क्रान्ति हो। नेपालमा सबै किसिमको क्रान्तिहरु गरिए। क्रान्ति गर्दै मुलुकमा गणतन्त्र समेत आयो तर आर्थिक क्रान्ति भएन। मुलुकका दुई तिहाई किसान जनताका लागि आर्थिक क्रान्ति आवश्यक छ तर हामी कुरा मात्रै गर्छौं काम गर्दैनौं। त्यसमा पनि राजनीतिक गर्छौं। नेताहरुले किसानको कुरा गरेर भोटको राजनीति गर्नुहुन्छ। सबैले त्यही गरिरहेका छाैँ। अब सबै जनतालाई मुलुक समृद्ध बनाउन आर्थिक क्रान्ति गर्नेतर्फ समेत गराउनुपर्छ।’

यस्तै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तलब वितरण गर्नका लागि समेत बैंकबाट पैसा नपाएको गुनासो गरे। उनले आफूले कर्मचारीको तलब खुवाउनका लागि ४० लाख रुपैयाँ निकाल्न खोज्दा उपत्यकाका तीन वटै जिल्लामा रहेका बैंकमा पैसा नपाएको दाबी गरे।

उनले बजारमा तरलताको चरम अभाव भएको अवस्थामा बैंकहरुले ब्याजदर बढेको भन्दै ब्याजदर वृद्धिले उद्योग व्यवसाय गर्ने वातावरण नभएको बताए। अध्यक्ष मल्लले पछिल्लो समय ब्याजदरमा भएको वृद्धिले निजी क्षेत्र मर्कामा परेको भन्दै सरकारले ब्याजदर वृद्धिलाई तत्काल व्यवस्थित गर्नुपर्ने बताए।

उनले मुलुकलाई आत्मनिर्भर बनाउनका लागि निजी क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताए। मल्ले सरकारले निजी क्षेत्रमैत्री नीति नियमहरु बनाउन आवश्यक रहेको बताए। उनले बैंकिङ प्रणाली देखिएको असहज अवस्थालाई थप सहज गराउन राष्ट्रकसँग माग गरे। बुधबार नाफिजले शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार १ जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २ जनालाई प्रदान गरेको छ।

प्रकाशित: १३ आश्विन २०७९ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App