७ वैशाख २०८१ शुक्रबार
अर्थ

सवारी साधनमा उच्च प्रतिस्पर्धा

दसैं, तिहार र छठ नेपालीका सबैभन्दा ठूला सांस्कृतिक चाडपर्व हुन्। यस्ता चाडपर्वमा मन खोलेर खर्च गर्ने हाम्रो परम्परा छ। यही परम्पराले व्यापारिक गतिविधि बढाउन पनि सहयोग पुर्‍याएको छ। यस अर्थमा चाडपर्व संस्कृतिसँगै व्यापारिक दृष्टिकोणले पनि महत्व राख्ने बनेका छन्।  

यिनै चाडपर्वको अवसर पारेर बजारमा आउने अर्बौं रूपैयाँ आफ्नो पोल्टामा पार्न उद्योगी–व्यवसायीबीच तीव्र प्रतिस्पर्धा हुने गरेको छ। नयाँ वर्षबाहेक अन्य समयमा उपभोक्ताका लागि खासै कुनै विशेष योजना नल्याउने नेपाली व्यवसायीले चाडपर्वलक्षित कार्यक्रम भने बेग्रल्ती ल्याउने गरेका छन्। यो वर्षको चाडमा पनि व्यवसायीले यस्ता थुप्रै योजना सार्वजनिक गरेका छन्।  

दैनिक उपभोग्य सामान र लत्ताकपडा मात्र होइन; दसैं–तिहारजस्ता ठूला चाडपर्व सवारी साधन (चार र दुुई दुवै) को व्यापारका दृष्टिले पनि महत्वपूर्ण देखिएका छन्। सवारी साधन खरिद गर्न चाहने कतिपय नागरिकले दसैं पर्खेर बस्ने गरेको देखिन्छ। दसैंमा सवारी साधन खरिद गर्दा व्यवसायीले नगद छुट दिनुका साथै अन्य धेरै किसिमका अफर ल्याएका हुन्छन्। यस्तै छुटलाई पर्खेर यही बेला सवारी साधन खरिद गर्ने प्रचलन प्रत्येक वर्ष बढ्दै गएको छ। विदेशी मुलुकमा उद्योगी–व्यवसायीले विशेष अवसर पारेर उपभोक्तालाई छुट सुविधा दिने प्रचलन पुरानो हो। यहाँ यसैको सिको गरिएको हो।  

नेपालका अटोमोबाइल व्यवसायीले दसैंको मौका पारेर ‘अटो सो’ गर्न थालेको धेरै भइसकेको छ। ‘अटो सो’ मा विभिन्न ब्रान्डका सवारी साधन, मोटरसाइकल र स्कुटर सार्वजनिक गरिँदै आएको छ। यो वर्ष व्यवसायीले विद्युतीय सवारी साधन प्रदर्शनी गरे। प्रदर्शनीका अवसरमा विद्युतीय सवारी साधनमा विभिन्न किसिमका छुट र सुविधा दिएर उपभोक्ता तान्ने प्रयास गरिएको छ। प्रदर्शनीमा उपभोक्ताको पनि घुइँचो बढेको देखिन्छ।  

यो वर्षको दसैं–तिहार र छठलक्षित गरेर विद्युतीय सवारी साधनमा मात्र होइन; पेट्रोलियम पदार्थबाट चल्ने दुई र चारपांग्रे सवारीमा पनि विभिन्न अफर सार्वजनिक भएका छन्। उद्योगी–व्यवसायीले सर्वसाधारणलाई नगद छुट, स्क््रयाचबाट थप छुट, बिमा, सडक दस्तुर छुट, बम्पर उपहारदेखि आकर्षक अन्य अफर घोषणा गरेका छन्। व्यवसायीबीच ग्राहक तान्ने प्रतिस्पर्धा बढेको छ।  

चारपांग्रेको अफर

नेपालमा सवारी साधनमा सबैभन्दा लोकप्रिय बनेको टाटा मोर्टस्को नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो वर्षको चाडपर्वलाई हेरेर ‘द–सही’ नामक योजना ल्याएको छ। कम्पनीका अनुसार यो योजनामा ग्राहकले कुनै पनि व्यावसायिक गाडी जस्तै– बस, ट्रक, टिपर, मिनीट्रक र टिपर, एस, योद्धा, विंगरलगायत खरिद गरे टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइलमध्ये कुनै एक उपहार पाइने छ। ग्राहकले खरिद गरेको गाडीअनुसारको उपहार रोज्न सक्ने छन्।  

यो कम्पनीले उपहारबाहेक एएमसी, एक्सचेन्ज, रिप्लेसमेन्ट र फाइनान्सजस्ता सुविधासमेत दिएको छ। कम्पनीले गाडी खरिदमा ७० प्रतिशतसम्मको फाइनान्स व्यवस्था गरिदिएको छ। यस्तै अर्को लोकप्रिय कम्पनी सुजुकीले पनि चाडपर्वलाई हेरेर विभिन्न सुविधा सार्वजनिक गरेको छ। नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले चाडपर्वलक्षित ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको हो। यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रूपैयाँसम्म नगद छुट, एक वर्षको सवारी बिमा र स्क््रयाच कार्डमार्फत एक लाख ५० हजार रूपैयाँसम्म अतिरिक्त छुट पाउने छन्।  

कम्पनीका अनुसार यो योजना सुजुकी गाडीका ४२ वटै सोरुममा लागु हुने छ। सुजुकीका मोडेलअनुसारका कारबमोजिम छुट पनि फरक–फरक दिइएको छ।  

यसैगरी केही वर्षयता चारपांग्रे सवारी साधनमा लोकप्रिय बन्दै आएको हुन्डाई अटोमोबाइल्सले पनि ग्राहकलक्षित कार्यक्रम ल्याएको छ। हुन्डाई अटोमोबाइल्सको नेपालका लागि अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चाडपर्वलक्षित गरेर हुन्डाई फेस्टिभ डिलाइट्स् योजना ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकले पाँच लाख रूपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्क््रयाच कार्डमार्फत थप एक लाख ५० हजारसम्मको नगद छुट पाउन सक्ने छन्। नगद छुटबाहेक यो योजनामा ग्राहकले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बिमा पाउने छन्। कम्पनीका अनुसार सबै हुन्डाई गाडी तीन वर्ष ग्यारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुने छ।  

यस्तै पछिल्लो समय लोकप्रिय बन्दै गएको रेनो कम्पनीले पनि चाडपर्वलाई हेरेर विभिन्न छुट सुविधा उपलब्ध गराएको छ। नेपालमा रेनोका गाडी बिक्री गर्दै आएको एड्भान्स्ड अटोमोबाइल्स् कम्पनीले चाडपर्वलक्षित उपहार ल्याएको हो। रेनो ब्रान्डका कुनै पनि नयाँ गाडी खरिद गर्ने उपभोक्ताले एक वर्षको निःशुल्क पेट्रोल र सडक करको सुविधा पाइने कम्पनीले जनाएको छ। ‘चाडपर्वको शुभ सुरुवात, गरौं रेनोको साथ’ नाराका साथ चाडपर्वलक्षित ‘रेनो उत्सव अफर’ ल्याइएको हो। कम्पनीले दुई वर्षका लागि निःशुल्क सर्भिसिङका साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनसलगायतका योजना ल्याएको छ।

कम्पनीका अनुसार रेनो उत्सवअन्तर्गत ग्राहकले स्योर सट इजी फाइनान्स तथा स्पट भ्यालुएसन र एक्सचेन्जको पनि लाभ लिन सक्नेछन्। यसैगरी ग्रेटवाल मोटरले पनि उपभोक्ताका लागि विभिन्न योजना सार्वजनिक गरेको छ। ग्रेटवाल मोटर जिडब्लुएम गाडीको नेपालका लागि आधिकारिक बिक्रेता भिजी इम्पेक्सले चाडपर्वलक्षित आकर्षक छुटसहितको ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ योजना ल्याएको हो। कम्पनीले जिडब्लुएम गाडी किन्दा विभिन्न किसिमका छुट, एक वर्षको बिमा र फ्री मेन्टेनेन्स छुट योजना ल्याएको हो। यो योजना ग्रेटवाल मोटरका सबै प्रकारका गाडीमा उपलब्ध छ। भिजी इम्पेक्सका अनुसार जिडब्लुएमका कुनै पनि गाडी किन्दा नगद छुट पाउन सकिने छ।

दुईपांग्रे अफर

चाडपर्वलक्षित गरेर चारपांग्रे सवारी कम्पनीले मात्र होइन; दुईपांग्रे सवारी उत्पादन गर्ने कम्पनीका नेपालस्थित आधिकारिक बिक्रेता कम्पनीहरूले पनि विभिन्न योजना ल्याएका छन् ।  

नेपालमा लोकप्रिय बनेको हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले ‘आहा दसैं चाडपर्वको उमंग हिरो चढी दंग’ योजना ल्याएको छ। यो योजनाअन्तर्गत हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा सात हजार पाँच सय रूपैयाँ छुट दिइने छ। यसका साथै कम्पनीले पक्का छुट, स्क््रयाच कार्डमार्फत एक लाखसम्म जित्न सक्ने र बम्पर लक्की ड्रमार्फत एकजनाले एक लाख नगद पाउने योजना ल्याएको छ।

नेपालमा अर्को लोकप्रिय बनेको कम्पनी यामाहा नेपालले पनि चाडपर्वलाई हेरेर ‘फेस्टिभ ह्याट्रिक’ उपहार योजना ल्याएको छ। यो योजनाअन्तर्गत ग्राहकले यामाहाको कुनै पनि बाइक वा स्कुटर खरिद गर्दा तत्कालै स्योर सट उपहारमा ६ हजार रूपैयाँ र थप नगद जित्न सक्ने छन्।

यस्तै फिफा विश्वकप २०२२ लाई हेरेर कम्पनीले लक्की ड्रमार्फत हरेक दिन तीनजनाले हाइसेन्सको ५० इन्च स्मार्ट टिभी जित्न सक्ने योजना पनि ल्याएको छ।

अर्को लोकप्रिय कम्पनी टिभिएसले पनि चाडपर्वलक्षित योजना ल्याएको छ। टिभिएसको नेपालका लागि आधिकारिक कम्पनी जगदम्बा मोटर्सका अनुसार यो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सकिने छ। टिभिएसको ‘कायापलट’ नामक योजनाअन्तर्गत नकिन्दै डब्लुडब्लु डट टिभिएसी नेपाल डट कम र दसैंमा गई एक लाख जित्ने र खरिद गरेपछि १० लाखसम्म जित्ने मौकासमेत उपलब्ध छ। हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई स्मार्टफोन प्रदान गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हरेक साता एकजना खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गरिने छ भने एक भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप ५० लाखको नगद पुरस्कार पाउनेछन्।  

लामो समयदेखि नेपालमा मोटरसाइकल सेगमेन्टमा लोकप्रिय बन्दै आएको बजाज कम्पनीले पनि दसैंलक्षित योजना ल्याएको छ। नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीका अनुसार कम्पनीले चाडपर्वलक्षित गर्दै ‘आधाको आधा’ योजना ल्याएको हो। यसअन्तर्गत मोटरसाइकलको मूल्यको आधाको आधा (२५ प्रतिशत) डाउनपेमेन्ट गरी बाइक खरिद गर्न सकिने छ। यस्तै हरेक मोटरसाइकल खरिदमा सात हजार नगद छुट पनि दिइएको छ। अर्को लोकप्रिय कम्पनी होन्डाले पनि यो वर्षको चाडपर्वलाई हेरेर विभिन्न छुट र अन्य सुविधा योजना ल्याएको छ।  

होन्डा टु ह्विलर्सको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डाको दसैं शुभलाभ’ योजना सार्वजनिक गरेको हो। कम्पनीका अनुसार यो योजनाअन्तर्गत ग्राहकले स्क््रयाच कुपनमार्फत सात लाख रूपैयाँसम्मको क्यासब्याक र अन्य आकर्षक उपहार जित्न सक्नेछन्। कम्पनीले सात प्रदेशबाट एक–एकजनालाई एक–एक लाखका दरले ‘लक्की ड्र’ मार्फत नगद जित्न सक्ने योजना ल्याएको छ। यस्तै बम्परमा ‘लक्की ड्र’ मार्फत नगद १५ लाख रूपैयाँ दिइने पनि कम्पनीले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०७९ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App