नेपालले घरेलु मैदानमा जारी बाङ्लादेशसँगको पाँचदिवसीय महिला कबड्डी टेस्ट शृंखलामा पहिलो हार सामना गरेको छ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा मंगलबार भएको तेस्रो खेलमा नेपाल पाहुना टोली बाङ्लादेशसँग २६–२३ अंकको साँघुरो अन्तरले पराजित भएको हो। खेलमा अग्रता जोगाउन नसक्दा नेपालले हार सामना गर्नुपर्यो। पहिलो हाफमा नेपाल १५–१० ले अगाडि थियो। यो अग्रतालाई नेपालले १८ अंकसम्म कायम राख्यो। तर, यसपछि नेपाली खेलाडीले अग्रता जागाउन सकेनन् र यहीँबाट पाहुना टोली अगाडि बढेको हो। अन्ततः नेपालले हार सामना गर्नुपर्यो। पहिलो दुई खेलमा राम्रो प्रदर्शन गरेकी कप्तान मानमती विष्ट चम्किन सकिनन्। उनले तीन अंक मात्र दिलाइन्।
नेपालका लागि रबिना चौधरीको पाँच अंक नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो। यससँगै जारी शृंखलामा नेपालले पहिलो हारसमेत सामना गरेको छ। शृंखलामा नेपालको २–१ को अग्रता कायम नै छ। पाहुना टोली बाङ्लादेशविरुद्ध पहिलो दुई खेलमा सहज जित निकाल्दै नेपाल शृंखला आफ्नो बनाउने लक्ष्यमा थियो।
नेपालले पहिलो खेलमा ४१–१८ र दोस्रो खेलमा २९–२२ को जित निकालेको थियो। तर, तेस्रो खेलमा भने नेपालले त्यो लय जारी राख्न सकेन। तेस्रो खेलमा बाङ्लादेशकी श्रबोनी चम्कँदा नेपाल हार बेहोर्न बाध्य भयो। यसअघि नेपालको पहिलो जितमा कप्तान मानमती विष्ट र दोस्रो जितमा मीना नेपाली प्लेअर अफ द म्याच भएका थिए।
अब वैशाख १० गते विश्राम दिइएको छ। वैशाख ११ गते चौथो र वैशाख १२ गते पाँचौं खेल तय गरिएको छ। कबड्डीको लोकप्रियता बढेसँगै सुखद नतिजा आएको समयमा नेपालले बाङ्लादेशसँग शृंखला खेलेको हो।
नेपाली महिला कबड्डीले सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियन गेम्समा ऐतिहासिक कांस्य पदक जितेपछि नेपालमा यो खेलको लोकप्रियता बढ्दै गएको छ। नेपालको कबड्डीले पहिलोपल्ट एसियन गेम्समा पदक जितेको हो। त्यतिबेला बाङ्लादेशलाई हराउँदै नेपालले त्यो पदक जितेको थियो। त्यसपछि पहिलोपल्ट बाङ्लादेशसँग नेपालले खेलेको हो।
प्रकाशित: १० वैशाख २०८२ ०७:१३ बुधबार





