१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

‘नाडा इभी एक्स्पो २०२२’

 नाडा अटोमोवाइल्स् एशोसियसनले नेपालमा पहिलो पटक ‘नाडा इभी एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ।  

यही असोज ६ देखि ९ गतेसम्म आयोजना हुने उक्त एक्स्पो नेपालमा अटोमोवाइल्सका क्षेत्रमा पहिलो पटक आयोजना हुन लागेको हो। एक्स्पोमा विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनी हुने आयोजकले जनाएको छ।  

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत् प्राधिकरण सहयोगी संस्थाको रूपमा रहेकोे छ। युएस एड क्लिन एयरले नलेज पार्टनरको रूपमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठी समेतको सञ्चालन गर्ने आयोजकले जनाएको छ ।

यस्तै एक्स्पोको शीर्ष प्रायोजक सिएट टायर रहेको छ भने सह–प्रायोजकमा शिखर इन्सुरेन्स् कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती डिजिटल पेमेन्ट रहेको छ। एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ ।

नाडाका अध्यक्ष धु्रबबहादुर थापाले वर्तमान समयमा विद्युतीय सवारी साधनहरूको महत्व दिन प्रतिदिन बढ्दै गएको बताउँदै उनले यस्ता सवारी साधनहरूको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जल विद्युत्को उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वातावरण मैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दै आयोजना गर्न लागिएको यस एक्स्पोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरू रहने भएकोे छ। एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १६ वटा ब्राण्डका दुई पाङ्ग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरूको सहभागिता रहेको भएको छ ।

नेपाली महान चाड–पर्वहरूको पूर्वार्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्यधिक जनचेतना अभिवृद्घि गर्न एवं सम्बन्धित सम्पूर्ण अटो व्यवसायीहरूको समष्टिगत प्रवर्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्नेमा आयोजक विश्वस्त रहेको छ ।

एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रीपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू रहने छन् भने एक्स्पो सम्बन्धी समाचार सम्प्रेषणमा सहजताका लागि छुट्टै साझा मिडिया स्टललगायतको व्यवस्थाहरू रहेका छन्।  

एक्स्पोमा आगन्तुकहरूको भ्रमणलाई सहज बनाउन खल्ती एप मार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको तथा असोज ५ गतेसम्मको अग्रीम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपद्वारा भुक्तान गरेमा २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको आयोजकले जनाएको छ ।

प्रकाशित: २८ भाद्र २०७९ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App