८ वैशाख २०८१ शनिबार
अर्थ

रोकिएका सामाग्री तातोपानी आउन थाले

चीनको स्वशासित क्षेत्र तिब्बतको भू–भागमा एक महिनादेखि रोकिएका चिनियाँ सामाग्री तातोपानी नाका भएर नेपाल भित्रिन थालेका छन्। तीन दिनयता ११ कन्टेनर सामाग्री नाका भएर भित्रिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख अधिकृत नारद गौतमले बताए।

‘सबै पक्षको आग्रहपछि तत्कालका लागि चीनले बीच बाटोमा रोकिएका मालबाहक कन्टेनर नेपाल पठाउन थालेको हो,’ उनले नागरिकसँग भने। तिब्बतमा कोरोना संक्रमण पुनः देखा परेको भन्दै चिनियाँ पक्षले साउन २५ गतेदेखि सामाग्री निर्यातमा रोक लगाएको थियो।

उक्त रोकका कारण नेपाली व्यवसायीका सामाग्रीले भरिएका दर्जनौँ कन्टेनर बीच बाटोमै रोकिन पुगेका थिए। रोकिएका कन्टेनरमा स्याउ, लसुन लगायत नासवान कृषिजन्य सामाग्री रहेको व्यवसायीको गुनासोका आधारमा नेपाल सरकारको अनुरोधपछि चीन त्यसलाई नेपाल पठाउन सहमत भएको प्रमुख अधिकृत गौतमले जानकारी दिए।

उनका अनुसार शनिबारदेखि रोकिएका सामाग्री धमाधम नाका आइरहेका छन्। सोमबार मात्र तीन कन्टेनर सामाग्री नाका आइपुगेको छ। तिब्बतको न्यालम लगायत स्थायनमा नेपाली व्यवसायीका झण्डै तीन दर्जन मालबाहक कन्टेनर रोकिएको जानकारी उनीहरुले दिएको गौतमले बताए।

ती कन्टेनर धेरै स्याउ, लसुन लगायत कृषिजन्य र केही दशैं लक्षित सामाग्रीले भरिएका छन्। ‘रोकिएका सामाग्री आउन थालेपनि नयाँ सामान पठाउने विषयमा चिनियाँ अधिकारीले केही बताएका छैनन्,’ उनले भने।

गौतमका अनुसार तिब्बतमा अझै लकडाउन (बन्दाबन्दी) जारी छ। त्यसैले यस पटक चीनबाट दसैँतिहार लक्षित चाडबाडका सामाग्री आउने सम्भावना छैन। तिब्बतको मुख्य सडकमा सवारी साधन चलेका पाइएको छैन। ‘रोकिएका सामाग्री भित्रिइसकेपछि पुनः नाका कारोवार बन्द हुने सम्भावना छ। त्यहाँ (तिब्बत) को लकडाउन हटेपछि मात्रै थप सामाग्री आयात हुन सक्छ,’ प्रमुख अधिकृत गौतम बताउँछन्।

२०७२ वैशाख १२ को भूकम्पपछि चीनसँग कारोबार हुने उत्तरको मुख्य तातोपानी नाका चार वर्ष पूर्ण रुपमा बन्द भयो। भूकम्पले क्षतिग्रस्त मितेरी पुल लगायत दुबैतिरका संरचना पुनर्निर्माणपछि नाका कारोबार २०७६ जेठ १५ बाट पुनः सञ्चालनमा आएको थियो। त्यसयता नाका ‘न बन्द, न सञ्चालन’ को अवस्थामा छ।

कोरोना संक्रमण, दुबैतर्फको सडकको दुरावस्था लगायत कारण यसबीचमा नाका १५ पटकभन्दा बढी बन्द हुने र सञ्चालन हुने क्रम चल्यो। नाका सञ्चालन भएका बेलामा पनि चीनले दैनिक आठ–१० कन्टेनरभन्दा बढी सामाग्री पठाएन।

भूकम्पपछि चीनले तातोपानी नाकालाई धेरै चासो र प्राथमिकतामा राखेको पाईँदैन। नाका पूर्ण रुपमा सञ्चालनमा ल्याउन माग गर्दै यसमा संलग्न व्यवसायीहरु आइतबार परराष्ट्रमन्त्री नारायण खड्काको कार्यकक्षमा ‘डेलिगेसन’ गएका थिए।

यस क्षेत्रका नेता कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर नेतृत्वको व्यवसायी प्रतिनिधि मण्डललाई मन्त्री खड्काले नाका दीर्घकालीन सञ्चालनमा ल्याउन चीनसँग पहल भइरहेको बताएको डेलिेगेसनका सदस्य सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत (होमबहादुर) ले जानकारी दिए।

प्रकाशित: २७ भाद्र २०७९ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App