coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पूर्वाधार निर्माण र लगानी प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

लगानी बोर्डको कार्यालयले संघीय राजधानी काठमाडौंमा सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम आयोजना गर्ने भएको छ। कार्यालयको आयोजनामा भदौ २९ गते दिगो, हरित पूर्वाधार निर्माण र लगानी प्रवद्र्धन गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको फोरमको आयोजना गर्न लागेको हो।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले फोरमको आयोजना गरिएको बताए।  

‘नेपालले आगामी दिनमा पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तनमैत्री र दीगो खालको पूर्वाधार निर्माणमा जोड दिन आवश्यक छ’ उनले भने– ‘लगानीको इकोसिस्टमलाई व्यवस्थित गर्दै लगानीको वातावरण तयार पार्ने काम भइरहेको छ।’  

बोर्डका सिइओ भट्टले बोर्डले विगत लामो समयदेखि मुलुकको अर्थतन्त्रमा उत्साह जगाउने खालका परियोजनालाई अघि सार्दै आइरहेको बताए। ‘नेपालमा पूर्वाधार लगानीको प्रचुर सम्भावना छ। विदेशी तथा स्वदेशी लगानीलाई आकर्षित गरेर पूर्वाधार निर्माणमा सहभागी गराउनुपर्ने बेला भइसकेको छ,’ उनले भने– ‘कुनै पनि परियोजना छनोट गर्दा अर्थतन्त्रलाई उत्साह जगाउने खालका परियोजना छनोट गर्दै आइरहेका छौं। परियोजना छनोटमा राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त भएर मात्रै छनोट गर्दा यसले अर्थतन्त्रमा पनि सकारात्मक ऊर्जा प्रवाह गर्ने काम गर्छ।’  

बोर्डका सिइओ भट्टले फोरमले नेपालका जलवायुमैत्री तथा उत्थानशील खालका पूर्वाधार निर्माणको वातावरण निर्माणमा ठूलो सहयोग गर्ने दाबी गरे। लगानी बोर्डको कार्यालयले सन् २०१७ र १९ मा आयोजना गरेको लगानी सम्मेलनले नेपालमा लगानीको गन्तव्यको रूपमा स्थापित गराएको जनाएको छ।  

लगानी बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालले फोरममा स्वदेशी तथा अन्तरदेशीय लगानीकर्ता, नीतिनिर्मता र वित्तीय संस्थाहरूको उपस्थिति हुने बताए। ‘फोरममा विदेशी लगानीकर्ता/निजी क्षेत्र, नीतिनिर्माता, विकास साझेदार, बैंक तथा वित्तीय संस्था, विज्ञ/विशेषज्ञ, सञ्चारक्षेत्र लगायत सरोकारवालाहरूको सहभागिता हुनेछ,’ उनले भने– ‘यो फोरममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ट व्यक्तित्वहरू, विकास तथा पूर्वाधार क्षेत्रका विज्ञहरूको सहभागी हुनेछन्।’  

सम्मेलनको प्रधानमन्त्री तथा लगानीबोर्डका अध्यक्ष शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।  

बोर्डका उपसचिव तथा सहप्रवक्ता रमेश अधिकारीले एक दिन चल्ने फोरममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूको बारेमा विज्ञहरूबीचमा सैद्धान्तिक बहसका कार्यक्रम हुने जानकारी दिए।

बोर्डले सोही कार्यक्रममा रणनीतिक योजना तथा लगानीकर्ताका लागि व्यावसायिक निर्देशिका (विजनेस गाइड) सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।  

उनले गतवर्ष लगानी बोर्डले दशौं वार्षिकोत्सवको कार्यक्रम आयोजना गरेको र उक्त रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा यस कार्यक्रमले उक्त रणनीतिक योजनाको उद्देश्य हासिल गर्न समेत सार्थक हुने अपेक्षा गरेको बताए।  

सो फोरममा परियोजना बैंक, नेटवर्किङ एवं स्टलसम्बन्धी जानकारी उक्त कार्यक्रममा गराइनेछ। सो कार्यक्रममा नेपालमा दिगो पूर्वाधार विकासका लागि व्यावसायिक वातावरण, इन्भेष्टमेन्ट इन नेपाल इनर्जी ट्रान्जिसन र नेपालमा जलवायु वित्तको गति बढाउने लगायतका विभिन्न शीर्षकमा छलफल तथा बहसमूलक कार्यक्रम राखिनेछ। नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६) मा नेट जीरो कार्बन अर्थात् शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिबद्धताका लागि साधन स्रोतको परिचालनमा उक्त फोरम कोशेढुंगा सावित हुने लगानी बोर्डले अपेक्षा गरेको छ ।  

प्रकाशित: २७ भाद्र २०७९ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App