१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सेनेटरी प्याड खरिदमा अनियमितता

फाइल तस्बिर

जिल्लाको खाँडाचक्र नगरपालिकाले सेनेटरी प्याडमा अनियमितता गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाभित्रका विद्यालयलाई वितरण गर्नका लागि खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको सेनेटरी प्याडमा ३ लाख १० हजार ७ सय ५० रूपैयाँ अनियमितता भएकोे हो।

होलसेल खरिदमा सेनेटरी प्याडको बजार मूल्य ३० देखि ३५ भए पनि नगरपालिकाले खरिद गरेको प्याडको ४५ रूपैयाँ ९५ पैसा परेको छ। नगरपालिकाको स्वास्थ्य शाखाले नेपालगन्जमा रहेको कलमा सर्जिकल र सुर्खेतको निमित सर्जिकलबाट सेनेटरी प्याड खरिद गरेको हो।

नगरपालिकाले १० लाखको लागतमा १५ हजार प्याड खरिद गरेको स्वास्थ्य शाखा संयोजक रवीन्द्र सेजुवालले बताए। उनले दिएको जानकारीअनुसार १५ हजार प्याडको खरिद मूल्य हेर्ने हो भने ६ लाख ८९ हजार २ सय ५० हुन्छ, तर नगरपालिकाबाट १० लाख भुक्तानी भएको छ।

नगरपालिकाले जुन प्याड खरिद गरेको छ, त्यसको बजार मूल्य ३५ राख्ने हो भने ५ लाख २५ हजार हुन आउँछ। नगरपालिकाले १० लाखमा खरिद गरेको प्याडमा ३ लाख १० हजार ७ सय ५० रूपैयाँ अनियमितता भएको पाइन्छ।

नगरपालिकाको स्वास्थ्य शाखाले २०७८ माघ २ गते खरिद गरेको प्याड नागरपालिकाभित्रका माध्यमिक विद्यालयमा वितरण गरिएको थियो। वितरण गरिएको प्याड पनि महिनावारी उमेर समूहका छात्राले पाउन सकेका छैनन्। विद्यालयले प्याड गोदाममा राखेको छ। कोटेसन माग गरेर प्याड खरिद गरिएको नगरपालिकाले जनाएको छ। १५ हजार प्याड १० लाख रूपैयाँमा खरिद गरी विद्यालयमा वितरण गरेको स्वास्थ्य शाखाले दाबी गरेको छ।

प्रकाशित: २६ भाद्र २०७९ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App