१३ मंसिर २०७९ मंगलबार
अर्थ

पेट्रोलियम पाइपलाइनका तीन वर्ष: ३ अर्ब लिटर डिजेल आयात, ५ अर्ब बचत

नेपाल आयल निगमले पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात गर्न सुरु गरेपछि ढुवानीबापत खर्च हुने करिब ५ अर्ब रुपैयाँ बचत भएको छ। ट्यांकरबाट इन्धन ढुवानी गरेर बिक्री गर्दै आएको निगमले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गरेपछि उक्त रकम बचत गरेको हो। पाइपलाइन सञ्चालनमा आएपछि निगमले त्यसबाट करिब ३ अर्ब लिटर डिजेल आयात गरिसकेको छ।

२०७६ भदौ २४ गते पाइपबाट डिजेल आयात सुरु गरिएको थियो। पाइपबाट डिजेल ल्याउन थालेको शुक्रबार तीन वर्ष पुगेको छ। उक्त अवधिमा पाइपबाट २८ लाख ९३ हजार किलोलिटर डिजेल आयात भएको नेपाल आयल निगम मधेस प्रदेश प्रादेशिक कार्यालयका प्रमुख प्रदीप यादवले बताए। यादव पाइपलाइन परियोजनाका संयोजक पनि हुन्। ‘पाइपबाट इन्धन ल्याउन थालेपछि धेरै फाइदा भएको छ,’ यादवले भने, ‘ढुवानी भाडा बचत हुनुका साथै वातावरण प्रदूषणमा पनि कमी आएको छ।’

पाइपलाइन सञ्चालन भएको पहिलो वर्ष आर्थिक वर्ष २०७६/७७ मा ४ लाख ८८ हजार ५ सय ४८ किलोलिटर डिजेल पाइपबाट आयात गरेको थियो। आव २०७७/७८ मा १० लाख ३ हजार १ सय ४८ किलोलिटर, आव २०७८/७९ मा १२ लाख ८४ हजार ४ सय ४९ किलोलिटर डिजेल, आव २०७९/८० को भदौ तेस्रो सातासम्म १ लाख १६ हजार २ सय ८४ किलोलिटर आयात भएको छ। पाइपबाट डिजेल आयात सुरु गरेपछि ढुवानी भाडा, लस नहुँदा अर्बौं रुपैयाँ बचत भएको हो। अमेरिकामा सन् १९६२ को अन्त्यतिरबाट नै पेट्रोलियम पाइपलाइनको प्रयोग सुरु गरेको भए पनि नेपालमा करिब ५७ वर्षपछि मात्र प्रयोगमा ल्याइएको हो।

अहिले यो प्रादेशिक कार्यालय अमलेखगन्जले मुलुकका २६ जिल्लामा इन्धन आपूर्ति गर्दै आएको छ। यो प्रादेशिक कार्यालयअन्तर्गत ४ सय २४ डिलर, २ सय ६४ ढुवानीकर्ता रहेका छन्। अमलेखगन्ज डिपोबाट विराटनगर, जनकपुर, थानकोट, पोखरा, रूपन्देहीको भलवारी डिपोमा स्टक ट्रान्सफर हुँदै आएको छ। अमलेखगन्ज डिपोबाट दैनिक औसत ५ हजार किलोलिटर इन्धन स्टक ट्रान्सफर र ६५ सय किलोलिटर इन्धनको आपूर्ति तथा वितरण हुँदै आएको छ। निगमले आइओसीबाट सडक मार्ग हुँदै ट्यांकरबाट ढुवानी गरेर पेट्रोलियम पदार्थ आयात गर्दै आएको थियो।

ट्यांकरबाट ढुवानी गर्दा पेट्रोलियम पदार्थ लस हुने, धेरै समय लाग्ने, ढुवानी लागत महँगो पर्ने, वातावरण प्रदूषण हुने, ट्राफिक जाम हुने, सडक बिग्रिने, ढुवानीमा सामान्य अवरोध हुनासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव हुनेलगायत समस्या झेल्दै आएको थियो। यस्ता समस्यालाई आधुनिक ढंगबाट समाधान गर्न पाइपलाइनको आवश्यकता महसुस गरिएको थियो। नेपाल–भारत सरकारबीच सम्झौता भएर आइओसीको सहयोगमा मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएपछि सहज भएको छ।

पाइप बनेपछि इन्धन आपूर्ति सुनिश्चित, ढुवानी भाडा बचत, प्रदूषण न्यूनीकरण, परिमाण र गुणस्तर सुनिश्चित, ढुवानीमा लाग्ने रकम र समयको बचत, बिमा, क्यालिब्रेसन, तापक्रम, प्राविधिक, नापतौलको नोक्सानीमा कमी र ढुवानीका क्रममा हुने चुहावट रोकिएको छ।

मोतिहारी–अमलेखगन्ज पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन हो। नेपाली जनताका लागि बहुप्रतीक्षित र ऐतिहासिक महŒव राख्ने यो पाइपलाइनले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ। पाइपलाइन परियोजनालाई दुई चरणमा विभाजन गरेर निर्माण गरिएको थियो। पहिलो चरणमा पाइपलाइन निर्माण सम्पन्न गरेर डिजेल ल्याउने काम भइरहेको छ।

पाइपलाइनको क्षमता प्रतिघन्टा २ सय ५० किलोलिटर रहेको छ। यसलाई दैनिक चौबिसै घन्टा सञ्चालन गर्न सकिन्छ। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको कुल लम्बाइ ६८.९१ किलोमिटर छ। मोतिहारीदेखि रक्सौल बोर्डरसम्म भारततर्फ ३२.७१ किलोमिटर र रक्सौलदेखि बाराको अमलेखगन्जसम्म ३६.२ किलोमिटर छ। पाइप बनेपछि सामान्य अवस्थामा मात्र नभएर मुलुकमा समयसमयमा आइपर्ने राजनीतिक, प्राकृतिक विपत्ति, महामारीमा पनि आपूर्ति गर्न सजिलो भएको छ। पाइपबाट पेट्रोलियम पदार्थ आयात भएपछि आफ्नै देशभित्र ढुवानी गर्न पाउँदा चालक पनि खुसी छन्।

विगतमा कहिलेकाहीँ सामान्य अवरोध हुँदा बिक्रीवितरणमा समस्या पर्ने गरेको थियो। पाइपलाइन बनेपछि उपभोक्ताको मागका आधारमा पेट्रोलियम पदार्थ बिक्री गर्न सकिएको छ। यसले उपभोक्ता मात्र नभएर व्यवसायीले पनि लाभ लिएका छन्। पाइपलाइनबाट पेट्रोल पनि आयात गर्न निगमले तयारी गरिरहेको छ। अमलेखगन्जमा ८७ सय किलोलिटरका इन्धन भण्डारण गृह बनाउन लागिएको छ। पाइपलाइन परियोजना निर्माण गरेर पाइपबाट डिजेल आयात गरिरहेको अवस्थामा पाइपबाटै पेट्रोल आयातका लागि दोस्रो चरणको परियोजनाअन्तर्गत थप पूर्वाधार निर्माण गर्न लागिएको हो।

४१ सय सय किलोलिटरका दुई वटा तेल भण्डारण ट्यांक, २ सय ५० लिटरका दुईवटा इन्टरमिक्स ट्यांक निर्माण गर्ने योजना छ। दोस्रो चरणको परियोजना सन् २०२४ जनवरीसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ। पाइपबाट पेट्रोल आयात सुरु भएपछि निगमले ढुवानीका लागि खर्च गरिरहेको मासिक करोडौं रुपैयाँ बचत हुनेछ। मोतिहारी–अमलेखगन्ज पाइपलाइन सफल भएपछि यसलाई चितवनसम्म विस्तार गर्ने तयारी छ। चितवनसम्म विस्तार गर्न निगम र आइओसीका प्राविधिकबाट संयुक्त रूपमा अध्ययन भइसकेको छ।

अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन करिब ६२ किलोमिटर हुनेछ। पाइपलाइन परियोजना सफल भएपछि पूर्वी नेपाललाई लक्षित गर्दै भारतसँग दोस्रो अन्तरदेशीय पाइपलाइन निर्माण प्रक्रिया अघि बढाउने तयारी छ। नेपाल र भारत सरकारबीच जिटुजी गरेर पाइपलाइन परियोजना निर्माण अघि बढाउने योजना छ। भारतको सिलगुढीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने योजना हो। पाइपलाइन करिब ५० किलोमिटर लामो हुनेछ।

प्रकाशित: २६ भाद्र २०७९ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App