२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चीनले माग्यो रोकिएका गाडीको विवरण

चीनले एक पक्षीय रूपमा नेपालसँगका दुई नाका बन्द गरेको विषयमा आलोचना भएपछि नाका सञ्चालन गरेर रोकिएका गाडी पठाउन सकारात्मक देखिएको छ।

कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि करिब पाँच सय कन्टेनर चीनतर्फ रोकिएको भन्दै व्यापारीले गुनासो गरेका थिए।

चिनियाँ अधिकारीले रोकिएका गाडीको विवरण माग गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका सह-प्रवक्ताका उर्मिला केसीका अनुसार नाका खोल्ने विषयमा पहल भैरहेको छ। ‘रोकिएका गाडीको विवरण मागिएको छ,’ उनले भनिन्-‘नाका सूचारु गर्न पहल भैरहेको छ।’

चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा मालबाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका महासचिव भरत कार्कीका अनुसार लत्ताकपडा, मोबाइल, जुत्ताका कच्चा पदार्थ, ओखर, मल, स्याउ, अदुवा, लसुन लगायत सामग्री बोकेका ट्रक रोकिएका छन्। चीनको सिगात्सेमा कोरोना संक्रमण देखिएपछि साउन २५ गतेदेख दुवै नाका पूर्ण रूपमा बन्द छन्।

चीनको स्वशासित क्षेत्र तिब्बतमा कोभिडको प्रकोप बढेको नेपालसँगका दुई नाका बन्द गरेको छ।

दसैंका लागि करोडौं रूपैयाँ सामान रोकिएपछि व्यवसायी मर्कामा परेका छन्। चीनले विगतमा पनि यसरी नै पटक-पटक नाका बन्द गर्दै आएको छ। नाका खुल्ने निश्चित नहुँदा व्यापारी अन्योलमा छन्। कन्टेनरहरू ल्हासा र बोर्डरकोबीचमा अलपत्र छन्।

कोभिड देखिए पनि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर नाका सुचारु गर्नुपर्ने भए पनि चीन आँफू खुशी नाका बन्द गरेको व्यवसायीको गुनासो छ। नाका सुचारु गर्ने विषयमा सरकारको तर्फबाट कूटनीतिक पहल नपुगेको व्यवसायीले गुनासो गर्दै आएका थिए।

व्यवसायीले कोभिड देखिएको भए पनि अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेर नाका सुचारुका लागि कूटनीतिक पहल गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा लिखित रूपमा अनुरोध गरेका थिए। दसैंका लागि भनेर ल्याएको समाना रोकिँदा व्यवसायी मर्कामा परेका छन्।

चीन नेपालको दोस्रो ठूलो व्यापारिक कारोबार हुने मित्र राष्ट्र हो। गत आर्थिक वर्ष २०७८/७९ मा चीनबाट २ खर्ब ६४ रूपैयाँका सामान आयात भएको थियो। कोभिड अगाडि दैनिक २ सयदेखि साढे २ सय ट्रकमा सामान आयात हुने यी नाकाबाट मुस्किलले दैनिक २५–३० वटा गाडी मात्रै भित्रिँदै आएका थिए।

अहिले सामान आयात ठप्प हुँदा समस्या भएको छ। तातोपानी र केरुङ हुँदै सामान आयात गर्न आधा समय कम लाग्ने भएकाले व्यापारीले यतैबाट ल्याउन चाहन्छन्। तातोपानी र केरुङबाट सामान आयात गर्दा २०-२२ दिनमै आइपुग्छ। भारतको कोलकाताबाट कन्टेनरमा नेपालसम्म सामान आइपुग्न करिब ४०-४२ दिन लाग्छ।  

प्रकाशित: २३ भाद्र २०७९ ०१:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App