१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बन्दै-भत्किँदै रोल्पाली योजना

दुई महिनामा भत्किएको सडक वाल।

सरकारी कर्मचारीको लापरवाहीका कारण देशैभरका संरचना निर्माणहरु कमजोर बन्ने गरेका आरोप लागिरहन्छ। कतै पुल, कतै कालोपत्रे सडक त कतै भवनहरु निर्माण सकिएको छोटो अवधिमा कामै नलाग्ने भएका खबरहरु बेलाबेलामा आइरहने गर्दछन्।

निर्माण व्यवसायीको कमजोरी देखाउँदै पानी माथिको ओभानो देखिन खोज्ने प्राविधिकको लापरवाहीका कारण सरकारको ठूलो धनरासी बालुवामा पानी बन्ने गरेको छ। रोल्पा सदरमुकाम लिवाङ, सुलिचौर, प्युठान हुँदै दाङ भालुवाङ जोड्ने सडक खण्डको भदौरे मन्दिर आसपासको सडकमा वाल र ग्याभिन भर्न थालिएको धेरै वर्ष भयो। तर हरेक वर्ष सिमेन्ट प्रयोग गरेर बनाइने वाल होस या ग्याभिन होस भत्किरहन्छ।

प्राविधिकले दिने स्टीमेट अनि उसले गर्ने जाचपासका बारेमा कहिल्यै चर्चा हुँदैन। पोहर जस्तै यो वर्ष पनि असार ताका बनाइएको ठूलोवाल दुई महिना नहुँदै झरिसकेको छ। यो सडक हेर्ने जिम्मा पाएको सडक डिभिजन कार्यालय प्युठानका प्रमुख बिरेन्द्र चन्द सडकका विषयमा चासो राख्दा गैर जिम्मेवार बनेका छन्। ‘वालहरु बन्छन्, भत्किँन्छन् अनि फेरि बन्छन्। मर्मत भइहाल्छ नि।’ उनले भत्किएको वाल नयाँ नभइ पुरानो वाल रहेको भन्दै झुट समेत बोले। ‘नयाँ वाल भत्किँएको हैन। पुरानो थियो त्यही भत्केको हो। अब तुरुन्तै त्यसको मर्मत हुन्छ।’

कार्यालय प्रमुख चन्दले पुरानो वाल भत्किएको दाबी गरे पनि साईटका प्राविधिक टोपाराम डागीले वर्षातमा नयाँ वाल भत्किएको बताए। ‘वर्षातका कारण नयाँ वाल खसेको हो। १३ महिनासम्म ठेकेदारको जिम्मा हुन्छ उसैले मर्मत गर्छ।’ डागीले वालको बेस गतिलो नभएका कारण त्यसो भएको बताए। कर्मचारीहरुले वर्षातको कारण निर्माण गरिएको संरचना २ महिना नपुग्दै भत्किँएको बताए पनि रोल्पामा यो वर्ष ठूलो वर्षात नभएको तिर ध्यान भने दिएनन्।

‘यो योजना प्युठान सडक डिभिजनले हेर्छ। क्वालीटि चेक गरेर भुक्तानी हुनु पर्ने हो। अन गोईङ प्रोजेक्ट हो कि के रैछ म बुझ्छु।’ प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले भने ‘राज्यको रकम दुरुपयोग हुनुहुँदैन। यसबारे म बुझ्छु।’ रकम कसको कति सकियो महत्वपूर्ण नभइ योजना कसरी पास हुन्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ। सरकारी वा निर्माण व्यवसायी जसको रकम खर्चे पनि नेपाली पैसा खर्चिएको हो र त्यहाँनेर भएको क्षति नेपाली कै हो भन्ने साझा बुझाइ हुनु जरुरी भएको जानकारहरु बताउँछन्। 

प्रकाशित: ८ भाद्र २०७९ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App