१९ मंसिर २०७९ सोमबार
अर्थ

मलको हाहाकार: माफियाकरणले अभाव

देशको मुख्य बाली धान रोप्ने र मलजल गर्ने समयमा कृषकहरूलाई मल अभावको पीडाले नराम्ररी सताएको छ।

निजी क्षेत्रका मल आयातकर्ताहरूलाई भने यो पैसा कमाउने अवसर बनेको छ। भन्सार मार्फत आयात गर्दा चाहिने ‘हार्मोनिक कोड’को सूचीमा उल्लेख गरी हुँदै नभएको मलआयात गरेर ५० भन्दा बढी पहाडी जिल्लाहरूमा बेलागाम बिक्री वितरण भइरहेको पाइएको छ। सिर्सियाको सुक्खा बन्दरगाह भन्सार भएर ‘एनिमल अर भेजिबल फर्टिलाइजर’ भनेर अरू खालका मल भित्र्याइएको फेला परेको छ।

मल आयात गर्दा प्रज्ञापन पत्रमा उल्लेख गरिएको वस्तुको नामसँगै ‘हार्मोनिक कोड’ भनेर ‘एनिमल अर भेजिबल फर्टिलाइजर’ लेखेर आयात गर्न सहजबनाइएको छ। ‘रक फोसफेड मिक्स फर्टिलाइजर’, ‘किसान आर्गेनिक मल’ र डैप (डिएपी) लगायत उल्लेख गरी मल भित्रिएको छ। त्यसको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयातकर्ताको मागअनुसार अनुमतिपत्र दिएको देखिन्छ।

आयातकर्ताले आफूलाई डिएपी मल सरह बेच्न सजिलो हुने गरी त्यस्तै दाना देखिने मल रोज्छन्। विदेशका निर्यातकर्ता कम्पनीसँग किन्नको लागि सौदा हुने भएपछि सोही अनुसारको अनुमतिको कागज मन्त्रालयले बनाइदिन्छ। यता भन्सारले ‘एनिमल एण्ड भेजिबल फर्टिलाइजर’ शीर्षकमा भित्रिन दिएको छ। यसको लागि चाहिने प्रयोगशाला परीक्षण रिपोर्ट निजी प्रयोगशाला काठमाडौंस्थित आस्था साइन्टिफिक रिसर्च सर्भिस प्रालिले प्रदान गर्ने गरेको छ।

उक्त प्रयोगशालाले जुन नमुनाको लागि प्रयोगशाला परीक्षण रिपोर्ट जारी गर्छ, त्यही वस्तु भन्सार भएर भित्रिएको सुनिश्चित गर्ने व्यवस्था वीरगन्ज भन्सार र सुक्खाबन्दरगाह भन्सारसँग भने छैन।

‘हामी यसको परीक्षण प्रक्रियामा कहीं सलग्न हुँदैनौं, प्रयोगशालाको सर्टिफिकेट र निर्यातकर्ताको प्रयोगशाला सर्टिफिकेट दुबै भिडाएर आयात गर्न दिन्छौं,’ सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सन्तोषकुमार न्यौपानेले भने-‘यता हाहाकार भएकोले मलभित्रिन दिने भनेर हामीलाई एकदमै दबाब हुने भएकाले यहाँ आउनासाथ छिटो जाँचपास गर्ने एक किसिमको हतार पनि हुन्छ।’ वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले शंका लागेमा जाँच गर्न आफूहरूसँग प्रयोगशाला भएको बताए।

बितेको आर्थिक वर्ष २०७८/०७९मा त्यस्तो कुनै मलको खेपमा शंका लागेर यहाँ जाँच भएको जानकारी भने उनलाई छैन। भित्रिएको मलको उर्वरशक्ति र अधिकतम खुद्रा मूल्य तय गर्ने भरपर्दो प्रक्रिया भेटिँदैन। कृषि प्राविधिकहरूका अनुसार डिएपी रसायनिक मलको तुलनामा यस प्रकारका मलको उर्वर क्षमता अत्यन्त न्यून पाइन्छ। बेच्दा भने डिएपी मल सरह नै बिक्री वितरण हुने गरेको छ। 

यता सरकारी मल नपाएका किसानले डिएपीजस्तै दाना देखिने मल किन्ने गरेको तर प्रतिफल भने नपाउने भएपछि उनीहरू अन्जानमा ठगिदैछन्। नेपालभरी यतिखेर मलको हाहाकार रहेको अवस्थाको फाइदा उठाउँदै यस्ता मलका विभिन्न जिल्लामा रहेका स्थानीय बिक्रेताहरूले मुख्य आयातकर्ता कारोबारीबाट लिएर बेच्ने गरेका छन्।

मल आयातकर्तामध्ये एक हरि एण्ड राज इन्टरप्राइजेजका सञ्चालक राजनारायण साहले देशभर सयभन्दा बढी वितरक मार्फत आफूहरूले मल बेच्ने गरेको बताए। खुद्रा मूल्य, उनले वितरकलाई दिने मूल्य बताउन चाहेनन्। ‘हामीले ठाउँको दूरी र त्यसमा लाग्ने भाडाको हिसाब गरेर मूल्यनिर्धारण गर्नुपर्ने हुन्छ,’ उनले भने-‘त्यस कारणले भन्ने बित्तिकै मूल्य बताउन मिल्दैन।’

भन्सारमा आयातकर्ताहरूको घोषित मूल्यअनुसार २८ देखि २९ रूपैयाँ प्रतिकिलोको मूल्यमा उनीहरूले यस्तो मल आयात गरेका छन्। यो भने १४ सयदेखि १४ सय ५० रूपैयाँ प्रतिबोरा (५० किलो) को परेको देखिन्छ। कृषकको हातमा पुग्दा यस्तो मल बोराको साढे २ हजारदेखि चार हजारसम्म पुग्ने गरेको छ।

बाझिएको तथ्यांक

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा देशका सबै भन्सार नाकामार्फत ‘एनिमल एण्ड भेजिबल फर्टिलाइजर’ ३२ हजार ५ सय ९० टन भित्रिएको छ। यसको आयात गर्दा ८७ करोड आठ लाख ८५ हजार रूपैयाँ मूल्य परेको छ।

यता वीरगन्जका दुई नाकाबाट मात्र ८९ करोड ५३ लाख ९२ हजार रूपैयाँको ३० हजार ८ सय ९२ टन यस्तो मलखाद आयात भएको तथ्यांक छ। यो भनेको देशभरिबाट आयात भएको ‘एनिमल अर भेजिबल फर्टिलाइजर’को केन्द्रीय तथ्यांकभन्दा वीरगन्जका २ नाका भएर आयात भएको त्यस्तो मलको मूल्य २ करोड ४५ लाख रूपैयाँ बढीको छ। 

प्रकाशित: ८ भाद्र २०७९ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App