८ वैशाख २०८१ शनिबार
अर्थ

अन्ततः उद्घाटन भयो तिलावे पुल, निर्माण अधुरै

पर्साको तिलावे नदीको पुलको उद्घाटन गरिंदै।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जले निर्माण कार्य पूरा नहुँदै वीरगन्ज ठोरी हुलाकी सडक अन्तरगत पर्ने तिलावे नदिको पुल शनिबार उद्घाटन गराएको छ।

चुनाव नजिकिंदै गएको अवस्थामा जनता समाजवादी पार्टीको तर्फबाट संघीय सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका महम्मद इस्तियाक राइ र वन तथा वातावरण मन्त्री प्रदीप यादवले शनिबार तिलावे नदिको निर्माणाधीन पुलको संयुक्त उद्घाटन गरेका हुन्।

निर्माण अलपत्र परेको बेला पोहोर स्थानीय युवाहरुले लागातार एक महिना दबावमुलक आन्दोलन गरेका थिए। त्यसपछि गत मंसिरमा निर्माण अघि बढाइएको, विगत ७ वर्षदेखि निर्माणाधीन तिलावे पुल पर्सा जिल्लाको ग्रामीण भेगलाई महागनरपालिका वीरगन्जसँग जोड्छ।

उक्त दबावपछि जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार, त्यसअघि ७ महिनादेखि अघोषित रुपमा ठप्प पारिएको तिलावे पुलको निर्माण कार्य मंसिर १ गतेदेखि सुचारु गरिएको थियो।

नदिको पुरानो फलामे पुुल जीर्ण साँघुरा भएकोले त्यहाँ हरेक दिन घण्टौसम्म सवारीहरुको लामो जाम लाग्ने गरेको छ। यस कारणले यो पुलको निर्माण छिटो सक्न स्थानीयहरुको दबाव थियो। अधुरै भए पनि अब प्रयोग गर्न पाउने भएपछि विगत लामो समयदेखि कठिन जामको समस्या सहदै आएका ग्रामिण भेगका बासिन्दाहरुले खुसियाली समेत व्यक्त गरे।

तत्कालीन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बिमलेन्द्र निधीले यस पुलको शिलान्यास गरेका थिए। त्यसयता पर्सावासी यस पुलको निर्मण पूरा भएको हेर्न प्रतिक्षारत थिए। अहिले निर्माणमा आंसिक काम बाँकी हुँदै यसको उद्घाटन भएको हो। केही काम अधुरै रहेकोमा त्यसलाई पुरा गरेर मात्र उद्घाटन गर्नुपर्ने तर्कसहित स्थानीय युवाहरुले समाजिक सञ्जालमा विरोध पनि जनाएका छन्।

सात करोड ७२ लाख रुपैयाँको लागतमा एक सय ३.८० मिटर लम्बाइ र ७ मिटर चौडाइको पुल ठेक्का सम्झौता भएको ७ वर्षपछि निर्माण सम्पन्न हुन १० प्रतिशत बाँकी नै हुँदा शनिबार उद्घाटन गरिएको हो। २०७२ जेठ २५ मा पप्पु÷लुम्बिनी जेभीले तीन वर्षमा निर्माण पुरा हुने गरी ठेक्का सम्झौता गरेका थिए।

जसअनुसार २०७५ जेठ २४ भित्र ठेकेदारले निर्माण कम्पनीले कार्य पुरा गर्नुपर्ने थियो। विभिन्न कारण देखाएर हुलाकी राजमार्ग योजना कार्यालय वीरगन्जले ठेकेदार कम्पनीका माग अनुसार पटक पटक म्याद थपेको छ। १८ महिना ढिलो मात्रै पुलको नक्सा पाएको र डाइभर्सनको बजेट तथा निकासा पनि ढिलो गरी पाइएको निर्माण कम्पनीहरुको भनाइ छ।

संयुक्त कम्पनीमध्ये पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमीत रौनीयारका अनुसार निर्माण कार्य ९० प्रतिशतभन्दा बढी पुरा भइसकेको छ। अप्रोच सडक पक्की गर्ने र तलतिर केही काम मात्र बाकी रहेको उनले बताए। ‘पछिल्लो पटक थपिएको समयावधी अझै बाँकी छ,’ रौनियारले भने, ‘पुल अहिले समान्य सवारी आवागमन गर्न मिल्ने भइसकेको छ, केही काम मात्र बाँकी छ।’

नयाँ पुललाई साबिक बाटोसँग जोड्ने अप्रोच सडक र दुबै छेउ बनाइने तटबन्ध बनेको छैन। अप्रोच सडकमा माटो मात्र पुरिएको छ। भारी परिमाणमा पुरिएको माटो जम्न अप्रोच सडकको मजबुतिको लागि पनि आवश्यक रहेको रौनियारले बताए।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको अध्यक्षतामा भएको पुल उद्घाटन कार्यक्रममा निलम्बित सांसद हरिनारायण रौनियार, प्रदेशसभा सदस्यहरु करिमा बेगम, भिमा यादव, जन्नत अन्सारी, वीरगन्ज माहनगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव लगायतको उपस्थिति रह्यो।

प्रकाशित: २८ श्रावण २०७९ १६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App