१५ चैत्र २०८० बिहीबार
अर्थ

जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु आधा अर्ब भन्दा बढी

गढीमाई नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको पाँच वर्षको अन्तारालमै जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु आधा अर्ब भन्दा बढी पुगेको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा जीतपुरसिमराको बेरुजु ५२ करोड ९५ लाख ९० हजार पुगेको देखिएको छ। उपमहानगरको आर्थिक वर्ष २०७६/०७७ मा ३६ करोड ९ लाख रुपैयाँ देखिएको बेरुजु एक आर्थिक वर्षमै लगभग १६ करोड भन्दा बढी बेरुजु बढेको प्रतिवेदनमा देखाइएको छ।

निवर्तमान नगरप्रमुख डा. कृष्ण पौडेल र उपप्रमुख सरस्वती चौधरीले आफू खुशी कर्मचारी नियुक्त गरेर करोडौ तलब भत्ता नियम विपरीत निकासा गरेको, विकास निर्माणको कार्यहरुमा समेत आफू खुशी नियम विपरीत भुक्तानी दिएको र नदी जन्य पदार्थको राजस्व समेत निर्माण कम्पनीसँग असुली गर्न नसकेको कारणले जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु बढेको बताइएको छ।

आठ वर्ष अघि मात्रै तत्कालिन जितपुर भवानीपुर, पिपरा सिमरा, छातापिपरा, डुमरवाना र फत्तेपुर गाविसहरु समावेश गरी गढीमाई नगरपालिका बनाइएको थियो। गढीमाई नगरपालिका बनेको लगभग तीन वर्षपछि वरिपरिका तत्कालीन गाविसहरुलाई समावेश गरेर जीतपुर सिमरा उपमहानगरपालिका घोषना गरिएको थियो।

नगरपालिका र उपमहानगरपालिका घोषणा गरिएको आठ वर्षको अन्तरालमै बेरुजुमा जिल्लाको १६ वटै स्थानीय तहहरु मध्ये जीतपुरसिमरा पहिलो बनेको छ। उपमहानगरले प्रतिस्पर्धाबाट गर्नुपर्ने काम उपभोक्ता समितिबाट गराएको, नदीजन्य उत्खननका लागि आह्वान गरेको बोलपत्रमा सबैभन्दा बढी कबोल गर्ने निर्माण कम्पनीलाई छोडेर दोस्रो बढी कबोल गर्ने निर्माण कम्पनीलाई खोलाहरु उत्खन्नको जिम्मा दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

नियोजित ढंगले तत्कालीन जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारको मिलेमतोमा पहिलो ठेक्का कम्पनीलाई छोडेर दोस्रोसँग सम्झौता गरेको थियो। महालेखाको प्रतिवेदन अनुसार पालिकाले १३ करोड ३९ लाख ९४ हजार पुरानो राजस्व असुल उपर गर्नुपर्ने देखिएको छ। त्यस्तै ७ करोड ५ लाख कारोबारको प्रमाण कागजात पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

पेस्की बेरुजु २ करोड ३५ लाख १५ हजार रुपैयाँ रहेको छ।  २ करोड ९१ लाख ६७ हजार दरबन्दी बिनाको कर्मचारी नियुक्त गरेर तलव भत्तामा खर्च गरेको अवस्था छ। महँगो सामान खरिद गरेको तर जिन्सी खातामा उल्लेख समेत नगरी सो सामान कसले प्रयोगमा ल्याइरहेको भन्ने एकीन नभएपछि सामान खरिद बराबरको रकम बेरुजू भएको उपमहानगरपालिकाले जनाएको छ।

कतिपय सामान खरिद नगरी भुक्तानी मात्र दिएको देखिए पछि सो रकम पनि बेरुजू भएको छ। पुराना जनप्रतिनिधिले आफूखुशी गरेका सम्पूर्ण खर्चहरू महालेखाले बेरुजु देखाएपछि नयाँ जनप्रतिनिधिका लागि चुनौती थपिएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख राजन पौडेलले ५२ करोड ९५ लाख बेरुजु बढ्नु हाम्रो लागि चुनौती बनेको बताएका छन्।

महालेखाको प्रतिवेदन हेर्दा कतिपय असुल गर्नुपर्ने बेरुजु देखिएको छ भने कतिपय कागली प्रक्रिया नपुरयाइएका कारणले बेरुजु देखिएको प्रमुख पौडेलले बताए। बेरुजु घटाउनको लागि आफूले व्यक्ति वा संस्थाको नाममा रहेको रकम तिर्नको त्यसलाई फर्छयौट गर्न तागेदा सुरु गरेको उनले बताए।

यस्तै बाराका अन्य पालिका मध्ये कलैया उपमहानगरको बेरुजु १२ करोड ५६ लाख ५६ हजार, सिम्रौनगढ नगरपालिकाको १२ करोड १५ लाख ९२ हजार, पचरौता नगरपालिका ५ करोड ८ लाख ८४ हजार, निजगढ नगरपालिकाको २३ करोड ६४ लाख ४३ हजार, महागढीमाई नगरपालिकाको १० करोड ३८ लाख ५ हजार र कोल्हवी नगरपालिका ११ करोड ८६ लाख ५४ हजार छ।

महालेखाको प्रतिवेदन अनुसार सुर्वण गाउँपालिकाका बेरुजु रकम २ करोड ८७ लाख ३३ हजार, प्रसौनी गाउँपालिकाको ५ करोड ११ लाख ३५ हजार रुपैयाँ, फेटाँ गाउँपालिका ७ करोड ३८ लाख ७१ हजार, परवानीपुर गाउँपालिका १ करोड ७१ लाख ९६ हजार, करैयामाई गाउँपालिका ५ करोड ७४ लाख ४ हजार, देवताल गाउँपालिका ३ करोड ५५ लाख ४५ हजार, विश्रामपुर गाउँपालिका ३ करोड १५ लाख १९ हजार, बारागढी गाउँपालिका २ करोड ७५ लाख ६ हजार र आदर्श कोतवाल गाउँपालिकाको २ करोड ५३ लाख ९२ हजार छ।

प्रकाशित: २८ श्रावण २०७९ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App