१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

चीनले बन्द गर्‍यो दुवै नाका

नेपाली बजारमा चिनियाँ सामानको वर्चस्व छ। चाडपर्वका लागि ल्याइएका लत्ताकपडालगायत विभिन्न सामग्री उतै रोकिएपछि नेपाली बजारमा सामान महँगिन सक्ने व्यवसायीहरूको अनुमान छ।

नेपालको दोस्रो ठूलो व्यापारिक कारोबार हुने मित्रराष्ट्र चीनले नेपालसँगका दुई नाका अघोषित रूपमा बन्द गरेको छ। परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणबाट फर्किएर कूटनीतिक सम्बन्ध सुधार भएको दाबी गरे पनि चीनले नाका बन्द गरेको हो। चिनियाँ पक्षले नाका बन्द गरेको विषयमा औपचारिक जानकारी भने नेपाल सरकारलाई दिएको छैन।

नेपालसँग सीमा जोडिएको तिब्बततर्फ कोभिडको संक्रमण फैलिएको भन्दै तातोपानी र रसुवागढी नाकाबाट मालसामान पठाउन रोक लगाएको हो। चीनबाट सामान ल्याउने दुई प्रमुख नाका यिनै हुन्। चिनियाँ पक्षले तातोपानी नाका सिल गरेपछि बुधबारदेखि गाडी आउन रोकिएको तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए।

‘चीनले कोभिडको कारण देखाउँदै गाडी पठाउन रोक लगाएको छ,’ गौतमले भने, ‘कहिले खुल्छ भन्ने निश्चित छैन।’ चिनियाँ पक्षले कुनै जानकारी नदिइकन नाका बन्द गरेको हो। तातोपानी नाका हुँदै दैनिक ८–१० वटा मालवाहक ट्रकमा सामान आउने गरेका थिए। चीनले बिनाजानकारी एक्कासि सामान पठाउन रोक लगाएपछि व्यवसायीहरू समस्यामा परेका छन्।

नाका बन्द भएपछि चाडपर्वलाई लक्षित गरेर ल्याइएका लत्ताकपडा बीच बाटोमै रोकिएको नेपाल हिमालय सीमापार वाणिज्य संघ महासचिव भरत कार्कीले बताए। ‘तीजका लागि ल्याएका कपडालगायत सामग्री उतै रोकिए,’ कार्कीले भने, ‘एक्कासि नाका बन्द हुँदा व्यवसायी मर्कामा परेका छन्।’ नाका कहिलेसम्म बन्द हुन्छ भन्ने यकिन छैन। कोभिडको संक्रमण देखिए पनि सावधानी अपनाएर सामान आयात गर्न पाउनुपर्ने व्यवसायीको माग छ।

नेपाली बजारमा चिनियाँ सामानको वर्चस्व छ। चाडपर्वका लागि ल्याइएका लत्ताकपडालगायत विभिन्न सामग्री उतै रोकिएपछि नेपाली बजारमा सामान महँगिन सक्ने व्यवसायीहरूको अनुमान छ। व्यवसायीहरूले दसैंका लागि लत्ताकपडा पनि यही मार्गबाट ल्याउने तयारी गरेका थिए। नाका बन्द भएपछि उनीहरू अन्योलमा परेका छन्। दुई नाका बन्द भएपछि त्यसको असर बजारमा पर्ने व्यवसायी नवराज तिमिल्सिनाले बताए।

‘चिनियाँ पक्षले सधैं आफूअनुकूल नाका बन्द गर्दै आएको छ,’ उनले भने, ‘चाडपर्वको पूर्वसन्ध्यामा सामान आयात नहुँदा बजारमा असर पर्छ।’ चिनियाँ अधिकारीहरूले पूर्वजानकारीबिनै एक पक्षीय रूपमा यसअघि पनि नाका बन्द गर्दै आएका थिए। नेपाली व्यवसायीको समस्याप्रति चिनियाँ पक्षले गैरजिम्मेवारीपन देखाइरहेको सरकारी अधिकारीहरू बताउँछन्।

‘भारतबाट सामान आउन रोकिएको भए भारतविरुद्ध नाराबाजी सुरु हुन्थ्यो,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीले भने, ‘चीनले जानकारी नदिई नाका बन्द गर्दा पनि कोही बोल्दैन।’ नेपालका तर्फबाट कूटनीतिक पहल हुन नसकेको ती अधिकारीले स्वीकार गरे। ‘विगतमा पनि चीनले चाहेको बेला एक पक्षीय रूपमा नाका खोल्ने र बन्द गर्दै आएको छ,’ ती अधिकारीले भने, ‘अहिले पनि जानकारी नदिई बन्द गरेको छ।’ गत आर्थिक वर्ष २०७८/७९ मा चीनबाट २ खर्ब ६४ रूपैयाँका सामान आयात भएको थियो।

तिब्बतमा कोरोना संक्रमण बढेकाले ल्हासाबाट खासातर्फ सवारीसाधन नआएको सूचना आएको भन्सारका अधिकारी बताउँछन्। कोरोना बढेपछि पहिलो चरणमा एक साताका लागि नाका बन्द गरेको अपुष्ट सूचना आएको सरकारी अधिकारी बताउँछन्। कोभिडको समयमा पनि यसैगरी नाका बन्द गरेको थियो। कोभिडको प्रकोप रोकिएपछि नाका सञ्चालन भए पनि थोरै मात्र मालवाहक ट्रक आयात हुँदै आएका थिए। दैनिक २ सयदेखि साढे २ सय ट्रकमा सामान आयात हुने यी नाकाबाट मुस्किलले दैनिक २५–३० वटा गाडी मात्रै भित्रिँदै आएका थिए।

तातोपानी र केरुङबाट सामान आयात गर्दा २०–२२ दिनमै आइपुग्छ। भारतको कोलकाताबाट कन्टेनरमा नेपालसम्म सामान आइपुग्न करिब ४०–४२ दिन लाग्छ। तातोपानी र केरुङ हुँदै सामान आयात गर्न आधा समय कम लाग्ने भएकाले व्यापारीले यतैबाट ल्याउन चाहन्छन्। तर चिनियाँ पक्षले समयसमयमा विभिन्न बहाना देखाउँदै नाकामा रोक लगाउँदै आएको छ।

भारत हुँदै ल्याउँदा पानीजहाजको भाडा केही महँगो हुने भएकाले व्यापारीले केरुङ र तातोपानी नाका हुँदै सामान आयात गर्दै आएका थिए। दुवै नाका बन्द भएपछि नेपालबाट चीनतर्फ जाने सामान निर्यात पनि रोकिएको छ। नेपालबाट गत आवमा चीनतर्फ ८० करोड ८७ लाख रूपैयाँको सामान निर्यात भएको थियो।

प्रकाशित: २७ श्रावण २०७९ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App