१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषकलाई दुई करोड अनुदान

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८/७९ मा करिब दुई करोड रुपैँया अनुदान वितरण गरेको छ।  

केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार सय ३२ कृषक, फार्म, समूह र सहकारीले एक करोड ७९ लाख रुपैँया अनुदान पाएका हुन्। केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले दूध, मासु, अण्डा उत्पादन वृद्धी, नश्ल सुधार, पशु बीमा, आहारा, पूर्वाधार निर्माणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको बताए। 'प्रदेश र सङ्घीय सरकारबाट चार करोड पाँच लाख ८० हजार रुपैँया बजेट विनियोजन भएको थियो', उनले भने, 'तीन करोड ५९ लाख ३६ हजार ३९२ रुपैँया खर्च भएको छ।'  

बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर सञ्चालन भएको बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रमबाट ४३ कृषकलाई बाख्राको खोर निर्माण, मासु पसल सुधार, घाँस काट्ने यन्त्र उपकरण, नश्ल सुधारका लागि बोका र औषधि खरिदका लागि ३४ लाख एक हजार रुपैँया अनुदान उपलब्ध गराइएको छ।  

५२ लाख ५० हजा रुपैँया बजेट बिनियोजन भएको साना पशुपंक्षी तथा मत्स्य व्यावसायिक फार्म स्थापना तथा विस्तार कार्यक्रमका लागि छनौट भएका ४० मध्ये ३८ फार्मले ४९ लाख ८७ हजार ५०० रुपैँया अनुदान पाएका छन्। आठ लाख बजेट विनियोजन भएको डेरी, मासु तथा माछा पसल सुधार कार्यक्रमबाट पाँच फार्मले चार लाख २४ हजार तीन सय ५९ रुपैँया अनुदान पाएका छन्।  

बेनीको दोभान कृषि सहकारी संस्थामा आवद्ध २१ कृषकले गोठ सुधार, दाना र घाँस भण्डारण भवन, उपकरण, क्यान खरिदका लागि १० लाख रुपैँया अनुदान पाएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी गणेश रिजालले बताए। कृत्रिम गर्भाधानबाट जन्मेका २४ वटा पाठा बाच्चा हुर्काए वापत आठ कृषकले दुई लाख ४० हजार रुपैँया अनुदान पाएका छन्।  

१८ लाख रुपैँया बजेट विनियोजन भएको रुपैँया ५० पैसाका दरले १५ लाख ९० हजार रुपैँया अनुदान पाएका छन्। त्यस्तै, ३१ कृषकलाई फार्म यान्त्रिकरण कार्यक्रम मार्फत च्यापकटर, पानी तताउने सोलार लगायत उपकरण खरिदमा १० लाख रुपैँया अनुदान उपलब्ध गराइएको छ।  

२१ लाख रुपैँया बजेट विनियोजन भएको पशुपंक्षी बीमा कार्यक्रम मार्फत २८ हजार दुई सय ३४ पशुपंक्षीको बीमा गरेवापत एकसय १० कृषकले  १७ लाख ७९ हजार रुपैँया अनुदान पाएका छन्। आठ लाख रुपैँया बजेट विनियोजन भएको भैँसी पकेट कार्यक्रम मार्फत मंगला–२ सिमलचौरका २५  कृषकले ‘काउम्याट’ खरिद गर्न सात लाख रुपैँया अनुदान लगेका छन्। अन्नपूर्ण गाउँपालिकाका २३ कृषकले बाख्रा पकेट कार्यक्रमबाट आठ लाख रुपैँया अनुदान पाएका छन्। अनुवांशिक स्रोत संरक्षण कार्यक्रम मार्फत रघुगंगा–७ चिमखोलामा सिनाल बाख्रा र वडा नम्बर २ भगवतिमा बरुवाल भेडापालक १३/१३ कृषकलाई पाँच/पाँच लाख अनुदान उपलब्ध गराइएको छ।  

अन्नपूर्ण गाउँपालिकाको दुवाडीमा भैँसीको र धवलागिरि गाउँपालिकाको गुर्जामा भेडाको घुम्ती गोठ निर्माण गर्न पाँच/पाँच लाख अनुदान दिइएको केन्द्रले जनाएको छ। अन्नपूर्णको घार, रघुगंगाको चिमखोला, मालिकाको अदिभारा र धवलागिरिको मल्कवाङमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको केन्द्रले पशुमा पूर्ण खोप कार्यक्रम मार्फत बेनी नगरपालिका र मंगला गाउँपालिकामा ३१ प्राविधिक परिचालन गरेर १२ हजार तीनसय ३४ घरधुरी कृषकका ४८ हजार नौ सय ८५ पशुलाई खोरेत, चरचरे, पिपिआर र रेविज रोग विरुद्धको खोप लगाएको छ। 

प्रकाशित: २३ श्रावण २०७९ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App