३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

साताभरमा २६ अंकले घट्यो नेप्से

गत साताका ६ दिन भएको सेयर कारोबारबाट नेप्से परिसूचक २६ बिन्दुले घटेको छ। अघिल्लो साता नेप्से १५२ अंकले बढेको थियो।

अघिल्लो साताको अन्तिम दिन शुक्रबार परिसूचक २१४०.५२ बिन्दुमा रहेकामा गत साताको शुक्रबार नेप्से २११३.५५ बिन्दुमा झरेको छ। यो २६.९७ अंकको गिरावट हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन आइतबार ५४.५८ अंकले परिसूचक बढे पनि त्यस पछिका तीन दिनमा कारोबार सामान्य रहेको थियो।

एक्सचेन्जका अनुसार सोमबार १.१५ अंकले मात्र बढेको परिसूचक मंगलबार र बुधबार पनि सानै अंकले घटेको थियो। बिहीबार ३८ अंक र शुक्रबार ३४ अंकले घट्न पुगेको थियो।

एक्सचेन्जका अनुसार साताको अन्तिम दिन शुक्रबार बजार दोहोरो अंकले घटेको थियो। शुक्रबार ३४.६१ अंकले घटेर परिसूचक २११३.५५ बिन्दुमा आएको हो।

शुक्रबारको कारोबार २१५० बिन्दुबाट सुरू भएकामा लगत्तै उच्च दरले गिरावट आएर नेप्से २१२९ बिन्दुसम्म झरेको थियो। त्यसपछि पनि कारोबारमा उतारचढाव जारी नै रहेको थियो। दिनभरमा सबैभन्दा न्यूनतम २१०९ बिन्दुसम्म परिसूचक पुगेकामा बजार बन्द हुँदा २११३ मा रोकिएको हो।  

एक्सचेन्जका अनुसार शुक्रबार नेप्से बाहेकका अन्य तीन प्रमुख सूचक सबैको कारोबार घटेको छ। सेन्सेटिभ सूचक ५.८० अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट २.८३ र फ्लोट सूचक २.५० अंकले घटेको छ।

यस्तै सेयर बजारका अन्य १३ उपसूचकमध्ये १२ वटाको कारोबारमा गिरावट आएको छ भने सामूहिक लगानी कोष उपसूचक मात्र बढेको छ। कारोबारमा गिरावट आउने १२ उपसूचकमध्ये एक सयभन्दा धेरै अंकले घट्नेमा जीवन बिमा परेको छ। यो १ सय १९ अंकले घटेको हो। लघुवित्त उपसूचक पनि एक सय १६ अंकले घटेको छ।

यस्तै कारोबारमा ५० अंक भन्दा धेरैले गिरावट आउने उपसूचकहरूमा विकास बैंक ८६, फाइनान्स ६५, निर्जीवन बिमा ९५, व्यापार ६२ र उत्पादन तथा प्रशोधन ६७ अंक रहेका छन्। यस्तै जलविद्युत् ३९, होटल तथा पर्यटन २५ र बैंकिङ २२ अंकले घटेका छन्। सेयर कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै फाइनान्स ३.४० प्रतिशतले घटेको छ।

एक्सचेन्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले सेयर मूल्य बढ्नेमा जोशी जलविद्युत् परेको छ। यसको सेयर मूल्य ५.९१ प्रतिशतले बढेको हो।

यस्तै कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिसेयर मूल्य घट्नेमा मौलुङ खोला जलविद्युत् परेको छ। यसको प्रतिसेयर मूल्य ७.१८ प्रतिशतले घटेको हो। एक्सचेन्जका अनुसार रकमका आधारमा सबैभन्दा धेरै रकमको कारोबार शिवम् सिमेन्टको भएको छ। यसको १५ करोड ६६ लाख रूपैयाँको कारोबार भएको हो।

यस्तै सेयर खरिद बिक्रिका आधारमा सबैभन्दा धेरै कित्ता सेयर एनएमबी हाइब्रिड फण्ड १ को भएको छ। यसका ४ लाख १२ हजार ७ सय ७४ कित्ता सेयर बिक्री भएका छन्।

एक्सचेन्जका अनुसार शुक्रबार २१३ कम्पनीका ६४ लाख १६ हजार ६ सय २९ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि २ अर्ब ६२ करोड ६१ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण घटेर ३० खर्ब १५ अर्ब रूपैयाँमा पुगेको छ। 

प्रकाशित: २२ श्रावण २०७९ ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App