२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बथनाहा-विराटनगर रेल सञ्चालन गर्ने सहमति

फोटो ः उद्योग संगठन मोरङले आयोजना गरेको छलफलमा सहभागिहरू। तस्बिर÷नागरिक

भारतको वथनाहबाट मोरङको विराटनगरसम्म मालबाहक रेल सञ्चालनका लागि सहमति भएको छ। उद्योग संगठन मोरङले रेल सञ्चालनका विषयमा आयोजना गरेको छलफलमा नेपाल र भारत दुबै पक्ष चाँडै रेल सञ्चालन गर्न सहमत भएका हुन्।  

वथनाहा–विराटनगर  रेलवे  निर्माणको अन्तिम चरणमा पुगेकाले मालवाहक रेल संचालन पूर्व तयारीका सम्वन्धमा उद्योग संगठन मोरङमा दुवै देशका स्थानिय प्रतिनिधीहरू सहभागि थिए। बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले बथनाहा– विराटनगर कार्गो रेल चाँडै सञ्चालनमा ल्याउने बताए। यता नेपाल पक्षबाट सहभागि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले रेल वे निर्माणका क्रममा देखिएका सबै समस्याको समाधान गर्न नेपाल पक्ष तयार रहेको बताए। 

चौधरीले १८ दशमलव ६ किलोमिटर लम्वाई भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको बताउँदै नेपाल र भारत सरकारबीच प्राविधिक र प्रशासनिक प्रकृया पुरा भएको १० देखि १५ दिनमा कार्गो रेल संचालनमा ल्याउन सकिने बताए। उनले जोगवनीमा रेल्वे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेल्वे मन्त्रालय समक्ष आवश्यक वजेटका लागि अनुरोध गरेको जानकारी दिदै उक्त सेन्टरको निर्माण पश्चात अन्य स्थानका लागि नयाँ प्यासेन्जर रेल पनि थपिने बताए।

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगंज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे संचालनले राहत दिने वताए। यस क्षेत्रबाट भईरहेको नेपाल भारत वीचको व्यापार अभिवृद्धिमा यो परियोजना कोशेढुंगा सावित हुने बताउँदै उनले स–साना वाधा व्यवधानलाई अविलम्व समाधान गरी मालवाहक रेल्वे संचालनमा ल्याउन भारत र नेपाल पक्ष्ँका अधिकारीलाई आग्रह गर्दै निजी क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङ सहजीकरण गर्न तयार रहेको बताए।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुई देशिय व्यापार विस्तारका लागि महत्वपूर्ण कार्गो रेल संचालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै नेपाल सरकारका तर्फबाट गर्नुपर्ने प्राविधिक र प्रशासनिक प्रकृयाका पुरा गर्न प्रधानमन्त्री समक्ष पहल गर्ने वताए। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले निर्माणको क्रममा देखिएका वाधाहरु समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने बताए। 

छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगंज पुलका कारण आयात निर्यातमा समस्या आउँदा राजश्व संकलन समेत प्रभावित भएको जनाउदै कार्गो रेल संचालनमा ल्याउन भन्सारको सहयोग रहने बताए। नेपालको रेल विभागका ईन्जिनियर रोशन कुमार देवले दुवै देशका प्राविधिक टोलिले निर्माणधिन परियोजनाको प्राविधिक पक्ष परिक्षण गरी अन्य प्रशासनिक प्रकृया पुरा गरे पश्चात विराटनगर वथनाह रेल संचालनमा आउने बताउँदै त्यसको लागि तयारी भइरहेको जानकारी गराए।

संगठनका वरिष्ठ उपाध्याक्ष प्रदिप मुरारकाले यस क्षेत्रका ईडिवल आयल उत्पादन गर्ने उद्योगहरुका कच्चा पदार्थ स्टोर गर्न आफनै खर्चमा टेंक निर्माण गर्न तयार रहेको वताउदै त्यसका लागि सहजीकरण गरिदिन डिभिजनल रेल्वे मेनेजर समक्ष अनुरोध गरे। संगठनका पूर्वअध्यक्ष किशोर प्रधान र अशोक मुरारकाले जोगवनी रेल्वे यार्डमा पानि जम्नुका साथै नेपालको मालसमान रातीका समयमा अनलोड गर्न समस्या भइरहेको बताए। 

संगठनका पूर्वउपाध्यक्ष एव उद्योगी राकेश सुरानाले नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि यस क्षेत्रबाट जाने यात्रुहरुको संख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नया रेल थप्नु पर्नेमा जोड दिए। छलफलमा संगठनका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य पारस लुनिया, भारतीय रेल्वे, जोगवनी आईसिपि, नेपाल रेल्वे विभाग, नेपाल आईसिपिका प्रतिनिधि लगायत उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो।  

बथनाहादेखि विराटनगर –१८ बुद्ध नगरस्थित एकीकृत भन्सार जाँचौकीसम्मको भाग निर्माण सम्पन्न भइ प्राविधिक परिक्षणसमेत भइसकेको छ। तत्कालका लागि बथनाहादेखि विराटनगरकोबुद्ध नगरसम्म रेल सञ्चालनमा ल्याउने योजना रहेको छ। विराटनगरको बुद्ध नगर–कटहरी खण्डको निर्माणको काम पनि धमाधम भइरहेको छ। तर, मोरङको कटहरी स्थित रेल स्टेशनको जग्गाको विवाद समाधान नभइसकेको र मुद्दा सर्बोच्च अदालतमा विचाराधिन रहेका कारण कटहरी तर्फको काम सम्पन्न गर्न समस्या भइरहेको छ। 

पहिलो चरणमा वथनाहादेखि विराटनगरको बुद्ध नगरसम्म मात्रै कार्गो रेल सञ्चालन भए उद्योग व्यवसायीक क्षेत्रलाई ठूलो राहत पुग्ने उद्योगी व्यवसायी बताउँदै आएका छन्। कच्चापदार्थ ढुवानी लागत घटे यस क्षेत्रका उद्योगहरूको प्रतिश्पर्धात्मक क्षेमता बृद्धि भई सुनसरी– मोरङ औद्योगिक करिडोरमा थप उद्योगहरू स्थापना हुने उद्योगी व्यवसायीले दाबी गर्दै आएका छन्।

प्रकाशित: ८ श्रावण २०७९ १३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App