१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धावनमार्ग अझै नबढेकोमा मन्त्रीको ध्यानाकर्षण

तत्कालीन संस्कृति पर्यटन तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पालादेखि नै भरतपुर विमानस्थल विस्तार र स्तरोन्नतिको चर्चा चलेको थियो।

२०७५ माघ २८ गते नै विमानस्थलको धावनमार्गको लम्बाई एक हजार मिटर बढाउने, त्यसका लागि विमानस्लको उत्तर पश्चिम रहेको घोडा प्रजन्न केन्द्र र ब्यारेक स्थानातरण सहित मापदण्ड विपरित बनेका घरहरू भत्काउने निर्णय भएका थिए। त्यसपछि पनि पटकपटक मन्त्रीस्तरमा छलफल भइरहेका छन्। काम भने हुन सकेको छैन। यस्तो अवस्थामा भरतपुर महानगरपालिकाले संस्कृति तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई ध्यानाकर्षण गराइरहेको छ।

‘भरतपुर देशकै केन्द्र भागमा रहेको छ। महानगरले विमानस्थल विस्तारको कामलाई गौरवको आयोजनामा समेत राखेका छौं,’ बुधबार आफ्ना योजना सुनाउँदै भरतपुर महानगर प्रमुख रेणु दाहालले भनिन्, ‘मन्त्रीज्यू, मौका छ गोल हान्ने। भरतपुरको वर्षौदेखिको प्रतीक्षा रहेको विस्तारको काम हुनेमा आशावादी छौं।’

भरतपुर विमानस्थलको विस्तारका लागि जग्गा नै कम छ। विस्तारका लगि नेपाली सेनाको ब्यारेकको जग्गा प्रयोग गर्नुको विकल्प छैन। नेपाली सेना पनि ब्यारेक सार्नमा तयार नै रहेको दाहालको दाबी छ। ‘रनवेयका लागि जग्गा दिन र ब्यारेकै सार्न पनि नेपाली सेना तयार छ,’ दाहालले भनिन्, ‘अब विमानस्थलको काम अगाडि बढाउनुको विकल्प छैन ।’ उनले विमानस्थल वरपर मापदण्डविपरीत बनेका घरहरू समेत भत्काइने बताइन्।

विमानस्थलको आडमा रहेको सेनाको ब्यारेक सार्न विकल्पसमेत दिइएको छ। त्यसका लागि भरतपुर १ स्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगलाको ३६ विघा र भरतपुर ११ बसेनीमा रहेको ६० विघा जग्गा दिन उपयुक्त हुने महानगरपालिकाको ठहर छ। यही प्रस्ताव महानगरपालिकाले २०७५ फागुन २ गते मन्त्रालयमा पत्रचार गरेको थियो।

२०७७ साउन २५ गते नेपाली सेना, कालिबहादुर गण, भरतपुर ब्यारेकबाट विमानस्थल विस्तर गुरुयोजनमा विमानस्थल विस्तार भई बाँकी रहने जग्गामा नेपाली सेनाको एयर बेस एण्ड लजिस्ट बेसका भौतिक भौतिक संरचना निर्माणलाई समेत समावेश गर्ने गरि प्रक्रिया अगाडि बढाउन महानगरपालिकासमक्ष नेपाली सेना, कालिबहादुर गण, भरतपुर ब्यारेकबाट पत्राचार भएको छ।

२०७६ सालको असोजमा पर्यटन मन्त्रालयले सह-सचिव बुद्धिबहादुर लामिछानेको संयोजकत्वमा समिति बनाएर अध्ययन सुरू समेत गरेको थियो। त्यो प्रस्ताव तत्कालीन पर्यटन मन्त्रीले विमानस्थल विस्तारका प्रकृया अगाडि बढाएका थिए। लामिछानेको संयोजकत्वमा बनेको ६ सदस्य समितिले माघमा भरतपुर विमानस्थलमा एटिआर–७२ वा सो सरहका जहाज उडान, अवतरण गर्न धावनमार्गलाई १५ सय मिटर लामो बनाउने सिफारिस गरेको थियो।

यसका लागि अहिलेको अवस्थामा धावनमार्गको ८ सय मिटर लम्बाइ विस्तार गर्नुपर्ने देखिएको नागरिक उड्यन प्राधिकरणका एरोपेलेन विभागका इन्जिनियर नलविक्रम थापा बताउँछन्। ‘अहिले रनवेयका लागि जग्गा नपुगेको भएर बढाउनुपरेको हो। अहिले हामीसंग १ हजार २ सय मिटर मात्र छ। ८ सय मिटर थप गर्नुपर्ने छ,’ उनले भने, ‘अझै २ विघा जग्गा हामीलाई चाहिन्छ।’

चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज, धनगढी विमानस्थले रात्रीकालिन उडान गर्नसमेत सक्छन्। तर, भरतपुरमा बेलुका ६ बजेपछि उडान हुन सक्दैनन्। एटिआर ४२ जहाजहरू आउँछन्। यी जहाजले पनि गर्मी मौसमा क्षमता अनुसार बोकेर आउन सक्दैनन्।

२०७७ साउन २५ गते नेपाली सेना, कालिबहादुर गण, भरतपुर ब्यारेकबाट विमानस्थल विस्तर गुरुयोजनमा विमानस्थल विस्तार भई बाँकी रहने जग्गामा नेपाली सेनाको एयर बेस एण्ड लजिस्ट बेसका भौतिक भौतिक संरचना निर्माणलाई समेत समावेश गर्ने गरि प्रक्रिया अगाडि बढाउन महानगरपालिकासमक्ष नेपाली सेना, कालिबहादुर गण, भरतपुर ब्यारेकबाट पत्राचार भएको छ।

अहिले चितवनमा काठमाडौंबाट आएपछि मात्र उडान हुन्छ। भरतपुर विमानस्थले बाहिरका विमानस्थलको तुलनामा कम सेवा पाएको छ। जग्गाको व्यवस्था हुन सकेमा एक वर्षभित्र विस्तारको काम सकिने बताउँछन्, नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी।

‘भरतपुरले विमानस्थल नभएका कारण जुन अवसरहरू गुमाएको छ। त्यो अवसर अब गुमाउनु हुँदैन,’ उनले भने, ‘जमिन उपलब्ध गराउने हो भने हामी २०८० सम्ममा रात्रिकालिन सेवा दिन हामी सक्छौं।’ नेपाली सेनाको ब्यारेक सार्न सेना पनि तयार रहेको उनले बताए। ‘ब्यारेक त्यतिकै सार्न सकिँदैन। उनीहरूलाई व्यवस्थापन गरेर सार्न सकिन्छ,’ उनले भने, ‘यसका लागि सेनापति पनि तयार हुनुहुन्छ।’

विमानस्थल विस्तारका लागि आवश्यक बजेट विभागले छुट्टाउने उनले बताए। विमानस्थल वरपर बनेका मापदण्डविपरीतका बनेका संरचना भत्काउन उनले महानगरलाई अनुरोधसमेत गरेका छन्। २०७५ सालपछि ७ वटा पर्यटनमन्त्री फेरिएका छन्। सबै मन्त्रीहरूले भरतपुर नै आएर विमानस्थल विस्तार गर्ने प्रतिबद्धता समेत जनाउने गर्दथ्थे। यसपटक पनि पर्यटनमन्त्री जीवनराम श्रेष्ठले विमानस्थल विस्तारको काम आफ्नै पालामा हुने दावि गर्दछन्।

विमानस्थल विस्तारमा देखिएका अप्ठ्याराहरू सहजीकरण गर्न महानगर र स्थानीयको सहयोग भएमा छिटै काम पूरा हुने उनले बताए। उनले जमिनको कारणले अल्झिनुपर्ने नपर्ने अवस्था बनिसकेको बताए। ‘यो विमानस्थल स्तरोन्नती नगरी अरु विकल्प छैन’, उनले, ‘स्तरोन्नति गर्नैपर्छ, मौसमी अनुकूलता हेरेर काम सुरु हुनेछ।’

भरतपुर विमानस्थलमा २०१९ सालदेखि उडान सुरु भएको थियो। यो विमानस्थल ५८ विघामा रहेको छ। तर, यसको विस्तार भने अझै हुन सकेको छैन। अन्तराष्ट्रिय उडानका लागि १६० बिगाहा जग्गा आवश्यक पर्छ। भरतपुर विमानस्थल अति व्यस्त विमानस्थल समेत हो। यहाँबाट दैनिक ५ सयको हाराहारीमा यात्रु उडान गर्दछन्। काठमाण्डौँ भैरहवा र पोखरा उडान हुने गरेको छ। यहाँबाट ४२ सिटको जहाज पनि अवतरण गर्न मुस्किल पर्छ।

प्रकाशित: ६ श्रावण २०७९ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App