१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नबिलले सुरु गर्‍यो एकीकृत कारोबार

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एकीकृत कारोबार सुरु भएको छ। नबिल बैंकको ३८ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रूपमा उद्घाटन गरी एकीकृत कारोबार थालेको घोषणा गरेका हुन्।

दुई बैंक गाभिएपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको छ। कार्यक्रममा बोल्दै मुख्य सचिव बैरागीले पुरानो मध्येको एक नेपाल बंगलादेश बैंकको प्राप्तिपछि नबिल बैंक अझ ठूलो भएको र यस कदमले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएको जनाए।

अझ बलियो, सँगै अघि भन्ने नारासहित गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले प्राप्ति पछि नबिलले बैंकिङ प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाइ बैंकिङ क्षेत्रको स्थायित्वमा टेवा पुर्‍याउने बताए। ‘बैंक ठूलो भएसँगै बैंकिङ प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिवृद्धि गरी सर्वसाधारणलाई थप गुणस्तरीय र आधुनिक बैंकिङ सुविधा प्रदान गर्ने लक्ष्य लिएका छौ’-उनले थपे।

देश विकासमा बैंकिङ संस्थाहरूको अग्रणी भूमिका हुने बताउँदै उनले बैंकले वास्तविक अर्थतन्त्रलाई सहयोग पुर्‍याउने लक्ष्यसहित नबिलले दिगो बैंकिङको सुरुवात गरेको बताए। साथै बैंकले पर्यावरण र दिगो विकासको मापदण्डलाई पछ्याउँदै सोही अनुसार नीति तथा रणनीति लिने उनले जानकारी दिए।

‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो। यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति र दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वितीय संस्था बनेको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले नविल बैंक र एनबी बैंक एकआपसमा प्राप्ति (एक्विजिसन) को आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ प्रणालीको आवश्यकताहरूलाई समेत मध्यनजर गर्दै बैंकप्रति सर्वसाधारणको विश्वासनीयता अभिवृद्धि गर्न यो कदम चालेका बताए।

निक्षेपकर्ता, लगानीकर्ता लगायतका सरोकारवालाहरूको हित संरक्षण गर्ने; देशव्यापी शाखाहरूको सञ्जाल विस्तार गरी वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्ने तथा पूँजीगत आधार सुदृढ गरी सम्भावित वित्तीय जोखिम तथा ख्याति सम्बन्धी जोखिमलाई न्यूनीकरण गर्न अग्रणी भूमिका खेल्ने  नीति लिएको उनले जनाए।

बैंकका अनुसार प्राप्ति पछि बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड, कुल पुँजी ५६ अर्ब २ करोड, कुल निक्षेप ३ खर्ब २८ अर्ब तथा कुल कर्जा ३ खर्ब ८ अर्ब पुगेको छ।

प्रकाशित: २९ असार २०७९ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App