२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

नेप्सेमा एकै दिन ७७ बिन्दुको पहिरो

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति कसिलो आउने बताए पछि सेयर बजारमा पहिरो गएको छ।  

मौद्रिक नीतिका बारेमा केही दिनदेखि लगातार भइरहेका कार्यक्रममा गभर्नर अधिकारीले बैंकको व्याजदर बढ्न सक्ने र कोभिडका नाममा दिइएका सुविधा क्रमशः हटाउँदै जाने बताएपछि सेयर बजार पनि घट्दै गएको छ। आगामी मौद्रिक नीतिमा ४–१२ को व्यवस्था परिवर्तन नहुने, बैंकको व्याज बढ्ने र सेयर धितोमा दिइने कर्जाको पछिल्लो नीति पनि परिवर्तन नहुने आकलन गर्दै लगानीकर्ताले सेयर खरिदमा चासो दिएका छैनन्। यही कारण दिनहुँ बजार घटिरहेको छ।  

गत साताभरको कारोबारबाट ३६.१५ बिन्दुले घटेको नेप्से परिसूचकमा सोमबार ७७.०१ को पहिरो गएको छ। यो ३.८६ प्रतिशतको गिरावट हो। साताको पहिलो दिन आइतबार सार्वजनिक विदा भएकाले सेयर कारोबार पनि बन्द थियो। अघिल्लो साता भने परिसूचक १ सय ६६ बिन्दुले बढेको थियो।

गत सातादेखि लगातार जसो कारोबारमा आएको गिरावटले परिसूचक फेरि १९ सय नजिक आएको छ। गत शुक्रबार १९९२.६२ रहेको नेप्से सोमबारको गिरावट पछि १९१५.६१ बिन्दुमा ओर्लेको हो।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रो कार्य दिन सोमबारको कारोबार लगानीकर्ताका लागि सुखद हुन सकेन। सोमबार १९९३ बिन्दुबाट दिनको कारोबार सुरु भएकामा लगातार गिरावट आइरह्यो। बजार सुरु भए लगत्तै कारोबारमा गिरावट आउन सुरु भएको थियो। यो क्रम अन्तिमसम्म थामिएन। फलस्वरूप बजार बन्द हुँदा नेप्से १९१५ बिन्दुमा आएको हो।  

एक्सचेञ्जका अनुसार सोमबार नेप्सेसँगै यसका अन्य प्रमुख सूचक सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबैको कारोबारमा गिरावट आएको छ । सेन्सेटिभ १३.०३, फ्लोट ५.५६ र सेन्सेटिभ फ्लोट ५.०९ बिन्दुले घटेका हुन्।  

यस्तै सेयर बजारका अन्य १३ उपसूचक सबैको कारोबार घटेको छ। यी उपसूचकमध्ये जीवन र निर्जीवन बिमा उपसूचक सबैभन्दा धेरै बिन्दुले घटेका छन्। जीवन बिमा ४५० र निर्जीवन बिमा ३६५ को उच्च बिन्दुले घटेका हुन्। यसबाहेक ५ वटा उपसूचक एक सयभन्दा धेरैले घट्न पुगेका छन्।

लघुवित्त १८७, उत्पादन तथा प्रशोधन १६६, विकास बैंक १५०, जलविद्युत् ११९ र व्यापार ११६ बिन्दुले घटेका हुन्। यस्तै फाइनान्स ८७, अन्य ७० र होटल तथा पर्यटन ५६ बिन्दुले घटेका छन्। बैंकिङ उपसूचक पनि ३७ बिन्दुले घटेको छ। सबैभन्दा कम गिरावट सामूहिक लगानी कोष ०.३५ बिन्दु रहेको छ।  

नेप्सेका १३ उपसूचकहरूको कारोबारमा आएको गिरावटलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै व्यापार उपसूचक ५.८७ प्रतिशतले घटेको छ । यस्तै फाइनान्स र जलविद्युत् उपसूचक पनि ५ प्रतिशत भन्दा धेरैले घटेका छन्।  

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले सेयर मूल्य बढ्ने कम्पनीमा सानिमा डिभेञ्चर परेको छ। यसको सेयर मूल्य २ प्रतिशतले बढेको हो। यसबाहेक विओके र गुडविल डिभेञ्चर २ प्रतिशत नजिकले बढेका छन्।

कारोबारमा सबैभन्दा धेरै प्रतिशतले प्रति सेयर मूल्य घट्ने कम्पनीमा जर्मिन विकास लघुवित्त परेको छ। यसको प्रतिसेयर मूल्य १० प्रतिशतले घटेको हो। यस्तै अन्य ४ कम्पनीको सेयर मूल्य ९ र ७ कम्पनीको सेयर ८ प्रतिशत भन्दा धेरै प्रतिशतले घटेको छ।

यस्तै रकमका आधारमा सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको भएको छ। यसको ११ करोड ४ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै एनआइसी एसिया, अपर तामाकोसी र एसियन लाइफ इन्स्योरेन्सको कारोबार पनि ८ करोड रूपैयाँ माथि भएको छ। सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर अपर तामाकोशीको भएको छ। यसका १ लाख ७१ हजार ८ सय ६ कित्ता सेयर बिक्रि भएका हुन्। यसपछि अरूण भ्याली जलविद्युतको १ लाख ५१ हजार ७ सय ८० कित्ता सेयर बिक्री भएका छन्।  

एक्सचेञ्जका अनुसार सोमबार २२७ कम्पनीका ६३ लाख १३ हजार ६ सय ४१ कित्ता सेयर बिक्री भएका छन् । यसका लागि २ अर्ब ३२ करोड ५६ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण घटेर २७ खर्ब ३२ अर्ब रूपैयाँमा पुगेको छ।

प्रकाशित: २८ असार २०७९ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App