भारतको जोगबनीस्थित मिरगञ्ज पुल सञ्चालन गर्न उद्योगीले माग गरेका छन्। मोरङ व्यापार संघको नेतृत्व टोलीले शुक्रबार बिहारको अररिया जिल्लाका डिएमलाई ज्ञापनपत्र बुझाउँदै पुल तत्कालै सञ्चालन गर्न माग गरेको हो।
मिरगञ्जपुल भासिएर ७ महिनादेखि जोगबनी नाकाबाट हुने आयात निर्यात ठप्प भएको छ। पुरानो पुल मर्मत भइसके पनि भारतीय पक्षले पुलको क्षमता घटाएर ८ टनमा झारेको छ। अर्कोतर्फ ३ महिना पहिले नै सञ्चालनमा ल्याउने भनेर नेपाली उद्योगी व्यवसायीलाई आश्वासन दिएको भारतीय पक्षले नयाँ पुल सञ्चालनका लागि अझै २१ दिनको म्याद तोकेर आलटाल गरिरहेको छ। भारतीय पक्षले नयाँ पुल सञ्चालनमा ल्याउन आलटाल गरिरहेको र पुरानो पुलबाट पनि मालबाहक गाडी आउन रोक्दा पूर्वका उद्योगी व्यवसायी मारमा परेका छन्।
भारतीय पक्षले नयाँ पुल तत्कालै सञ्चालनमा ल्याउन नचाहनु र पुरानो पुलको क्षमता घटाएर ८ टनमात्रै तोक्नु षडयन्त्रपूर्ण रहेको नेपाली उद्योगी व्यवसायीले गुनासो गरेका छन्। मोरङ व्यापार संघको टोलीले शुक्रबार पुलको स्थलगत निरीक्षण गरी पुरानै पुलबाट भए पनि तत्कालका लागि मालबाहक गाडी आवतजावत गर्न दिन भारतीय पक्षसँग माग गरेको छ। संघका अध्यक्ष नवीन रिजालको नेतृत्वको टोलीले भारत अररियाकी डिएम इनायत खानलाई ज्ञापनपत्र बुझाउँदै पुरानो पुलबाट भए पनि मालबाहक गाडी आवतजावतको व्यवस्था गर्न माग गरेको हो। संघका अध्यक्ष रिजालले पुरानो पुल मर्मत भइसकेकाले ४० टनसम्मको मालबाहक गाडी आवतजावत गर्न दिन भारतीय पक्षसँग माग गरेको बताए।
‘पुरानो पुल मर्मत भइसक्दा पनि भारतीय पक्षले मालबाहक सवारी आवतजावत गर्न बन्द गर्दा ठूलो मार्का खेप्नु परेको छ,’ अध्यक्ष रिजालले भने, ‘भारतीय पक्षले नयाँ पुल तत्कालै सञ्चालनमा ल्याउन नचाहनु र पुरानो पुल मर्मत गरेपछि क्षमता घटाएर ८ टन मात्रै तोक्नु षडयन्त्रपूर्ण रहेको छ। पुल मर्मत भइसकेकाले ४० टनसम्मको मालबाहक गाडी आवतजावत गर्न दिने पर्छ।’
नयाँ पुल निर्माणमा ढिला सुस्ती र पुरानो पुलमा पनि भारतीय पक्षले अवरोध गर्दा नेपाली उद्योगका कच्चा पदार्थ बोकेका मालबाहक गाडी सुनसरीको भान्टाबारी नाकाबाट आउन बाध्य छन्। सुनसरी घुमाएर कच्चा पदार्थ ल्याउँदा सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले भाडा वापत रकम धेरै तिर्नु पर्छ। अतिरिक्त भाडाकै कारण उत्पादन लागत बढ्दा यहाँका उद्योगका उत्पादनको प्रतिष्पर्धी क्षमता ह्रास हुँदै गएको अध्यक्ष रिजालले बताए।
मिरगञ्ज पुलको विकल्पका रुपमा रहेको नयाँ पुल चाँडो सम्पन्न गर्न विराटनगरका उद्योगी व्यवसायीले बर्षौंदेखि माग गरिरहे पनि करिब १० वर्ष पहिलेदेखि निर्माण सुरू भएको पुल अझै सम्पन्न हुन सकेको छैन। मिरगञ्ज खोलाको पुल चाँडो निर्माण सम्पन्न गर्नका लागि कुटनितीक पहल गर्न विराटनगरका उद्योगी व्यवसायीले नेपाल सरकारलाईसमेत दबाब दिँदै आएका छन्। जोगबनी नाका हुँदै दैनिक ४ सय वटाभन्दा बढी मालबाहक सवारीसाधन भारत तथा तेस्रो मुलुकबाट नेपाल आउने गरेका छन्।
प्रकाशित: २४ असार २०७९ १३:१२ शुक्रबार