६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

राजश्व छलीको गिरोहमाथि निगरानीः महानिर्देशक अधिकारी

राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीलाई पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी स्वागत गर्दै। तस्बिरः नागरिक

राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र, टे«डिङ व्यवसाय, निर्माण र सेवा क्षेत्रमा रहेको बताएका छन्। उनले राजश्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको स्पष्ट पारे।  

दुईसाता अघिमात्रै महानिर्देशकको जिम्मेवारी सम्हालेका अधिकारीले नेपालका ठूला व्यवसाय गर्ने ४ वटा फर्ममाथि विभागले अनुसन्धान थालेको जनाउँदै पोखरा क्षेत्रमा पनि २–४ दिनमै विभागले देखिने गरी काम गर्ने उद्घोष गरे। पोखरा उद्योग वाणिज्य संघले उनको स्वागतमा आयोजना गरेको अन्तरक्रियामा अधिकारीले राजश्व चुहावटमा नेपालको एउटा निश्चित वर्ग रहेको आशय व्यक्त गरे।  

‘बजार एउटा समूहको अवैधानिक कब्जामा अगाडि बढेको छ, यसलाई रोक्न सकिएन भने इतिहासदेखि व्यवसाय गर्दै आएकाहरु पलायन हुने खतरा छ,’ उनले भने। राजश्व चुहावटसँगै अनौपचारिक अर्थतन्त्र नियन्त्रणमा विशेष ध्यान दिएको बताउँदै उनले विप्रेषण पनि अवैध क्षेत्रमा परिचालित भएको दावी गरे। बिट क्वाइनजस्ता डिजिटल क्षेत्रलाई रोक्ने र नेपालको अर्थतन्त्रलाई वैध डिजिटल बनाउने अभियानमा विभाग अगाडि बढेको स्पष्ट पारे।  

महानिर्देशक अधिकारीले सही तरिकाले व्यवसाय गर्नेहरुको संरक्षण र अवैध रुपले हुने राजश्व चुहावट रोक्ने अभियान सजिलो नभएको जिकिर गरे। ‘भन्सारमा २ वटा ट्रक समात्यो भने एक हप्तासम्म ट्रक नै भित्र्दैनन्’, उनले भने, ‘खुला सिमानाको नजिक गोदाम राख्ने अनि रातमा सामान भित्र्याएर पोकामा पठाउने गिरोह सक्रिय छ।’ उद्योगी÷व्यवसायीलाई परेका अप्ठेराहरु फुकाउन विभाग सधैँ तयार रहेको बताउँदै उनले गम्भीर प्रकृतिको अपराध नगरेसम्म कसैको गोदाम सिल नगरिने र मानमर्दन पनि नगर्ने प्रतिवद्धता पनि व्यक्त गरे। व्यापारमा स्वच्छता नभएर भएको समस्या बिस्तारै सल्टिने उनको भनाइ छ।  

‘व्यवसाय भनेको विश्वासमा बाँचेको हुन्छ, हामी ( राजश्व विभाग) आउँदा प्रहरी सहित आउनु पर्छ, सुरक्षाकर्मी आउँदा त्रास सिर्जना हुनु अस्वभाविक हैन, हामी कसैको मान मर्दन गर्न चाहँदैनौं,’ उनले भने। पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले उजुरी र छड्के जाँचको नाममा व्यवसायीहरुको मान मर्दन नगर्न तथा व्यवसायीलाई सफाइको मौका दिन माग गरे। पोखरा उद्योग वाणिज्य संघ अवैध व्यवसायको पक्षमा नभएको प्रष्ट पार्दै उनले अगाडि भने,‘ तर व्यवसायीमाथि आरोप लाग्दैमा ऊ अपराधी हुँदैन। उसले सफाइको मौका पाउँछ। अनुसन्धानको नाममा व्यवसायी पक्राउ गर्दा अपराधीको रुपमा प्रचार नगरियोस्।’  

पोखरा सेवा क्षेत्र भएको र यहाँको सेवा क्षेत्रमाथि कर प्रशासनले धरपकड गर्ने गरेको प्रसंग उप्काउँदै उनले थपे,‘ घुम्न आएर होटलमा बसेका कर्मचारीले अनौपचारिक कुराकानीमा व्यवसायीको मानमर्दन गरिदिन्छन्। यो राम्रो कुरा हैन।’

पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे, संघका वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेलले गलत मनसायका साथ गरिने अवैध कारोबारको नियन्त्रण र वैध व्यापारीलाई संरक्षण गरिनुपर्ने धारणा राखे। लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विक्रम कर्माचार्यले अवैध रुपले नेपाल भित्रने भारतीय बिस्कुटहरुका कारण ठूलो राजश्व गुमेको र नेपाली उद्योगहरु संकटमा परेको बताए। उनले एउटा उत्पादनले सुरुमा जस्तो सामान उत्पादन गरेको हुन्छ, गुणस्तरको लागि त्यसैलाई निरन्तरता दिनुपर्ने र त्यस्ता सामानको आयात रोकिँदा अनौपचारिक बजारबाट कच्चा पदार्थ खरिद गर्नुपर्ने बाध्यता सुनाए।  

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीकी महिला उद्यमी समिति संयोजक रामकली खड्काले अवैध रुपले नेपाल भित्रने पस्मिना र उनी धागोका सलका कारण नेपाली उद्योग ध्वस्त भएको बताइन्। उद्योग परिसंघ गण्डकीका अध्यक्ष विनोद शर्माले एउटा उत्पादनको लागि अर्को उद्योगको तयारी सामान कच्चा पदार्थको रुपमा प्रयोग हुने बताउँदै तेललगायतका सामान महँगिँदा सबै क्षेत्र प्रभावित भएको जिकिर गरे। मुद्रण व्यवसायी संघका अध्यक्ष गिरबहादुर श्रेष्ठले भारतबाट पुस्तक छापेर आउने प्रवृत्ति रोक्नुपर्ने बताए।

प्रकाशित: २२ असार २०७९ ०८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App