१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

केरा खेती गर्ने जग्गा नपाएर झाडी खोज्दै किसान

‘राज्यले जमिन बाँझो राख्न पाँदैन भन्ने नीति ल्याएको छ तर हामीले जमिन ल्याउनुस् भाडा दिन्छौं भन्दा पाइँदैन, रोपिएका केराका बेर्ना देखाउँदै सुवेदीले भने-‘यहाँ बुटाबुटी,खाल्टाखुल्टी थियो। ठूलो डोजर, लोलर ग्रेडर प्रयोग गरेर यत्तिको बनाएका छौं।’

चितवनमा केरा खेती गर्ने ठाउँ पाइन छाडेको छ। केरा खेती विस्तार गर्ने योजना बनाएका यहाँका किसान जग्गा नै नपाएर समस्यामा छन्। उनीहरू खेतीका लागि फराकिला जमिन खोज्न वन छेऊका झाडी फाँड्न बाध्य भएका छन्।

‘धेरै ठाउँमा जग्गा लिएर काम गर्न सकिँदैन। एकै ठाउँमा जग्गा पाइँदैन’, चितवन केरा उत्पादक संघका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदीले भने-‘खेतीका लागि सामुदायिक वन नजिकका झाडीमा आउनुपरेको छ।’ भरतपुर महानगरपालिका २३ बेलसहर सामुदायिक वनको छेऊमा रहेको झाडी सम्याएर ५३ बिघामा केरा खेती गरेका छन्।

उनले यसअघि ७२ बिघासम्म खेती गर्दै आएका थिए। जमिन नहुँदा घटाउनु परेको उनले बताए। ‘राज्यले जमिन बाँझो राख्न पाँदैन भन्ने नीति ल्याएको छ तर हामीले जमिन ल्याउनुस् भाडा दिन्छौं भन्दा पाइँदैन, रोपिएका केराका बेर्ना देखाउँदै सुवेदीले भने-‘यहाँ बुटाबुटी,खाल्टाखुल्टी थियो। ठूलो डोजर, लोलर ग्रेडर प्रयोग गरेर यत्तिको बनाएका छौं।’ जंगल छेउको झाडी पनि नदिने गरेको गुनासो गरे।

‘वरिपरि फाँडेर मैले खेती गरेको छु, ‘आडैमा रहेको झाडी भएको जमिन देखाउँदै उनले भने-‘यो त्यतिकै खेर गएको जमिन पनि दिन मान्दैनन्।’ जंगल छेउमा खेती गर्दा जंगली जनावार आएर बेर्नामा क्षति पुर्‍याउने गरेको उनले बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको केरा जोन सञ्चालक समितिका अध्यक्ष विष्णुहरि पन्त केरा विस्तारको तयारीमा छन् तर उनले जग्गा नपाएर विस्तार गर्न सकेका छैनन्।

‘२ सय बिघामा केरा खेती विस्तार गर्ने योजना छ तर त्यसका लागि आवश्यक जग्गा पाइँदैन,’ उनले भने- ‘थोरै जमिन पाए पनि ठूलो क्षेत्रफल भएको जग्गा पाइँदैन।’ त्यसका लागि चौर र झाडी नै खोज्नुपर्ने अवस्था आएको उनले बताए। अधिकांश व्यक्तिले ५ वर्षका लागि भाडामा दिने गर्दछन् तर विभिन्न रोग र समाजको दबाबका कारण २ वर्षमै छाड्नुपर्ने अवस्था आउने गरेको गुनासोसमेत उनले गरे। १३ वर्षअघिबाट केरा खेती गर्दै आएका पन्तले अहिले ३५ बिघा जग्गामा खेती गर्दै आएका छन्।

उनले कुनै समय ५० बिघासम्म पुर्‍याएका थिए। जग्गाको अभाव र मालभोग जातमा देखिएको रोगका कारण घटाउनु परेको उनले बताए। सरकारी तथ्याङ्क अनुसार चितवनमा २ लाख २१ हजार ८ सय हेक्टर जमिन मध्ये ३३ हजार ८३६ हेक्टर जमिन खेती योग्य छ तर केरा किसान घनानाथ महतोले खेतीयोग्य जमिन मासिँदै गएपछि वनको छेउछाउतिर आउनुपरेको सुनाए।

‘मानिसहरू राम्रो जग्गा दिनै मान्दैनन्। जंगल छेउका बचेखुचेका एक, दुई बिघा जग्गा जोडेर खेती गर्नुपरेको छ,’ उनले भने- ‘राज्यले भू–उपयोग नीति बनाएर कृषिलाई अगाडि बढाउनु पर्छ।’ उनले २५ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन्। जग्गाको अभावका कारण सालभरि केरा उत्पादन गर्न नसकिएको उनले बताए। केरा खेतीका लागि जमिन धेरै आवश्यक पर्दछ।

चितवनका अधिकांश किसानले जग्गा भाडामा लिएर खेती गर्दै आएका छन्। अन्य खेतीका लागि भन्दा उनीहरूले बढी भाडा तिर्छन्। किसानले वार्षिक प्रतिकट्ठा ६ हजार रूपैयाँ दिएर खेती गरेका छन् तर अन्य खेतीको लागि २ हजार ५ सय रूपैयाँमै जग्गा पाइन्छ। चितवनमा २ हजार ७८ हेक्टरमा केरा खेती हुँदै आएको छ।

यसबाट वार्षिक ४४ हजार ८४२ मेट्रिक टन उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुंगाना बताउँछन्। उनका अनुसार यहाँबाट ३१ हजार ३ सय ९९ मेट्रिक टन केरा निर्यात हुने गरेको छ। चितवनबाट १ अर्ब ३४ करोड रूपैयाँसम्मको केरा निर्यात भएको छ।

चितवनमा तीन वर्षदेखि केरा जोन पनि सञ्चालित छ। सोक्षेत्रमा मात्र १ हजार ५ सय हेक्टरमा खेती हुँदै आएको छ। तीन वर्षअघि जोन अन्तरगत ९ सय ४५ हेक्टरमा खेती हुँदै आएको थियो। चितवनका रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिकाको १ देखि ८ र भरतपुर महानगरपालिकाको वडा नम्बर १ केरा जोन क्षेत्र पर्दछ। त्यस्तै यहाँ भरतपुर महानगरपालिकाको वडा नम्बर २३ मा केराको ब्लक क्षेत्र रहेको छ।

प्रकाशित: २२ असार २०७९ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App