४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

महिला उद्यमीहरूको लागि इकमर्श र डिजिटल मार्केटिङ सम्बन्धि तालिम

दक्षिण एसियाली महिला विकास मञ्चको आयोजनामा राजधानीमा महिला उद्यमीहरुको लागि इकमर्श र डिजिटल मार्केटिङ सम्बन्धि तीन दिने क्षमताअभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।  

महिला उद्यमीहरुको क्षमताअभिवृद्धि गर्ने उद्देश्ययले असार १३ देखि १५ गतेसम्म इकमर्श र डिजिटल मार्कटिङ सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको थियो।  

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै महिला उद्यमीहरुले नयाँ-नयाँ सूचना प्रविधिको अधिकतम उपयोग गरेर आफ्नो उद्यमलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।  

‘महिला उद्यमीहरुको लागि आवश्यक पर्ने सूचना प्रविधिसँग सम्बन्धित विषयमा आवश्यक सहकार्य र सहजीकरण गर्न मन्त्रालय सधैं तयार छ,’ उनले भने ‘मन्त्रालयले महिला उद्यमीहरुलाई सूचना प्रविधिसँग जोड्न आवश्यक पर्ने नीतिगत/कानुनी सहायताको लागि पहलकदमी गर्नेछौं।’ सचिव अर्यालले मञ्चले महिला उद्यमीहरुलाई समयसापेक्ष रुपमा इकमर्श र डिजिटल मार्केटिङ सम्बन्धित तालिमको आयोजना गरेर सह्रानिय काम गरेको बताए।  

युनाइटेड नेसन्स इकोनोमिक एण्ड सोसल कमिसन फर एसिया एण्ड दि प्यासेफिकको (युएनएस्क्याप) को साझेदारीमा महिला उद्यमीहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। यस तालिम कार्यक्रम फेडरेसन अफ वुमन आन्टरप्रेनेर एसोसिएसन अफ नेपाल, फेडेरेसन अफ नेपाली कटेज एण्ड स्माल इन्डष्ट्रिज, मानुषी, फेडेरेसन अफ विजनेस एण्ड प्रोफेसनल वुमन नेपालको सहकार्यमा आयोजना गरिएको हो।

महिला उद्यमी महासंघका बरिष्ठ उपाध्यक्ष तथा दक्षिण एसियाली महिला विकास मञ्चका कार्यकारी सदस्य शोभा ज्ञवालीले महिला उद्यमीहरुलाई नयाँ सूचना प्रविधिसँग जोडेर व्यवसायिक दक्षता  उकास्नको लागि तालिमको आयोजना गरिएको बताइन्।

‘महिला उद्यमीलाई नयाँ–नयाँ सूचना प्रविधिसँग जोडेर क्षमताअभिवृद्धि गर्न खोजेका छौं,’ उनले भनिन्, ‘एकातर्फ यसले महिलालाई नयाँ प्रविधिसँग जोडिएर उद्यमशीलतालाई अझै व्यवस्थित र समयसापेक्ष बनाउन सहयोग पुग्नेछ। अर्काेतर्फ महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामानको अनलाइन बजारीकरणको लागि पनि टेवा पुग्नेछ।’ बरिष्ठ उपाध्यक्ष ज्ञवालीले यस्ता खालका तालिमले दक्षिण एसियाली स्तरको प्रविधि ,ज्ञान,सीप र अवधारणलाई नेपालमा ल्याउन थप मद्दत पुग्ने बताइन्।  

दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालले कोभिड महामारीको कारणले  व्यापार तथा उद्यमशीलतामा प्रविधिको आवश्यकता अपरिहार्य भएकाले महिला उद्यमीहरुको क्षमता अभिवृद्धिको लागि इकर्मश तथा मार्केटिङ सम्बन्धि तालिम आयोजना गरेको बताइन्। ‘अहिलेको युग सूचना प्रविधिको युग हो,’ उनले भनिन, ‘महिला उद्यमीहरुलाई पनि नयाँ सूचना प्रविधिको प्रयोग गरेर आफ्नो व्यवसायिक सीप तथा दक्षता अभिवृद्धि गर्नका लागि तालिमको आयोजना गरिएको हो।’  

मञ्चका अध्यक्ष रिजालले मञ्चले  पाँच महिनाको अवधिमा मुलुकको विभिन्न स्थानमा महिला उद्यमीहरुको लागि इकमर्श र डिजिटल मार्केटिक सम्बन्धि क्षमताअभिवृद्धिको लागि १२ वटा सेसनको तालिम आयोजना गर्ने  बताइन्। ‘१२ वटा सेसनको तालिमबाट तीन सय जना महिला उद्यमी लाभान्वित हुनेछन्,’ उनले भनिन‘एउटा सेसनको तालिम तीन दिनसम्म चल्नेछ। एउटा सेसनको तालिममा २५ देखि ३० जना महिला उद्यमीको  सहभागिता रहनेछ।’  

अध्यक्ष रिजालले मञ्चले हिमाल पहाड र तराई तिनवटै भू-भागमा बसेर महिला उद्यमशीलता गरिरहेका  एक हजार जना महिलाले सूचना प्रविधिको प्रयोगले उद्यमशिलतामा पारेको प्रभावको विषयमा पनि अध्ययन गर्ने बताइन्। ‘हामीले दातृ निकायको सहायतामा मुलुकभरका एक हजार महिला उद्यमीले सूचना प्रविधिको प्रयोगले उद्यममा पारेको प्रभावको विषयमा पनि विस्तृत अध्ययन अनुसन्धान गर्दैछौं,’ उनले भने‘यो अध्ययनले महिला उद्यमीको लागि सूचना प्रविधिको आवश्यकता र महत्वको विषयमा थप उर्जागर गर्न मद्दत पुग्नेछ।’ यो अध्ययन ६ महिनाभित्रै गर्ने लक्ष्य राखिएको छ।

अभिमुखीकरण कार्यक्रमको पहिलो दिनमा (युएनएस्क्याप)का  प्रोग्राम अफिसर रोबर्ट डि जेससले भर्चुअल शुभकामना सन्देश व्यक्त गरेका थिए। पहिलो दिनमा अनलिमिटेड टेक्नोलोजिज प्रालीका अपरेसन म्यानेजर अशोक हमालले इकमर्शको विकास र डिजिटल मार्केटिङ, डिजिटल मार्केटिङको आवश्यकता लगायतको विषयमा तालिममा सहभागिलाई प्रशिक्षण दिएका थिए।

कार्यक्रमको दोस्रो दिनमा दराजका टेनिङ एक्सपर्ट सलिना नकर्मीले मार्केटिङ ,ब्राडिङ र सोसल मिडियाको सहायताले व्यवसाय प्रवद्र्धन विषयमा प्रशिक्षण दिएकी थिइन्। तालिमको तेस्रो दिन दराजका ट्रेनिङ एक्सपर्ट निशान्त बिसीले तालिममा सहभागिलाई इकमर्शमा रजिष्टर गर्ने लगायतका विषयमा सहजीकरण गरेका थिए। सो तालिम कार्यक्रममा मञ्चका सचिव सम्झना आचार्य, मञ्चका कार्यकारी सदस्य शोभा गुरुङ, मञ्चका कार्यकारी सदस्य आश्रेयता कार्की चौधरी लगायतले मन्तब्य राखेका थिए।

प्रकाशित: १५ असार २०७९ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App