२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
अर्थ

अर्बौको ठेक्का र भ्रष्टाचार हुने युनिटमा मात्र लेखापरीक्षण गर्नुहोस्: भरतकुमार शाह

सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले अर्बौ ठेक्का र कारोबार हुने तथा बढी भ्रष्टाचार हुने युनिटहरुमा मात्र लेखापरीक्षण गर्न सुझाव दिएका छन्।  

बुधबार महालेखापरीक्षक कार्यालयको ७४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभापति शाहले अन्तर्राष्ट्रिय अभ्यास जोखिममा आधारित लेखा परीक्षण हुने भएकाले नेपालमा पनि जोखिममा आधारित कारोबारको मात्रै लेखापरीक्षण गर्न सुझाव दिएका हुन्।  

‘हामीले हेर्ने भनेको अर्बौंका ठेक्का खर्बाैं कारोबार अन्य कारोबार छन् त्यहा बढी जोखिम छ। त्यहाँ नै भढी भ्रष्टाचार हुन्छ। हेर्ने त्यही हो। अब जोखिममा आधारित मात्रै लेखापरीक्षण गर्ने हो। अरुलाई महालेखाको प्रतिवेदन अनुसार गर्नु भनेर लेखिदिने हो। २० वर्ष देखिको कमप्युटर, ल्याप्टप दिनुपर्ने देखाएर बेरुजु देखाउनु जरुरी छैन। त्यसले हामीलाई कँही पुर्‍याउँदैन’, उनले भने। उनले लेखा परीक्षणमा २० वर्ष देखिको कम्प्युटर, ल्यापटप दिनुपर्ने देखाएर बेरुजु देखाउनु जरुरी नभएको बताए।  

शाहले महालेखा परीक्षकको ठूलो जिम्मेवारी भएको उल्लेख गर्दे ऐन कानून परिर्वतन गर्न सुझाव दिएका थिए। उनले लेखापरीक्षक कार्यालयले ६ हजारदेखि १० हजार युनिटको लेखा परीक्षण गर्ने गरेको भन्दै अब जोखिममा आधारित लेखा परीक्षण गर्नुपर्ने बताए। शाहले अमेरिकामा ५ सय तथा भारतमा ७ सय युनिटको मात्रै लेखा परीक्षण गर्ने गरेको उदाहरण प्रस्तुत गरेका थिए।  

उनले भने, ‘महालेखा परिक्षकलाई ठूलो जिम्मेवारी छ। ऐन कानूनमा केही परिर्वतन गर्नु पर्नेछ। ऐनले सबै युनिटलाई लेखारीक्षण गर्नु भन्छ। ६ हजार युनिटलाई लेखापरीक्षण गर्नुपर्छ। यो महालेखापरीक्षक कार्यालयले गर्नै सक्दैन। त्यस कारण उहाँहरुलाई जोखिममा आधारित लेखा परीक्षण गर्दा हुन्छ। संसारभरी जोखिममा आधारित मात्रै लेखापरीक्षण हुन्छ। भारतमा ७ सय युनिट भन्दा बढी गर्दैन। अमेरिकामा ५ सय भन्दा बढी गर्दैन। हामी हजार देखि १० हजार युनिटमा गर्छौं। जहाँ अर्ब–अर्बको कारोबार छ त्यही हेर्ने हो। कर्मचारीले ५ सय रुपैयाँमा लिएको हेर्नु कुनै अर्थ छैन।’  

सभापति शाहले अर्थतन्त्र जटिल मोडमा पुगेको बताए। उनले अर्थतन्त्रका सबै सूचकहरु नकारात्मक भएको उल्लेख गरे। उनले कोरोना महामारीका बेला अमेरिकाले जथाभावि डलर छापेर बजारमा पठाएकाले विश्वभर समस्या भएको बताए।  

सभापति शाहले भने, ‘अर्थतन्त्र जटिल मोडमा छ। अहिले अत्यन्तै बढी आयात भइरहको छ। विदेशी मुद्रा साढे ६ महिनालाई मात्रै छ। घरजग्गा,शेयरको मूल्य घटेको छ। बैंकको ब्याज बढेको छ। चारै तिरबाट हामीलाई अफठ्यारो परेको छ। हामी सबैले आफ्नो जिम्मेवारी पालना गर्नुपर्छ।’ सभापति शाहले नेपालमा अझै शेयर मूल्य,बजार मूल्य र बैंकको ब्याजदर बढ्दै जाने बताए।  

उनका अनुसार अमेरिकामा कोभिड भएको समयमा मनपरि डलर छाप्यो। सबैलाई पैसा दियो। धेरै पैसा बजारमा फाल्यो। उनीहरुले पैसा पाए कोहीले शेयरमा लगानी गरे,भारत लगायतका देशमा शेयरमा लगानी गरे। नेपालमा पनि गरे। कोरोनापछि अत्यन्त महँगी बढ्यो। बैंकहरुले बजारबाट पैसा तान्नको लागि ब्याज बढाए। यसरी सबै समस्या आएको हो। यसका सरकारले राम्रोसँग ध्यान दिनुपर्छ नत्र अफठ्यारो पर्छ। अझै शेयरको मूल्य घट्छ, अझै बजार मूल्य ,ब्याजदर बढ्दै जान्छ। यी सबै व्यवस्थापन नगर्न सक्नुपर्छ। अहिलेको विश्म परिस्थितीबाट देशलाई जोगाउनु हामी सबैको कर्तव्य हो। फजुल खर्च गर्न सक्नुपर्छ।

प्रकाशित: १५ असार २०७९ १०:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App