८ वैशाख २०८१ शनिबार
अर्थ

लिमचुङबुङ गाउँपालिकाको बजेट चालुभन्दा साढे ५ करोड कम

लिमचुङबुङ गाउँपालिका कार्यालय। तस्विरः महेश्वर/नागरिक

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट आकार घटेको छ। संघीय सरकारबाट प्राप्त समानीकरण र सशर्त अनुदान घटेर आएपछि गाउँसभाले आर्थिक वर्ष ०७९÷८० को बजेटको आकार घटाएको हो।  

असार १० गतेको गाउँसभामा उपाध्यक्ष पुष्पकुमार राईले प्रस्तुत गरेर १२ गते पारित बजेटको अनुमानित आकार ३७ करोड ३३ लाख रहेको छ। चालु आर्थिक वर्षको तुलनामा यो बजेट ५ करोड ४८ लाखले सानो हो। चालु वर्षको बजेट ४२ करोड ८१ लाखको छ। बजेटमा गाउँपालिकाले संघीय सरकारको वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानलाई मुृख्य आमदानी मानेको छ। त्यसैगरी प्रदेशबाट प्राप्त बित्तीय समानीकरण र सशर्त तथा राजश्व बाँडफाँडलाई पनि गाउँसभाले आमदानीको स्रोत मानेर बजेट तर्जुमा गरेको जनाएको छ।  

अनुदानतर्फ संघीय सरकारबाट बित्तीय समानीकरणमा ७ करोड ७९ लाख, सशर्त १४ करोड १७ लाख, विशेष अनुदान १ करोड तथा समपूरक पुँजीगत अनुदान ६० लाख गरी २३ करोड ४७ लाख बजेट सुनिश्चित गरेको गाउँपालिकाका सूचना अधिकारी ताराकिरण राईले बताए। त्यसैगरी प्रदेश सरकारबाट बित्तीय समानीकरण १३ लाख ७५ हजार, सुत्रमा आधारित अनुदान २६ लाख र राजश्व बाँडफाँड २२ लाख २० हजार सुनिश्चित भए बमोजिम गाउँसभाले बजेट तर्जुमा गरेको लेखा अधिकृत समेत रहेका राईले बताए।

सडक, शिक्षा, खानेपानी, विद्युत, खेलकुद र सामाजिक सुरक्षातर्फको नीति कार्यक्रमलाई आगामी वर्ष प्राथमिक्तामा राखेको गाउँसभाले भवन तथा सहरी विकास शीर्षकमा सबभन्दा बढी रकम निनियोजन गरेको छ। चालु वर्षदेखिका क्रमागत महत्वपूर्ण र दीर्घकालीन योजनाहरुलाई प्राथमिक्तामा राख्दै ४ करोड ४८ लाख बजेट यो शीर्षकमा गाउँसभाले छुट्याएको छ। 

चालु वर्ष सुरु भएका निर्माणाधीन प्रशासनिक भवन, भ्युटावर, स्वास्थ्य तथा वडा भवनहरुको निरन्तरतालगायत ९ वटा योजनाका लागि ‘क्रमागत पुँजीगत’ शीर्षकमा गाउँसभाले ३ करोड ५० लाख छु्ट्याएको छ। त्यसैगरी गाउँसभाले पर्यटन केन्द्रित लिमचुङबुङ भ्युटावर घेराबेरा गर्न भनेर ९० लाख रकम यही शीर्षकबाट छुट्याएको छ।  

गाउँसभाले पूर्वाधारतर्पm २ करोड ८८ लाख बिनियोजन गरेर अधुरा सडकहरु निर्माण र स्तरोन्नति गर्ने लक्ष्य लिएको छ। पूर्वाधारतर्फ बिभिन्न ४१ वटा सडक निर्माण गर्ने योजना पारित गरेको गाउँसभाले सबभन्दा बढी भाकार्तुङ–सोलढुंगा सडकलाई ३५ लाख, जाँते–रुपला–तिर्ला सडक २५ लाख र धुकुर्थुम सडक २० लाख छ्ट्याएको छ। क्याप्टेन पर्शुराम राई सडक स्तरोन्नतिका लागि ९ लाख बिनियोजन गरेको गाउँसभाले सबभन्दा सानो आकारमा वडा नं. ५ जाँतेको मतर्ला–सिप्लिङ सडकका लागि ८० हजार छुट्याएको छ।  

गाउँसभाले सामाजिक विकासतर्फ १ करोड १७ लाख ५५ हजार बजेट छुट्याएको छ। बिभिन्न २५ वटा योजना सञ्चालन गर्नेगरी बिनियोजित बजेटबाट गाउँपालिकाले मन्टेश्वरी शिक्षा व्यवस्थापन शीर्षकमा २० लाख पारित गरेको छ। बाँकी बजेटबाट विद्यालय भवन, शौचालय निर्माण, शैक्षिक भ्रमण, सूचना प्रविधिदेखि प्रधानाध्यापक तालिम हुँदै प्रअ बैठकसम्म शीर्षकमा रुकम छुट्याइएको छ।  

त्यसैगरी आर्थिक विकासतर्फ कृषि तथा पशु शीर्षकमा ८६ लाख ५४ हजार बिनियोजन गरेको गाउँसभाले गतवर्षदेखि सञ्चालित अध्यक्ष कृषि परियोजनालाई निरन्तरता दिने भएको छ। कृषि तथा पशु विकासतर्फ सबभन्दा ठूलो आकारको रकम तरकारी पकेट सञ्चालन गर्न गाउँसभाले १५ लाख छुट्याएको छ। अन्य रकमबाट कृषि तथा पशु प्राविधिकलाई तलबवापत ३५ लाख १ हजार छुट्याएको गाउँसभाले नेट हाउसमा घाँसको विरुवा लगाउनेदेखि वडामा पशु औषधि वितरण हुँदै रेविजविरुद्धको खोप हान्नेसम्मका २२ योजनामा पैसा छुट्याएको छ।  

उता पर्यटन विकासका लागि ५५ लाख बिनियोजन गरेको गाउँसभाले भ्युटावर समपूरक सहभागिता शीर्षकमा ५० लाख र पर्यटन विकासमा ५ लाख रकम छुट्याएको छ। त्यस्तै खानेपानीमा ४१ लाख ८२ हजार बिनियोजन गरेर सबै वडाका बिभिन्न १९ वटा योजना सञ्चालन गर्ने तय गरेको छ। लैंगिक समानता शीर्षकमा २८ लाख ६५ हजार बजेट बिनियोजन गरेर गाउँपालिकाले आगामी वर्ष बिभिन्न २५ वटा योजना सञ्चालन गर्ने तय गरेको छ। बढीमा ३ लाखदेखि घटीमा ३० हजारसम्मका खुद्रा कार्यक्रम यो शीर्षकअन्तर्गतका योजनाहरु गाउँसभाले पारित गरेको छ।  

सुशासन प्रवद्र्धन शीर्षकमा २२ लाख १५ हजार रकम बिनियोजन गरेको गाउँसभाले सूचना प्रविधिमा ११ लाख ७३ हजार छुट्याएको छ। गाउँसभाले ८ वटा योजना सञ्चालन गर्नेगरी स्वास्थ्यमा ३० लाख, खेलकुदमा ८ कार्यक्रमका लागि १९ लाख र सिंचाईमा साना सिंचाई सहभागिता शीर्षकमा ६ लाख ७१ हजार रकम बिनियोजन गरेको छ।  

विपत व्यवस्थापनमा भने गाउँसभाले ५३ लाख बजेट बिनियोजन गरेको छ। ५३ लाखमध्ये ५० लाख विपत व्यवस्थापन कोषमा राखेर बाँकी ५ लाखको बिपत व्यवस्थपन कार्य गर्ने निर्णय गाउँसभाले गरेको छ। अघिल्लै कार्यकालका अध्यक्ष मेजरकुमार राई र प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईसहितको गाउँसभाले विगतवर्षभन्दा यसपालि छोटो छलफल र तयारीमै बजेट तथा नीति कार्यक्रम तयार गरेर पारित गरेको सूचना अधिकारी राईले बताएका छन्।

प्रकाशित: १४ असार २०७९ १५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App