१५ चैत्र २०८० बिहीबार
अर्थ

उद्योगी र मजदुरको आन्दोलन स्थगित

बजेट परिमार्जनको माग गर्दै आन्दोलित मोरङका उद्योगी र मजदुरहरूले आन्दोलन स्थगित गरेका छन्। गत जेठमा पहिलो चरणको आन्दोलन थालेका उद्योगी र मजदुरहरूले अर्थमन्त्रीले बजेट परिमार्जन गर्ने आश्वासन दिएर ढाँटेको भन्दै असार ९ गते देखि दोस्रो चरणको आन्दोलन सुरू गरेका थिए।  

दोस्रो चरणको आन्दोलन अन्तर्गत विरोधका कार्यक्रमहरू गर्दै आएको उद्योगी र मजदुरले असार १२ गतेदेखि आन्दोलन स्थगित गरेको जनाएका छन्। आइतबार मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले संयुक्त विज्ञप्ति जारी गरी उद्योगी र मजदुरले गर्दै आएका आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरेको जानकारी दिएका हुन्। 

विज्ञप्तिमा अर्थ मन्त्री जनार्धन शर्माले राष्ट्रिय सभाबाट बजेट पारित भएपछि  बजेट परिमार्जन गरी उद्योगी र मजदुरहरूले उठाएका मागको सम्बोधन गर्ने आश्वासन दिएको उल्लेख छ। यस अघि पनि गत जेठ २७ गते अर्थमन्त्रीले बजेट परिमार्जन गर्ने आश्वासन दिएको भन्दै उद्योगी र मजदुरहरूले  पहिलो चरणको आन्दोलन स्थगित गरेका थिए। 

माग पुरा नभएको भन्दै दोस्रो चरणको आन्दोलन थालेका उद्योगी र मजदुरहरूले पुनः आश्वासन पाएको भन्दै आन्दोलन स्थगित गरेका हुन्। आर्थिक वर्ष ०७९/८० को बजेटमा गरिएको नीतिगत व्यवस्थाले जीआएवायरको  एउटा उद्योगलाई लाभ हुने र बाँकी सबै उद्योग बन्द हुने भन्दै उद्योगीहरू आन्दोलित भएका थिए। 

उनीहरूले जिआइ वायर उद्योगसँगै वनस्पति घीउ उद्योग सेनेटरी प्याड उद्योग पनि बजेटमा ल्याइएको नीतिगत व्यवस्थाका कारण बन्द हुने बताउँदै आएका छन्। उद्योगीहरूले अर्थमन्त्री जनार्धन शर्माले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै आएका थिए।

प्रकाशित: १२ असार २०७९ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App