coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आगामी आर्थिक वर्षका लागि भरतपुर महानगरले बजेटको सिलिङ बढायो

पाँच अर्ब ७४ करोड विनियोजन

चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ बढाएको छ। अघिल्लो आर्थिक वर्षभन्दा ९३ करोड २९ लाख ९१ हजार रुपैयाँ बराबरको बजेट बढाएको हो।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षका लागि ४ अर्ब ८१ करोड १२  लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको थियो। महानगरपालिकाले आन्तरिक आय, अन्तरसरकारी वित्तीय हस्तन्तरण, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँड जनसहभागिता लगायतका शिर्षकमा बजेट बढाएको छ।

यसपटक आन्तरिक आय ३० करोड वृद्धि गर्ने लक्ष्य महानगरपालिकाको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरण आगामी वर्ष १४ करोड ७० लाख १७ रुपैयाँले वृद्धि हुने अनुमान गरिएको छ। महानगरका उप–प्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटमा आन्तरिक आय १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।

जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड, जिल्ला समन्वय समितिबाट ५ करोड आउने प्रक्षेपण गरिएको छ। महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाहरुका लागि १ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

महानगरका २९ वटा वडालाई सम्बन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन भएको छ। यसपटक उत्पादनलाई बढी जोड दिएको महानगरपालिकाले कृषिमा १५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

कृषि नीति कार्यान्वयन गर्नका लागि ८ करोड तथा दुधमा ३ रुपैयाँ अनुदानलाई निरन्तरता दिएको छ। शिक्षाका पूर्वाधार तथा दक्षता अभिवृद्धिका लागि १३ करोड, नियमित मर्मत संम्भारका लागि ८ करोड, विभिन्न स्वास्थ्य कार्यक्रम तथा नीति कार्यान्वयनका लागि ७ करोड, मासिक ७ हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराए वापत खानेपानी बोर्डलाई भुक्तानी दिन ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

एक वडा एक फोहोरमैला व्यवस्थापन स्रोतकेन्द्र स्थापना एक वडा एक पार्क निर्माण कार्यलाई निरन्तरता दिएको छ। डम्पिङ साईट व्यवस्थापन फोहोरको प्रभावकारी संकलन तथा फोहोरमैला व्यवस्थापन गर्न ७ करोज बजेट विनियोजन गरिएको छ। सूचना तथा प्रविधि एवं डिजिटल प्रणालीको को लागि ३ करोड, सहकारी तथा रोजगार प्रर्वद्धनमा २ करोड ५० लाख रुपैयाँ, तथा पर्यटन तथा उद्योग वाणिज्य तर्फ २ करोड ५० लाख बजेट छुट्याइएको छ।

पयर्टन क्षेत्रको विकास र विस्तारको लागि अल्पकालीन मध्यकालिन र दीर्घकालीन गुरुयोजना तर्जुमा र चितवन–पोखरा–लुम्बिनी स्वर्ण त्रिकोण पर्यटन प्रर्वद्धन कार्यक्रम राखिएको छ। विपद् व्यवस्थापनमा २ करोड ४५ लाख ५२ हजार, लैंगिक समानता महिला शसक्तिकरण र सामाजिक समावेशीकरणकाका लगि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।

ठूला र रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न संघ तथा प्रदेश सरकारको स्रोतसँग समपुरक साझेदारी कोष स्थापना गर्न ६ करोड, मुख्य शहरी क्षेत्रमा ढल निर्माण, विद्युतीय बस खरिद, सार्वजनिक शौचालय निर्माण, ओभर हेड ब्रिज, परियोजना बैंक निर्माण, लगायतका अन्य पूर्वाधारका लागि २८ करोड विनियोजन गरिएको छ।

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटका प्राथमिकताको क्षेत्रमा शहरी पूर्वाधार, भूउपयोग तथा वस्ती विकास र अधुरा योजनाहरुको निरन्तरतालाई राखेको छ। यसका लागि एकमुष्ट १ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

महानगरको नीतिः डिजिटल र स्मार्ट अभियान

यसअघि सडक कालोपत्रेलाई प्राथमिकता दिएको महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि खाल्टा खुल्टी मुक्त महानगर अभियान सञ्चालन गर्ने जनाएको छ। महानगरपालिकाको एघारौँ नगर सभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर रेनु दाहालले पूर्वाधारहरुको मर्मत सम्भार, ग्रावेल ससाना मर्मत कार्यहरुलाई तत्काल कार्यान्वयन गर्न प्राविधिक सहितको टिम बनाइने बताएकी छिन्।

मुख्य शहरी क्षेत्रमा सतह ढल निर्माण गरेपछि मात्र सडक पिच निर्माण गरिने नीति तथा कार्यक्रममा योजना बनाइएको छ। भरतपुर महानगरपालिकालाई समृद्ध महानगरपालिकालाई समृद्ध, स्वच्छ, सफा हरियाली र शान्त महानगरका रुपमा विकास गर्न भरतपुर महानगरपालिकाको एकीकृत सहरी विकास गुरु योजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधारहरु निर्माणमा प्राथमिकता दिने मेयर दाहालले बताइन्।

साथै भरतपुर महानगरपालिकामा फोहोर वर्गिकरण नगर्ने व्यक्तिलाई ५ सय रुपैयाँ जरिवाना गरिने बताइन्। महानगरपालिकाले भरतपुरलाई डिजिटल र स्मार्ट बनाउने अभियानलाई तीव्रताका साथ अगाडि बढाउने भएको छ। महानगरमा हाल प्रयोगमा आइसकेको अनलाइन राजस्व प्रणाली, अनलाइन पेमेन्ट लगायतका प्रविधिको थप विकास गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र गुणस्तरीय बनाउने नीति लिएको छ।

यस्तै शिक्षा विकासमा महानगरपालिकालाई उच्च शिक्षाको उत्कृष्ट हबका रूपमा विकास गर्नका लागि अहिले शिक्षाकोठाको शिक्षण सिकाइलाई केन्द्रमा राख्ने जनाएको छ। यस्तै कक्षा १–८ को स्थानीय विषयको क्षेत्रीय वित्त साक्षरता, साइवर क्राइम, उध्यमशीलता, नवप्रवर्तन र पूर्व नैतिक मूल्य र मान्यताहरू सीप विकास परिमार्जनलाई डिजिटल प्रभावकारी बनाउने नीति लिएको छ।

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको लागि आवश्यक स्रोत–साधनको व्यवस्थापन संस्थागत विक महा फित्रका साहित्य भाषा, कला, संस्कृतिको उत्थान र संरक्षण कार्य गर्ने जनाएको छ। यस्तै युवाको क्षेत्रमा उर्जाशील युवा वर्गलाई उद्यमशीलतामा आधारित सीपमूलक तालिम, अवलोकन भ्रमण तथा परामर्शका कार्यक्रमहरु सञ्चालन गरी कुलत तथा दुव्र्यसनबाट जोगाउने कार्यक्रम सञ्चालनमा जोड दिने जनाएको छ।

यस्तै खेलकुद क्षेत्रमा महानगरपालिकालाई खेलकुद सिटीका रुपमा विकास गरिनेछ। फुटवल रंशलाशाको निर्माण, क्याम्पाचौरलाई मिनी स्टेडियका रुपमा विकास गर्ने जनाएको छ। यस्तै स्वास्थ्यलाई थप प्रभावकारी बनाउन भरतपुर अस्पतालमा महानगरपालिको सहायता कक्ष निर्माण गरी छोरी बीमा र ओपिडी टिकट व्यवस्थापनमा सहजीकरण गर्ने नीति लिएको छ। भरतपुर अस्पतालमा बर्थिङ सेन्टर स्थापनको संभाव्यता अध्ययन गर्ने पनि जनाइएको छ।

त्यस्तै कृषि विकासमा महानगरपालिकाले कृषि उत्पादनमा वृद्धि गरी उत्पादनको न्युनतम लागतमूल्यका आधारमा न्यूनतम बजार मूल्य तोक्ने नीति लिएको छ। कृषि एम्बुलेन्स सञ्चालन गर्ने बताइएको छ। यस्तै भरतपुर महानगर आर्गानिक शहरको अधियनको समेत थालनी गरी मेड इन भरतपुर भन्ने ब्रान्डिङका लागि आवश्यक पहल गर्ने जनाइएको छ।

यसैगरी कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा सहकारीसँगको समन्वयमा मेयरसँग किसान कार्यक्रम सञ्चालन गरी प्राविधिक ज्ञान, तालिम, अनुसन्धानका कार्यहरु गर्ने नीति लिएको छ। महानगरले पर्यटन तथा संस्कृति, उद्योग, सुचना तथा सञ्चार तथा भूमिहिनलाई राष्ट्रिय भूमि अयोगसँग समन्वय गरी जग्गा उपलब्ध गराउने नीति पनि लिएको छ।

प्रकाशित: १० असार २०७९ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App