१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

सर्लाहीमा हुने तस्करीले निहुर्‍यायाे देशकै शिर

रातारात सर्लाहीमा हुने तस्करीले गर्दा देशकै शिर निहुरिएको छ। सर्लाहीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद डा. अमरेशकुमार सिंहले संसदमै सर्लाहीमा हुने गरेको तस्करीबारे मुद्दा उठाउँदा पनि तस्करी नियन्त्रण नभएपछि देशकै शिर निहुरेको सर्लाहीबासीले महसुस गरेका छन्।  

जनताको आवाज उठाउने र सबै नियम कानुन निर्माण हुने निकायमा तस्करीको मुद्दा उठाउने सदनमा माननीय साँसदले आवाज उठाउँदा पनि सर्लाहीबाट भारततिर र भारतबाट सर्लातिर हुने तस्करी नियन्त्रणमा आउन सकेको छैन।

माननीय सांसद सिंहले नेपालबाट भारततिर जान लागेको अवस्थामा गिटी, बालुवा लोड भएको पाँच सयभन्दा बढी ट्रयाक्टरको लाइन देखेको गत हप्ता संसदमै बताएका थिए। आफ्नो ५१ वर्षको उमेरमा पनि अहिलेको जस्तो तस्करी जीवनमा कहिल्यै नदेखेको संसदमै बताउँदा पनि तस्करी नियन्त्रण नभएको भन्दै सर्लाहीबासीले आफ्नो शिर निहुरिएको महसुस गर्न थालेका हुन्।

सर्लाहीको ब्रह्मपुरी गाँओपालिका ४ मा रहेको त्रिभुवननगर नाकाबाट भारतबाट तस्करी भएर आएको तिन पोका कपडा बुधबार पक्राउ परेको छ। तस्करी भएर भारतबाट २६ पोका आएको भए पनि सशस्त्र प्रहरीले नाटकीय ढंगले तिन पोका पक्राउ गरी २३ पोका छोडेका थिए। मधेस प्रदेशको छिन्नमस्ता बाहिनीबाट खटिएका सशस्त्र प्रहरीका असइ राम केवल यादवको जाँजोपाँचोमा तस्करी भएको र छापामारी पनि यादवले नै गराएका हुन्।  

त्रिभुवननगर भन्सारदेखि करिब दुई सय मिटर पूर्व–दँक्षिण एउटा खपडाको घरमा तस्करहरुले भारतको सोनबर्सा बजारबाट २६ पोका कपडा तस्करी गरेर ल्याएर राखेको अवस्थामा असई यादव आफैँ एक जना सहयोगीसहित घरभित्र पसेर सबै कपडा छाडी तिन पोका मात्र बाहिर निकालेको स्थानीय प्रत्यक्षदर्शी एक महिला बताउँछिन्।

त्रिभुवन नगर नाकाको झिमखोला र पुलबाट मुख्य गरी रातभर तस्करी हुने गरेको स्थानीय बताउँछन्। सर्लाही सदरमुकाम मलंगवा नाकाको दुरसंचार टाबरका सशस्त्र प्रहरी निरीक्षक उमेश कार्कीको संरक्षण र मिलोमतोमा सर्लाही सदरमुकाम मलंगवा नाकाबाट तस्करी फस्टाएको छ। मलंगवाको लचका नाका र कभर्ड हल नाका भएर नेपालबाट भारततिर सुकुमेल, चाइनिज सामान र भारतबाट नेपालतिर कपडा, मेसिनको पाटपुर्जा, तेल, खाद्यान्नको तस्करी व्यापक भएको छ।

सर्लाहीसित जोडिएको नेपाल भारत ४५ किलोमिटर सीमा क्षेत्रमा नै तस्करी हुने गरेको छ। माननीय सिंहले पनि आफ्नो जिल्लाको ४५ किलोमिटर सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्न आग्रह गरेका थिए।

भारततिर निर्वाध गिटी बालुवा

चुरे दोहन भएर तराई मधेस दोहन भइरहँदा भारततिर व्यापक मात्रामा तस्करी हुने गरेको पाइएको छ। चुरेको गिटी र बालुवा भारततिर पुग्ने गरेको सबैले बुझेको रहस्य भएको छ। बागमती नदीको विभिन्न ठाउँमा मेसिन प्रयोग गरेर निकालिएको गिटी र बालुवा भारततिर तस्करी हुने गरेको छ।

सर्लाहीको बलरा, अर्नाहा, मधुवनी, सिरकटा र सेढवा नाकाबाट व्यापक मात्रामा भारततिर गिटी र बालुवा गइरहेको छ। मुख्य गरी राति राति भारततिर दैनिक सयौँ ट्रयाक्टर गिटी र बालुवा तस्करी हुने गरेको स्थानीय बताउँछन्।

हरेक रात कम्तीमा दुई सय ट्रयाक्टर नेपालबाट भारततिर बलरा नाकाबाट जाने गरेको बलरा नगरपालिका ७ भगवानपुरका पूर्व शिक्षक सत्यनारायण महतो बताउँछन्। रातभरि भारततिर ट्रयाक्टरमा हुने तस्करीले आफ्नो घरमा सुत्न पनि मुस्किल हुने गरेको छ। भारततिर हुने तस्करीले गर्दा गाउँलेलाई सुत्न पनि कठिन भएको स्थानीयको दाबी छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्लाको सिमानाकाबाट तस्करी भइरहेको विषयमा संसदमा उठेको आवाजप्रति आफू गम्भीर रहेको र नियन्त्रणको प्रयास गरिरहेको बताएका छन्।

प्रकाशित: २ असार २०७९ १४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App