अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनको मूल्य वृद्धि भए पछि फेरी इन्डियन आयल कर्पोरेसन(आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। आईओसीले बिहीबार पेट्रोलियम पदार्थको मूल्य थप बढाएर पठाएको छ। मूल्य बढेसँगै नेपाल आयल निगमका घाटा १५ दिनमै करिव पौने पाँच अर्ब हुने देखिएको छ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेल १९.०३ रुपैयाँ र हवाइ इन्धन १९.९१ रुपैयाँले बढेर आएको छ। मूल्य बढेर आए पछि निगमलाई पेट्रोल लिटरमा ३१ रुपैयाँ २८ पैसा, डिजेलमा ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा २ रुपैयाँ ७० पैसा, खाना पकाउने ग्यास सिलिन्डरमा ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा रहेको निगमले जनाएको छ।
नयाँ लागत मूल्य अनुसार निगमको मासिक घाटा करिब ९ अर्ब ६४ करोड रुपैयाँ पुग्ने देखिएको छ। निगमको प्रक्षेपण अनुसार १५ दिनमा घाटा ४ अर्ब ८१ करोड ९१ लाख रुपैयाँ हुने निगमले जनाएको छ।
निगमले निरन्तर घाटा व्यहोरे पनि चालु आवको असार मसान्तसम्म ५५ देखि ६० अर्ब रुपैयाँसम्म नोक्सानी हुने अनुमान गरिएको छ। निगमले भुक्तानी गर्न नसके पछि आइओसीलाई भुक्तानी गर्नुपर्ने २२ अर्ब रुपैयाँ बक्यौता रहेको छ।
प्रकाशित: २ असार २०७९ १४:०८ बिहीबार