१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सकियो आर्थिक व्यवस्थापनसम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन

सम्मेलन समापन कार्यक्रममा बोल्दै बागमती प्रदेशका सांसद सृजना सैंजू।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा भएको दोश्रो राष्ट्रिय सम्मेलन सोमबार भक्तपुरमा सकिएको छ।  

सम्मेलनमा समापन कार्यक्रममा वोल्दै प्रदेश सांसद सृजना सैंजूले त्रिभुवन विश्वविद्यालयमा रिसर्च भताभुंग भइरहेको अवस्थामा एउटा कलेजले गरेको यस्तो कार्यक्रम महत्वपूर्ण रहेको बताइन्। उनले दुई दिने सम्मेलनले मुलुकको आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइन्।  

दुई दिने सम्मेलनको क्रममा विभिन्न ६ जना विशिष्ट व्यक्तिहरुले कि नोट दिएका थिए। पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा ध्रुबकुमार गौतम र डा रामकुमार फुयाँलले कि नोट दिए। सोमबार दोश्रो तथा अन्तिम दिन प्राडा आरन स्थापित, डा जितेन्द्र डंगोल र नरबहादुर थापाले कि नोट दिए। साथै ४० भन्दा वढीले कार्यपत्र प्रस्तुत गरे।  

आयोजक कलेजका प्राचार्य रुपक जोशीले अनुसन्धानलाई कलेजले जोड दिंदै आएको बताए। यही अनुसार प्रत्येक वर्ष सम्मेलन गर्दै जाने योजना रहेको उनले सुनाए। केही समयपछि नै विश्वविद्यालय अनुदान आयोगकै सहयोगमा अर्काे अनुसन्धानसम्बन्धी कार्यक्रम गर्न लागेको उनले जानकारी गराए।

यसअघि २०७६ सालमा कलेजले पहिलो सम्मेलन गरेको थियो। त्यसपछि २०७८ सालमा सम्मेलन गर्ने मिति तय भएको थियो। तर बीचमा कोभिड भएकोले त्यो कार्यक्रम स्थगित भएको थियो। यही स्थगित भएको सम्मेलन अहिले सम्पन्न भएको हो।  

सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन भए। दोश्रो दिन चार वटा टेक्निकल सेसन भए। सम्मेलनको क्रममा आयोजक ख्वप कलेज, बागीश्वरी कलेज, भक्तपुर बहुमखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मेगा कलेज, क्वेष्ट इन्टरनेशनल कलेज, युनिग्लोब कलेजलगायतका विभिन्न कलेजबाट सहभागी अनुसन्धानकर्ताहरुले अनुसन्धानपत्र प्रस्तुत गरेका थिए।  

अन्तिम दिन भएको समापन कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य एवं कलेज रहेको भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष डा हरिराम सुवाल, कलेज व्यवस्थापन समितिका सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्व, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, ख्वप कलेजका प्राचार्य रुपक जोशी, उपप्राचार्य डा राजेशकुमार श्रेष्ठलगायतले सम्मेलनले देशको अर्थ व्यवस्थापनमा सहयोग मिल्ने विश्वास लिए।

कार्यक्रममा कार्यक्रम संयोजक सुनिल सुवालले समापन कार्यक्रमअघि दुई दिनको सम्मेलनको छोटकरीमा जानकारी गराएका थिए। यसअघि सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गरेका थिए।

प्रकाशित: ३० जेष्ठ २०७९ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App