उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले महिनामा दुई पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्य समायोजन नभएको दाबी गरेका छन्।
शुक्रबार राष्ट्रिय सभामा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रश्तावमा उठेका विषयहरुको जवाफ दिँदै मन्त्री बडूले प्रश्तावमा उल्लेखित २०७९ जेठ १ गते र जेठ ९ गते लागू हुनेगरी २ पटक मूल्य बढाएको भन्ने विवरणमा कुनै सत्यता नभएको स्पष्ट पारेका हुन्। उनले २०७८ चैत्र महिनामा २ गते र २२ गते गरी मूल्य समायोजन भएको र २०७९ वैशाखमा ३१ गते र जेठ महिनामा ८ गते एकपटक मात्र मूल्य समायोजन गरिएको बताए।
मन्त्री बडूले पेट्रोलमा अहिले पनि ३१ रुपैयाँ ४१ पैसा प्रतिलिटर घाटा रही मासिक १ अर्ब ८३ करोड घाटा, डिजेलमा २८ रुपैयाँ ३३ पैसा प्रतिलिटर घाटा रही मासिक ३ अर्ब ७३ करोड घाटा, एलपी ग्यासमा ७५१ रुपैयाँ १४ पैसा प्रतिसिलिण्डर घाटा रही मासिक २ अर्ब ८६ करोड घाटा तथा मट्टितेल र हवाई इन्धनमा मासिक ६५ करोड नाफा रहेको बताए। उनले नाफा र घाटा मिलाउँदा हाल मासिकरुपमा निगम ७ अर्ब ७७ करोड घाटामा रहेको उल्लेख गरे। चालु आर्थिक वर्षको हालसम्म नेपाल आयल निगमलाई करिव ४७ अर्ब घाटा भइसकेको पनि बताए।
मन्त्री बडूले नेपाल आयल निगमलाई खारेज वा निजीकरण गर्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि दाबी गरे। राष्ट्रिय सभाको आजको बैठकमा खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता भइ सदनमा पेस भएको थियो।
देवेन्द्र दाहाल प्रश्तावक र भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भइ खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गराएका थिए।
प्रकाशित: २० जेष्ठ २०७९ १०:४० शुक्रबार