६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

कर्णालीबाट एक अर्ब बढी फलफूल र मासुजन्य पदार्थ निर्यात

कर्णालीले पछिल्लो चार वर्षको अवधिमा एक अर्ब बढीको फलफूल, तरकारी र मासुजन्य पदार्थ निर्यात गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशबाट स्याउ, सुन्तला, सिमी, तरकारी, अदुवा, आलु, मह, भैसीका पाठापाठी, दूध र खसी बोका निर्यात भएका छन्। आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्मको अवधिमा फलफूल, तरकारी, दूध र मासुजन्य पदार्थको बिक्रीबाट एक अर्ब ५ करोड रूपैयाँ कर्णालीले प्राप्त गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले प्रदेश सरकारले कर्णालीका उत्पादन निर्यातमा विशेष ध्यान दिएको बताए। प्रदेशसभामा कर्णालीका उत्पादन र निर्यातको अवस्थाका बारेमा जानकारी गराउँदै मन्त्री शाहीले प्रदेश संरचनापछि कर्णालीका उत्पादनले बजार पाउन थालेको बताए। ‘कर्णाली भन्नेबित्तिकै भोक, रोग र गरिबीको चित्र आउँछ’, उनले भने- ‘कर्णाली अब निर्यात गर्ने अवस्थामा पुगिसक्यो भन्ने यी तथ्याङ्कले पनि देखाउँछ।’ मन्त्री शाहीले सडकको पहुँच बढ्दै जानु, बाँझो जमिनमा उत्पादन बढ्नु र कृषकहरूलाई सहुलियत ऋण र अनुदान प्रदेश सरकारबाट उपलब्ध हुनु लगायतका कारणले उत्पादन वृद्धिसँगै निर्यात बढ्न थालेको बताए।

तथ्याङ्कअनुसार कर्णालीबाट सबैभन्दा धेरै आलु निर्यात भएको देखिन्छ। चार वर्षको अवधिमा प्रदेश सरकारले पाँच हजार ६७५ मेट्रिकटन आलु निर्यात गरेको छ। आलु बिक्रीबाट प्रदेश सरकारले २२ करोड आम्दानी गरेको छ।

यस्तै चार वर्षको अवधिमा कर्णालीबाट २० करोड ४० लाखका खसी–बोका निर्यात भएका छन् भने २० करोड बढीको ४ हजार ९८२ मेट्रिकटन तरकारी निर्यात भएको छ। चार वर्षको अवधिमा कर्णालीबाट ४ करोड बढी मेट्रिकटन अदुवा निर्यात भएको छ। अदुवा निर्यात गरेर कर्णालीले १५ करोड आम्दानी गरेको मन्त्री शाहीले जानकारी दिए।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहीका अनुसार चार वर्षको अवधिमा कर्णालीबाट एक हजार पाँँच सय मेट्रिकटन स्याउ बाहिर निर्यात भएको छ। यसबाट नौ करोड रूपैयाँ आम्दानी भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। यस्तै १२ सय मेट्रिकटन सुन्तला यही अवधिमा निर्यात भएको छ।

कर्णालीले सुन्तला निर्यात गरेर पाँच करोड रूपैयाँ आम्दानी गरेको छ भने पाँच हजार ७० मेट्रिकटन सिमी निर्यात गरेर ६ करोड रूपैयाँ आम्दानी गरेको छ। प्रदेश सरकारले चार वर्षको अवधिमा ६ करोड ५० लाखको दूध निर्यात गरेको छ भने एक करोड १० लाखका भैंसीका पाठापाठी बिक्री गरेको छ। चार वर्षको अवधिमा दुई मेट्रिकटन मह बिक्री गरेर प्रदेश सरकारले १० लाख रूपैयाँ आम्दानी गरेको छ।

प्रकाशित: १५ जेष्ठ २०७९ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App