१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

गतिविधि बढाउँदै निगम, कुल दायित्व भने अझै साढे ४७ अर्ब

व्यवस्थापकीय क्षमता भएका व्यक्तिको अभाव र राजनैतिक हस्तक्षेपले रुग्ण बन्दै आएको नेपाल वायुसेवा निगमले पछिल्लो समय व्यावसायिक गतिविधि बढाएको छ। गत ६ महिना यतादेखि निगमले आफ्नो आन्तरिक र बाह्य उडान संख्या थप्ने, नयाँ गन्तव्य खोज्ने र अन्य व्यावसायिक गतिविधि बढाउने काम गरेको हो।

सरकारले युवराज अधिकारीलाई गत कात्तिकमा निगम व्यवस्थापनको जिम्मेवारी दिएर पठाएको थियो। त्यसयता निगमको व्यावसायिक गतिविधि विगतको तुलनामा केही बढेको हो। निगम व्यवस्थापनले हालै पर्यटन मन्त्रालयमा बुझाएको एक प्रतिवेदन अनुसार अन्तर्राष्ट्रिय उडानमा रहेका दुई जहाजले विगतका तुलनामा अहिले धेरै समय उडान गरिरहेका छन्।

केही गन्तव्यहरूमा थप उडान सुरु भएको छ भने केहीमा चाँडै सुरु गर्ने निर्णय गरिएको छ। नागरिकलाई प्राप्त प्रतिवेदन अनुसार ए ३२० सेरिजका दुई वटा न्यारोबडी जहाजले ०७८ कात्तिकमा ७ घण्टा ३८ मिनेट उडान गर्ने गरेकोमा ०७९ चैत्रदेखि ९ घण्टा ४८ मिनेट उडान गर्न थालेका छन्। यस्तै ए ३३० सेरिजका दुईवटा वाईडबढी जहाजले ०७८ कात्तिकमा ६ घण्टा ३६ मिनेट उडान गर्ने गरेकोमा ०७९ चैत्रदेखि १० घण्टा ४१ मिनेटका दरले उडान गरेका छन्।

प्रतिवेदन अनुसार ६ महिना अघिसम्म छिमेकी मुलुक भारतको नयाँ दिल्लीमा दैनिक एक उडान गर्दै आएको निगमले अहिले २ उडान गर्न थालेको छ। यस्तै भारतकै मुम्बई र बैंगलोरमा उडान बन्द रहेकामा अहिले साताका ३ दिन उडाउन थालिएको छ। यस्तै भारतबाहेक थाइल्याण्डको बैंकक र मलेसियाको क्वालाम्पुरमा पनि निगमको उडान बन्द अवस्थामा थियो।

अहिले ती दुवै स्थानमा साताका तीन वटा उडान भइरहेका छन्। निगमले हङकङमा साताको एक दिनका दरले गर्दै आएको उडानलाई पनि अहिले निरन्तरता दिएको छ। कतारको दोहा र युएईको दुबईमा साताका सात दिन उडान गर्दै आएको निगमले यसलाई ५ दिनमा झारेको छ। जापानको नारितामा साताको एक दिन उडान गर्दै आएको निगमले अहिले यसलाई बढाएर साताको ३ दिन बनाएको छ।

नयाँ गन्तव्य खोज्ने क्रममा निगमले यही वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गरेको छ। रियादमा निगमले अहिले सातामा दुईवटा उडान गरिरहेको छ। यस्तै निगमले साउदी अरबियाको जेद्दा र दम्मामा पनि उडान अनुमति पाएको र चाँडै सुरु गर्ने तयारीमा छ। प्रतिवेदन अनुसार निगमले उपलब्ध जहाजलाई सकेसम्म धेरै प्रयोग गर्न अरू नयाँ गन्तव्य पनि खोजी गरिरहेको छ।

यसक्रममा चीनको ग्वाञ्झाउ र कोरियाको सिओलमा उडान विस्तार गर्ने व्यावसायिक योजना तयार पारेको छ। प्रतिवेदन अनुसार विदेशी उडानमा गतिविधि बढाएको निगमले आन्तरिक गन्तव्य विस्तारमा पनि जोड दिएको छ। गत वर्ष सुदुर पश्चिमी क्षेत्रका पहाडी भूभागमा बाढी र पहिरो हुँदा उद्धार उडान गरेको निगमले अहिले ती क्षेत्रहरूमा नियमित उडान गर्न सुरु गरेको छ।

निगमले धनगढी र नेपालगञ्जलाई आधार बनाएर बझाङ, डोटी, अछाम, बाजुरा लगायतका जिल्लामा उडान सुरु गरेको हो। यसले दुर्गम ग्रामीण क्षेत्रमा बस्ने सर्वसाधारणलाई हवाई उडानको सुविधा मिलेको छ। निगमले आन्तरिक उडान विस्तार गर्ने क्रममा काठमाडौं–ईलाम–काठमाडौं नियमित उडान गर्ने तयारी पनि थालेको छ। निगमको ट्विनअटर ९ एन–एबिटी बिमानले ०७८ पुस २६ मा ईलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरेको थियो।

यस्तै निगमले काठमाडौंबाट थामखर्क, खानीडाँडा, भोजपुर, ईलाम, फाप्लु, ताप्लेजुङ, दाङ, नेपालगञ्जमा नियमित उडान गरिरहेको छ। धनगढी, डोटी, साँफेबगर, बाजुरा र बझाङमा पनि उडान भर्दै आएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चाल भएपछि निगमले पनि आफ्ना उडान सञ्चालन गर्ने तयारी गरेको छ। निगमले व्यवसायिक गतिविधि बढाउने उद्देश्यले विश्वका प्रसिद्ध वायुसेना कम्पनीसँग टाई अप फेयर सहकार्यमा अन्तरमहादेशीय टिकट बिक्री गरिरहेको छ।

यसले निगमको सिधा उडान नहुने देशहरूमा यात्रा गर्नेहरूलाई सुविधा पुग्ने छ। युरोपका विभिन्न सहरहरू अष्ट्रेलिया, दक्षिण कोरिया, ईजरायल लगायतका देशहरूमा उडान गर्ने २१ वटा कम्पनिसँग यस्तो सम्झौता गरिएको हो। यो सम्झौताले कार्गो उडानमा पनि सहयोग पुग्नेछ। आफ्नो ६३ वर्षे इतिहासमा निगमले पहिलो पटक डिजी सर्टिफिकेट (डेन्जरियस गुड्स) को प्रमाणपत्र पाएको छ।

यो प्रमाण पत्र पाएपछि निगमले दुबई, हङकङ, दिल्ली र नारिता जस्ता उडान क्षेत्रबाट उडान सुरक्षालाई असर नपार्ने खतराजन्य पदार्थहरू ओसारपोसार गर्न पाउने छ। यसले निगमको आर्जन गर्ने बाटो खुलाएको छ। अब नेपाली व्यवसायीले निगमका जहाजबाटै कम्प्युटर, मोबाईल जस्ता ब्याट्रियुक्त सामान ल्याउन सक्छन्। निगमले यो सुविधाबाट वार्षिक २ करोड भन्दा बढी आय थपिने अनुमान गरेको छ।

यस्तै निगमले नेपाली सेनाका जवानहरू संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति सैनिक मिसनमा जाँदा निगमकै विमान चार्टर गरी जाने व्यवस्था गर्न पनि प्रयास गरेको छ। यसका लागि निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरेको छ। निगमले आफ्नो १० वर्षे व्यावसायिक योजना अनुरूप यो वर्ष आन्तरिकतर्फ दुई किसिमका ५ थान जहाज खरिद गर्ने योजना बनाएको छ।

आन्तरिक उडानमा विमान थपिएपछि लुक्ला, पोखरा, जोमसोम र भैरहवामा उडान सेवा थप गरिनेछ। यस्तै आगामी वर्ष आन्तरिक तर्फ ४ थान जहाज थप्ने योजनामा रहेको निगमले अन्तर्राष्ट्रिय उडानका लागि पनि तीन वटा जहाज किन्ने लक्ष्य राखेको छ। अन्तर्राष्ट्रिय उडानमा निगमले एउटा वाइडबडी र अर्का २ वटा न्यारोबडी जहाज किन्ने छ।

यी जहाज थपेपछि निगमले दक्षिण कोरियाको सिओल, चीनको ग्वाञ्झाउ र संघाई, श्रीलंकाको कोलम्बो, भारतको अहमदावाद, जर्मनीको फ्र्याङ्कफर्ट, अष्ट्रेलिया र इन्डोनेसियामा उडान सुरु गर्ने छ। प्रतिवेदनअनुसार पछिल्लो समय निगमको वित्तीय अवस्थामा पनि केही सुधार आएको छ। अहिले निगमसँग एक अर्ब ३३ करोड ९९ लाख रूपैयाँ नगद मौज्दात छ।

६ महिनाअघि यस्तो मौज्दात ५८ करोड ५ लाख रूपैयाँ मात्र थियो तर अहिलेको व्यवस्थापनले पनि निगमको पुरानो कर्जा तिर्न भने सकेको छैन। न्यारो र वाइडबडीका ४ जहाजका साथै चिनियाँ जहाज खरिद गर्दा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट कर्जा लिएको थियो।

यस्तो कर्जा अहिले सावाँ व्याजसहित ४७ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ। यो कर्जा तिर्न निगमले एउटा कोष स्थापना गरेको छ। यो कोषमा निगमले गरेको आम्दानीको ३० प्रतिशत हिस्सा राखिने र यसैबाट कर्जा भुक्तानी गर्ने योजना निगमको छ।

प्रकाशित: २ जेष्ठ २०७९ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App