१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

जेठको अन्तिम साता ताप्लेजुङमा पाँच दिने औद्योगिक तथा पर्यटन मेला हुने

आउँदो जेठको अन्तिम साता ताप्लेजुङमा पाँच दिने औद्योगिक तथा पर्यटन मेला आयोजना गरिएको छ। प्रदेश १ सरकारको श्रम, उद्योग तथा रोजगार मन्त्रालय, फुङ्लिङ नगरपालिका र घरेलु कार्यालय ताप्लेजुङको सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले मेलाको आयोजना गरेको हो।

महासंघका जिल्ला अध्यक्ष राजेन्द्र भारतीका अनुसार जेठ २६ देखि ३१ गतेसम्म ५ दिने मेलाको आयोजना गरिएको छ। लघु तथा साना उद्योग र उद्यमीलाई प्रोत्साहन, उत्पादित वस्तुको बजारीकरण तथा खरिद बिक्रीमा सहजीकरण र स्थानीय उत्पादनको प्रवर्द्धन र प्रचारप्रसारका लागि मेलाको आयोजना गरिएको हो। मेलामा डोको र गजेरा बुन्ने प्रतियोगितादेखि ढाका अल्लो कपडा तथा फेसन सोसम्मका कार्यक्रम सञ्चालन हुने भएका छन्।

ढाका, राडीपाखी, खाँडी कपडा, गलैंचा र झोला लगायतका उत्पादनहरु, हाते काग, काठका उत्पादन, बाँस तथा निगालोका उत्पादन, छालाजुत्ता र फाम तथा फलामजन्य सामग्रीको उत्पादनलाई प्रदर्शनी गरिने छ। यस्तै छुर्पी, अचार, ललिपप, केण्डी लगायतका खाद्यजन्य उत्पादनहरु समेत प्रदर्शनी गरिने घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले जनाएको छ।

मेलामा खाद्य परिकार स्टल, स्थानीय मौलिक झाँकी र लोकसाँस्कृतिक कार्यक्रम, कृषि प्रदर्शनी, औद्योगिक अन्तर्क्रिया, औद्योगिक लेख, रचना वाचन प्रतियोगिता, औद्योगिक फोटो प्रदर्शनी कार्यक्रम समेत आयोजना गरिएको छ। घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङका अनुसार मेलाका लागि १६ लाख ८५ हजार रुपैयाँ खर्च हुनेगरी लागत प्रस्ताव तयार पारिएको छ।

कूल लागत अनुमानमध्ये घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले कूल लागतको २५ प्रतिशत अर्थात् ४ लाख २१ हजार २ सय ५० रुपैयाँ व्यहोर्ने र १२ लाख ६३ हजार ७ सय ५० रुपैयाँ सहयोगी निकायबाट संकलन गर्नुपर्ने आयोजक संस्थाले ठम्याएको छ।

मेलाले लघु तथा साना उद्योग र उद्यमीलाई टेवा प्रदान र उत्पादित वस्तुको बजारीकरणमा सघाउ पुर्‍याउने घरेलु तथा साना उद्योग महासंघले विश्वास लिएको छ।

प्रकाशित: २२ वैशाख २०७९ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App