२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सिन्धुलीको भिमानमा चार करोड लगानीमा बन्यो नमुना बसपार्क

सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा बनेको नमुना बसपार्क। तस्बिर:अनिल/नागरिक

सिन्धुलीमा नमुना बसपार्क निर्माण भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा जिल्लाकै व्यवस्थित नमुना बसपार्क बनेको छ। शहरी विकास तथा भवन कार्यालय सिन्धुलीको चार करोड १५ लाख रुपैयाँ बजेटमा जिल्लाकै नमुना बसपार्क बनेको हो।  

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले बसपार्क बनाएको हो। विपी राजमार्ग र निर्माधिन रहेको मदनभण्डारी राजमार्गको संगमस्थल सिन्धुलीको भिमान खोला नजिकै सिन्धुली जिल्लामै पहिलोपटक नमुना बसपार्क बनेको हो। 

बनेपा-सिन्धुली बर्दिबास राजमार्ग अन्तर्गत सिन्धुली बर्दिबास सडक खण्डको भिमानमा मदनभण्डारी राजमार्ग निर्माणभएसँगै यातायातको चहलपहल बढेपछि बसपार्क आवश्यक देखिएको स्थानीय बताउछन्।  विपी राजमार्ग र मदनभण्डारी राजमार्गको संगमस्थल भिमानमा बसपार्क निर्माण भएसँगै चहलपहल बढेको छ। 

बसपार्क निर्माण भएसँगै मदनभण्डारी राजमार्ग र विपी राजमार्ग भएर सञ्चालन हुने यातायातका साधनलाई प्रत्यक्ष सेवा पुग्ने स्थानियको विश्वास छ। जिल्लाकै महत्वपुर्ण स्थानमा नमुना बसपार्क निर्माण भएको र यहि आर्थिक वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य रहेको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले जनाएको छ। 

निर्माणको अन्तिम चरणमा रहेको बसपार्कको लक्ष्य भन्दा अगाडिनै प्रगति भएको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीको प्रमुख दुर्गा घिमिरेले जानकारी दिए। सामान्य सरसफाई बाहेक इन्टमेट अनुसारको काम सम्पन्न भइसकेको प्रमुख घिमिरेको भनाई छ।  

जिल्लामै पहिलो पटक निर्माण भएको व्यवस्थित नमुना बसपार्कमा साना ठूला गरि एक सय सवारी साधन पार्क गर्न मिल्ने क्षमता छ। बसपार्क भित्र टिकट काउन्टरसहित बसपार्क सञ्चालन समितिका लागि सुविधासम्पन्न आवास भवन, धार्मिक आस्था राख्नेका लागि पुजा गर्ने व्यवस्थाका लागि मन्दिर मन्दिर, यात्रु प्रतिक्षालय, सुविधासम्पन्न शौचालय, आकस्मिकरुपमा सवारीमा समस्या आउँदा गाडी मर्मत गर्ने मर्मतस्थल तथा फुटपाथसहितको सुविधा सम्पन्न बसपार्क निर्माण भएको प्रमुख घिमिरेको भनाई छ। निर्माणको अन्तिम चरणमा रहेको बसपार्ककोबीच भागमा फुलको बगैचा र चौतारो निर्माण गर्ने योजना अनुसार डिजाइन भएको छ। 

बसपार्क निर्माणसँगै भिमानमा शहरीकरण बढ्ने र थप चहलपहल हुने स्थानीय एवम् सोही बसपार्क निर्माणका प्राविधिक सिमा खड्काको भनाई छ। उनका अनुसार बसपार्क निर्माण भएसँगै भिमान क्षेत्रका स्थानीयको जिवनस्तर उकास्न समेत बसपार्कले टेवा पुर्‍याउने छ। विपी राजमार्गबाट आउने सवारी साधन तथा मदनभण्डारी राजमार्गबाट ओहोरदोहोर गर्ने सवारी साधनलाई भिमान बसपार्कले थप सेवा दिने स्थानीयको भनाई छ। बसपार्कलाई थप सौन्दर्यीकरण गर्नुपर्ने आवश्यक रहेको तर हालको ठेक्का सम्झौतामा नभएकाले आगामी आर्थिक वर्षमा बसपार्क सौन्दर्यीकरणको कार्यक्रम समेत राखिने कार्यालयले जनाएको छ।

प्रकाशित: २२ वैशाख २०७९ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App