१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

कोरोनापछि सबैभन्दा बढी पर्यटकः बोर्ड

नेपाल पर्यटन बोर्डले कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरी विदेशी पर्यटकको आगमनमा वृद्धि भएको बताएको छ।

अप्रिलमा भित्रिएका ५८ हजार ३ सय ४८ जना विदेशी पर्यटक कोरोना संक्रमण सुरु भएपछिको सबैभन्दा ठूलो संख्या हो।  

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले गत मार्चको तुलनामा अप्रिलमा ३८ प्रतिशतले आगमन बढेको जानकारी दिए। ‘विदेशी पर्यटक आगमनको गति अघि बढिरहेको छ। केही दिनपछि हुने स्थानीय तहको निर्वाचनका कारण यो महिना (मे) मा आगमन केही घट्न सक्छ। उनले भने– ‘कोरोनाले थलिएको पर्यटन क्षेत्रमा विदेशीको यो आगमनले राहत दिने अपेक्षा छ।’

कोरोनाले सबैभन्दा बढी प्रभावित पारेको २०२० को अप्रिलको आगमन संख्या जम्मा १४ थियो। करिब शून्यमा झरेको पर्यटन क्षेत्रले छोटो समयमै गति लिने संकेत यो आगमनले देखाएको लामिछानेको भनाइ छ। कोरोनाको प्रभाव नरहँदा २०१९ को अप्रिलको आगमन भने १ लाख ९ हजार ३९९ रहेको थियो।

निर्देशक लामिछानेका अनुसार २०१९ को तुलनामा २०२२ को अप्रिलमा नेपालमा पर्यटक आगमनमा ५३ प्रतिशत ‘रिभाइभ’ भएको छ। ‘कोरोना संक्रमण कम रहेकाले अब नेपालमा विदेशीको आगमनमा वृद्धि हुने संकेत देखिएको छ। अहिले आगमनको ग्राफ पनि उकालो लागिरहेको छ,’ लामिछानेले भने– ‘कोरोना संक्रमणले पर्यटन क्षेत्रमा सबैभन्दा बढी मार परेको थियो। अब त्यो आगमन सुधार हुने देखिएको छ। व्यवसायीले पनि पाहुना पाउन थाल्दा सहज ठानेका छन्।’

प्रकाशित: २० वैशाख २०७९ ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App