२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘अर्थतन्त्र संकटग्रस्त अवस्थामा’

देशको अर्थतन्त्र संकटग्रस्त अवस्थातिर गइरहेको भन्दै सरकारले अर्थतन्त्र सुधार्न मा ध्यान केन्द्रित गर्न सुझाएका छन्।

नेपाल बुद्धिजीवी परिषद्ले बिहीबार राजधानीमा आयोजित विज्ञहरूको अन्तक्र्रिया कार्यक्रमको अवसरमा उनीहरूले यस्तो सुझाएका हुन्। नेपाल बुद्धिजीवि परिषद्द्वारा आयोजित ‘अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपाय’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरूले यस्तो सुझाएका हुन्। 

वक्ताहरूले समयमै अर्थतन्त्र सुधारको बाटोमा नगएमा श्रीलंकाको अवस्था आउने चेतावनी दिए। कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रका अधिकांशसूचक रातोमा गएकोले मुलुक गम्भीर संकटमा धकेलिएको बताए।

उनले सरकारले अर्थतन्त्र सुधारको कामको सट्टा अन्य काममा जाने प्रवृत्ति बढेको भन्दै सुधारको उपाय अवलम्बन सुझाए। उनले सरकारले फजुल खर्च रोक्न, विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न, पुँजीगत खर्च बढाउन, नीतिगत रूपमा भएका सेटिङ रोक्न र राष्ट्र बैंकमाथिको हस्तक्षेप रोक्न आग्रह गरे।

सोही क्रममा पूर्वगर्भनर तथा योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले आर्थिक विकासको वातावरण बनाउन पार्टीहरू गम्भीर नभएको बताए। बेरुजुको मात्रा बढेको, सुशासन कायम हुन नसकेको, पुँजीगत खर्च नबढेको बताउँदै क्षेत्रीले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय हुनुपर्ने सुझाव दिए।

कृषि क्षेत्रमा उत्पादकत्व बढाउनका लागि अनुदान किसानको हातमा पुग्नुपर्नेसमेत उनको सुझाव छ। कार्यक्रममा बोल्दै पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताए। वैदेशिक क्रणले गरिएका आयोजनालाई समयमा नै सम्पन्न गर्नुपर्ने बताउँदै खनालले उत्पादनशील क्षमता बढाउन र चालु खर्चमा सन्तुलन ल्याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलले राम्रोसँग काम गरिरहेका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर वर्तमान सरकारले गलत गरेको बताए। राज्यले नै तस्करीलाई प्रोत्साहन गरेको आरोप लगाउँदै डा.रावलले विलासिताका सामान आयातलाई रोकेर निर्यातमूलक वस्तु उत्पादनमा जोड दिनु सुझाए।

यसैगरी, परिषद्का अध्यक्ष तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले समाजवादी अर्थतन्त्र निर्माणका लागि पार्टी भन्दा माथि उठेर बौद्धिक हस्तक्षेप गर्नुपर्ने बताए। साथै उनले राष्ट्रिय पूँजी निर्माण गर्न, छरिएको पूँजीलाई एकीकृत बनाउन, उत्पादन बढाएर आयात घटाउन र समाजवादी अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाश श्रेष्ठले नेपालको अर्थतन्त्रको अहिलेको अवस्थाका बारेमा प्रस्तुति गरे। परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा देवकोटाले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि विलासिताको सामग्री आयतमा रोक लगाई स्थानीय सरकारले कृषि उत्पादनलाई जोड दिन आग्रह गरे ।

प्रकाशित: ९ वैशाख २०७९ ०३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App