१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सर्लाहीमा सञ्चालनमा छन् अवैध क्रसर उद्योगहरू

सुरक्षा संयन्त्रकै मेलोमतोमा सर्लाहीमा अवैध क्रसर उद्योगहरु सञ्चालनमा रहेको पाइएको छ। सर्लाहीको बागमती नदीमा नियम विपरीत अवैध क्रसर उद्योगहरु सञ्चालनमा रहेको भए पनि सुरक्षा संयन्त्रले आँखा चिम्लेको जस्ताे देखिएको छ।

सर्लाहीको बसबरिया गाउँपालिका १ मानपुर टोलमा अवस्थित भैसासुरघाटको बागमती नदीमा कानुन विपरीत तीन वटा अवैध मोबाइल क्रसर सञ्चालनमा रहेको पाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रगाद यादवको समेत मिलोमतोमा बागमती नदी दोहन भइरहेको बुझिएको छ। तत्कालीन जिल्ला विकास समितिले बागमती नदीबाट ढुङ्गा, गिटी, बालुवा र ग्राभल निकासी गर्न ४० लाखमा ठेक्कामा लगाउने गरेको थियो। तर नयाँ संरचनामा आएपछि बसबरिया गाउँपालिकाले जिबिसकै आइइलाई आधार मानेर कानुन विपरीत बागमतीको ठेक्का लगाएर केही निर्माण व्यवसायीको मिलोमतोमा नदीमै अवैध मोबाइल क्रसर सञ्चालन गरेर दोहन गरिरहेको पाइएको हो।  

बसबरिया गाउँपालिकाले भैसासुर बाबा कन्स्ट्रक्सन मानपुर ५ सर्लाहीलाई १३ लाखमै बागमती नदीको ठेक्का दिएको छ। गापाका प्रमुख प्रशासकीय अधिकृत यादवले कन्स्ट्रक्सनका सञ्चालक राम ज्ञान रायलाई मिलोमतोमा सस्तोमा ठेक्का दिएका छन्। राम ज्ञानको नाममा रहेको भैसासुर कन्स्ट्रक्सनले पाएको ठेक्कामा स्थानीय सबै राजनीतिक दलका प्रतिनिधिहरुको पनि शेयर रहेको छ। सबै राजनैतिक दलको मिलोमतोमा सस्तोमा नै ठेक्का दिइएको स्रोतको दाबी छ। 

बागमती नदी अवैध रुपमा दोहन गर्न र मोबाइल क्रसर सञ्चालन गर्नको लागि गाउँका करिब ५० जना भन्दा बढी हुनेखानेहरुको शेयर रहेको छ। ती सबै गाउँले अवैध दोहनमा सामेल भएपछि कोही गाउँलेले अवैध क्रसर सञ्चालनको विरोध गरेका छैनन्। स्थानीय सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिटलाई मिलाएर बागमती नदीमै दिनदहाडै अवैध मोबाइल क्रसर लगाएर खोला दोहन भैरहँदा कोही चुँसम्म बोल्न सकेका छैनन्।

बसबरिया गाउँपालिका १ का वडा अध्यक्ष शिबु राय यादवले खोलामा अवैध मोबाइल क्रसर र दोहनको बिषयमा गाउँपालिकाको बोर्ड बैठकमा पटक पटक आवाज उठाउँदा पनि सम्बन्धित पक्षले मेरो आवाज नसुनेको जस्तो गरेर दोहन कार्यलाई बढावा दिइरहेको बताउँछन्। वडाध्यक्ष शिवु थप्छन्, 'हाम्रो वडाको बागमती नदीको भैसासुर घाटमा भइरहेको दोहनप्रति कोही बोल्दैन, केन्द्रसम्मको मिलोमतो रहेको कारण दोहन गर्नेको मनोबल झन् बढदै गएको आरोप लगाएका छन्।'

सर्लाही र रौतहट जोडने बागमती नदीको समनपुर, रमौली र चन्द्रनिगाहपुरको पौराइमा मेशिन लगाएर नै खोला दोहन भइरहेको छ। सर्लाहीको राजघाट घाटमा पनि बागमतीमा अवैध रुपमा मेसिन प्रयोग गरेर खोला उत्खनन भइरहेको छ।

राजघाटमा सर्लाहीको स्थानीय प्रशासनको मिलोमतोमा बागमती नदीमा दुई वटा एक्जाभेटर लगाएर उत्खनन कार्य तीव्र बनेको छ। स्थानीय नगरपालिका र गाउँपालिकालाई स्थानीय स्तरमा विकास निर्माण गर्न खोला नदीमा मेसिन प्रयोग गर्ने इजाजत दिए पनि विकास निर्माण स्थलमा उत्खनन भएको माल वस्तु स्थानीय पालिकाको निर्माणमा प्रयोग भइरहेको छैन। खोला दोहन गरेर रौतहट र सर्लाहीमा सन्चालित दर्जनौ अवैध क्रसरहरुको खोलाजन्य पदार्थ निर्वाध रुपमा अन्यत्र गइरहेको देखिएको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई खोला दोहन र अवैध क्रसरको बिषयमा पटकपटक जानकारी गराए पनि मौन बसेका छन्। प्रजिअ गौतमले खोलामा अवैध दोहन, उत्खनन तथा मोबाइल क्रसरको बिषयमा जानकारी प्राप्त भएको बताउँदै तत्काल रोक्नका लागि सुरक्षा निकायलाई निर्देशन दिएको बताएका छन्।

बसबरिया गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले ठेक्का प्रक्रियामा आफ्नो कमजोरी भएको स्विकार्छन् तर बागमती नदीमा अवैध मोबाइल क्रसर सञ्चालन गर्न निर्देशन नदिएको बताउँछन्। खोलाको आइइ बिषयमा नागरिकन्युजले सोधेको प्रश्नको जवाफमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादवले तत्कालीन जिविसको आइइलाई आधार मानेर बागमती नदीको ठेक्का लगाएको स्वीकार गरेका छन्।  

सर्लाही र रौतहट दुवैतिरबाट बागमती नदीमा अवैध क्रसर उद्योग सञ्चालन तथा जथाभावी नदी उत्खनन भइरहेको रौतहटको गढीमाई र बृन्दावन नगरपालिकामा भने रोकिएको छ। एक हप्तादेखि स्थानीय प्रशासनले निगरानी बढाएपछि अवैध उत्खनन र दोहन रोकिएको हो।

प्रकाशित: ८ वैशाख २०७९ १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App