कोशी प्रदेशमा हालसम्म १५ प्रतिशत रोपाइँ भएको छ। कोशी प्रदेश कृषि निर्देशनालयको असार १२ गतेको तथ्यांक अनुसार कोशी प्रदेशमा १५.३३ प्रतिशत रोपाइँ भएको छ।
निर्देशनालयका सूचना अधिकारी टोनी वर्देवाका अनुसार कोशी प्रदेशको उच्च पहाड र तराई क्षेत्रको तुलनामा मध्य पहाडी क्षेत्रमा रोपाइँ बढी भएको छ। उच्च पहाडी क्षेत्रका जिल्लाहरूमा १०.९१ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
यस्तै मध्ये पहाडी क्षेत्रका जिल्लाहरूमा २७.१४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। यस्तै तराई क्षेत्रका जिल्लाहरूमा ११.५४ प्रतिशत मात्रै रोपाइँ भएको छ। उच्च पहाडी क्षेत्रमा प्रयाप्त बर्षा नभएको र तराई क्षेत्रमा भर्खर रोपाइँको सिजन सुरू भएकाले न्यून रोपाइँ भएको निर्देशनालयले जनाएको छ।
जिल्लागत रुपमा हेर्दा ताप्लेजुङमा ११.५० प्रतिशत, संखुवासभामा १० र सोलुखुम्बुमा १४.५४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। यस्तै पाँचथरमा ४१, इलाममा १३, भोजपुरमा ६८, तेह्थुममा २८.१९, धनकुटामा १४,उदयपुरमा १०.१३,ओखलढुंगामा ११.३२ र खोटाङमा २०.०२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
यस्तै झापामा ६.१३,मोरङमा १५ र सुनसरीमा १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। कोशी प्रदेशमा कुल खेतियोग्य क्षेत्रफल ८ लाख २६ हजार ६ सय ४६ हेक्टर रहेको छ। जसमा धानलगाउने क्षेत्रफल २ लाख ७६ हजार ३ सय ८६.७२ हेक्टर रहेको छ। जसमध्ये हालसम्म ४२ हजार ३ सय ५७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष असार १३ गते सम्म कोशी प्रदेशमा १४.२५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो।
प्रकाशित: १३ असार २०८३ ०८:२० शनिबार





