६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

ऊर्जामन्त्री भुसालसँग एडिबीका उपाध्यक्षको भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष सिचीन छिनले शिष्टाचार भेटवार्ता गरेका छन्।

सोमबार मन्त्रालयमा भएको भेटवार्तामा एडिबीको लगानी रहेको ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे छलफल भएको थियो। मन्त्री भुसालले आगामी दिनमा ऊर्जा उत्पादन र वितरणमा महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरिन्।

ऊर्जा एवं सिँचाइका क्षेत्रको विकासबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा अन्तर्राष्ट्रिय निकायसँग सहयोगको अपेक्षा गरेको बताइन्। ‘नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य भएर विद्युत् व्यापार सुरु भइसकेको छ’, उनले भनिन– ‘नेपालका ठूला आयोजना सम्पन्न गरेर क्षेत्रीय स्तरमा व्यापार गर्न सकिने नीतिगत बाटो खुलेको छ।’ मन्त्री भुसालले सरकारले बङ्गलादेश, भुटान, भारत र नेपालमाझ ऊर्जा व्यापार गर्ने नीतिगत समझदारी गरेर अघि बढ्ने तयारीमा जुटेको बताइन्।

‘केही वर्षभित्रै हामीले ती देशमा विद्युत् निर्यात गर्ने अवस्था आउँछ’, उनले भनिन– ‘आगामी दिनमा देशभर बाह्रै महिना गुणस्तरीय विद्युत् उपलब्ध गराउने गरी काम गरिरहेका छौं।’ मन्त्री भुसालले जलाशययुक्त जल विद्युत् आयोजनामा लगानी गर्न एडिबीलाई आग्रह गरिन्।

उनले पूर्व–पश्चिम प्रशारण लाइन निर्माणमा पनि एडिबीको सहयोग विस्तार हुने विश्वास व्यक्त गरिन्। एडिबीका उपाध्यक्ष छिनले नेपालले ऊर्जा क्षेत्रमा महत्वपूर्ण काम गरेको र अन्तरदेशीय विद्युत् व्यापार नेपालका लागि महत्वपूर्ण भएको उल्लेख गरे।

‘भारतसँग ३६५ मेगावाट विद्युत् व्यापार गर्ने सहमति नेपालका लागि महत्वपूर्ण खुड्किलो हो, यसले आगामी दिनमा फड्को मार्ने मैले विश्वास गरेको छु’– उनले भने। जलविद्युत् र जलस्रोतका क्षेत्रमा एसियाली विकास बैंकले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै अध्यक्ष छिनले एडिबीको लगानी रहेका महत्वपूर्ण १० वटा आयोजनाहरूको कार्यान्वयन अवस्थालाई आफूहरूले नियालिरहेको बताए। उनले विद्युत्को आन्तरिक खपतमा जोड दिन सुझाव दिँदै कोइलाबाट सञ्चालन भएका उद्योगलाई पनि विद्युत्ले प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ६ वैशाख २०७९ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App