७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

होटल संघ पोखराले रेवानकै शैलीमा सडक महोत्सव गर्ने

होटल संघ पोखराले नेपाली नयाँ वर्षको अवसरमा सडक महोत्सव गर्ने भएको छ। यसअघि फेवा नववर्ष महोत्सव गर्दै आएको होटल संघ पोखराले रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा सडक महोत्सव गर्ने भएको हो।  

रेवान पोखराले हरेक अंग्रेजी नयाँ वर्षमा ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ। होटल संघ पोखराले पनि यस वर्ष नेपाली नयाँ वर्षको अवसरमा यही चैत ३० गतेदेखि वैशाख १ गतेसम्म सडक महोत्सव गर्ने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। होटल संघले यसअघि कोमागाने पार्कमा महोत्सव आयोजना गर्ने गरेको थियो। तर यस वर्षदेखि रेवानकै शैलीमा लेकसाइडको तीन किलोमिटर क्षेत्रमा सडक महोत्सव गर्ने तयारी गरेको छ।

‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ हुने महोत्सव कोभिडका कारण थला परेको पर्यटन पुनरुत्थान गर्ने उद्देश्यले गर्न लागिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। उनका अनुसार महोत्सवको उद्घाटन दिन खहरेचोक र ड्यामसाइड गरेर दुई ठाउँबाट एकैपटक र्‍याली निस्केर लेकसाइडको मध्य क्षेत्र अम्बोटमा आएर उद्घाटन समारोहमा परिणत हुनेछ।

महोत्सव उद्घाटनका लागि दुवै क्षेत्रबाट आमा समूह, क्लबलगायतको सहभागितामा झाँकीसहित र्‍याली निस्किनेछ। महोत्सवको मुख्य आकर्षणका रूपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, ख्यातिप्राप्त कलाकार तथा स्थानीय कलाकारहरूको प्रस्तुति, लोकदोहोरी, हास्यव्यंग्य, नृत्य, लाइभ कन्सर्टलगायत रहने जनाइएको छ। लेकसाइडका तीन किलोमिटर क्षेत्रमा रहेका होटलहरूले होटलबाहिरै निकालेर स्टल राख्नेछन् भने त्यहाँ दर्शकले अवलोकन गर्नुका साथै आफूले चाहेअनुसारको स्वाद लिन पाउनेछन्।

महोत्सव हुने दुई दिन अम्बोट र सेन्टर प्वाइन्ट चोकमा दुईवटा ठूला स्टेज बनाइनेछ। जहाँ हरेक दिन दिउँसो लोकदोहोरी, हास्यव्यंग्य, नृत्य र लाइभ पप कन्सर्ट आयोजना हुनेछन्। यसअघि एउटा मात्रै स्टेजमा हुने गरेको कार्यक्रम यस वर्ष दुई स्टेजमा हुने अध्यक्ष सुवेदीले बताए।

त्यस्तै, महोत्सव हुने तीन किलोमिटर क्षेत्रमा पर्ने ६ वटा चौतारीमा पन्चेबाजा, रत्यौली, भजन, चुड्कालगायत कार्यक्रम हुने जनाइएको छ। महोत्सवको अवसरमा होटल संघले आफू मातहतका होटलमा ३० प्रतिशत छुट दिने घोषणा गरेको छ। संघका अध्यक्ष सुवेदीले संघमा आबद्ध होटलहरूले छुट दिने व्यवस्था मिलाइएको बताए। त्यस्तै, रेस्टुरेन्ट तथा बारहरूले पनि अहिलेको भन्दा शुल्क नबढाउने प्रतिबद्धता जनाएको उनले जानकारी दिए।

संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले कोभिडबाट थलिएको पर्यटन पुनरुत्थान गर्न महोत्सव कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे।

संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले पर्यटनमा कोभिडको असर परे पनि पछिल्लो क्रममा पर्यटन पूर्वाधार थपिएकाले पर्यटकको बसाइ लम्बिने स्थिति बनेको बताए। त्यसमा महोत्सवले पर्यटक आगमनमा वृद्धि ल्याउने उनको भनाइ छ।

प्रकाशित: २४ चैत्र २०७८ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App