coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भक्तपुरमा देशकै ठूलो तरकारी बजार, केपी ओलीबाट उद्घाटन हुने

भक्तपुरमा देशकै सबैभन्दा ठूलो आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आएको छ।

तरकारी बजारको चैत १६ गते बुधबार पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन गराउने कार्यक्रम तय गरिएको छ। सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषिबजार जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ८ आदर्श सिपाडोल क्षेत्रमा रहेको छ।

भक्तपुरकै मुख्य सूर्यविनायक चोक नजिकै दक्षिण पूर्वमा यो बजार रहेको छ। बजारमा दुई वटा द्धारहरु रहेका छन्। एउटा अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट करिब दुई/तीन सय मिटर पूर्व अरनिको राजमार्गबाटै र अर्काे अरनिको राजमार्ग अन्तर्गत आदर्श बस स्टपबाट माथि सिपाडोल जाने मुख्य बाटोमै रहेका छन्।

आधुनिक रुपमा सञ्चालन गरिएको बजारमा सवारी साधन पनि एकतर्फी रुपमा सञ्चालन गर्ने व्यवस्थान गर्न दुई वटा द्धार राखिएको जनाइएको छ। कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको जनाएको छ।

कृषि बजार भित्रसम्म तरकारी पुर्‍याउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ। सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले यो ३२ करोड लगानीमा नेपालमै अहिलेसम्मको सबैभन्दा ठूलो व्यवस्थित कृषि बजार रहेको दावी गरे।

बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भएता पनि स्थानीयको लागि खुद्रा बिक्री पनि गर्ने अध्यक्ष प्रसाईले जनाए। तरकारी बजारको निर्माण कार्य २०७५ सालको फागुनदेखि सुरु गरिएको थियो। बजार अरनिको राजमार्ग अन्र्तगत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको जग्गामा रहेको छ।

बजारभित्र साढे सात सय स्टलहरु रहेको छन्। बजार प्रत्येक दिन बिहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने जनाइएको छ। काठमाडौंको कालीमाटी बजार बस्ति भित्र भएको कारण त्यहाँ गाडी भित्र लान बेलुकीसम्म कुर्नु पर्ने भएकोले तरकारी कुहिने सम्भावना धेरै भएको तर यहाँं त्यस्तो समस्या नआउने बताइएको छ।

पूर्वी नाकाबाट आउने सबै तरकारीहरु पुर्‍याएर यहीबाट काठमाडौंलगायतका ठाउँंहरुमा पुर्‍याउन सकिने जनाइएको छ। जग्गा १५ वर्षका लागि लिजमा लिइएको जनाइएको छ। कृषकहरुको बाहुल्यता रहेको जिल्लामा अहिलेसम्म व्यवस्थित कृषि बजार बन्न सकेको थिएन।

प्रकाशित: १३ चैत्र २०७८ ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App