२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आजदेखि लोडसेडिङ हुँदैनः कुलमान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार रातिदेखि नै औद्योगिक क्षेत्रमा लोडसेडिङ नहुने दाबी गरेका छन्। घिसिङले बिहीबार पत्रकार सम्मेलन गरी भारतबाट प्रतियुनिट ३८ रूपैयाँको दरले सात हजार मेगावाट आवर बिजुली आयात गरेर भए पनि उद्योगधन्दालाई आपूर्ति गर्ने बताए। ‘लोडसेडिङ हुँदैन, हुन पनि दिँदैनौं,’ उनले भने, ‘यो अल्पकालीन क्राइसिस हो। सधैं यस्तै अवस्था पनि रहँदैन।’

कार्यकारी निर्देशक घिसिङले विश्वभर भएको ऊर्जा संकटले नेपालमा बिजुली आयातमा समस्या देखिएको दाबी गरे। ‘अहिले इमिडिएट क्राइसिसको इफेक्ट हो। यो क्राइसिसको समस्या बढीमा डेढ महिनासम्म मात्रै कायम रहला,’ उनले भने, ‘जेठदेखि नेपालका नदीनालामा पानीको सतह बढेसँगै भारतबाट आयात गर्नुपर्ने बिजुलीको मात्रा स्वाट्टै घट्नेछ ।’ प्राधिकरणले असार लागेसँगै दैनिक चार सय मेगावाटभन्दा धेरै बिजुली भारत निर्यात गर्न सक्ने जनाएको छ। ‘असारदेखि त चार सय मेगावाट बिजुली निर्यात गर्न सक्ने अवस्थामा पुग्नेछौं,’ उनले भने।

कार्यकारी निर्देशक घिसिङले बिहीबार राति १२ बजेदेखि कतै पनि लोड सेडिङ नहुने दाबी गरेका छन्। ‘आज राति १२ बजेदेखि कुनै पनि ठाउँमा लोडसेडिङ हुँदैन,’ उनले भने, ‘कुनै पनि उद्योगलाई लोडसेडिङ नहुने गरी व्यवस्थापन गरेका छौं ।’ प्राधिकरणले अहिले नेपालको माग धान्न दैनिक ३०० देखि ३५० मेगावाट बिजुली आवश्यक पर्ने जनाएको छ।

भारतबाट बोलकबोलमा बिजुली किन्ने गरेको तथा मंगलबार र बुधबार प्राधिकरणले प्रस्ताव गरेको मूल्यमा बिजुली नपाएका कारण उद्योगहरूमा लोडसेडिङ गर्नुपरेको उनले जानकारी दिए। प्राधिकरणले १२ भारु प्रतियुनिटका दरले पाइने आसमा सोही अनुसार मूल्य प्रस्ताव गरेको तर भारतीय बजारमा मूल्य अझै माथि रहेकोले माग गरेको आधा बिजुली मात्र पाएको उनले जानकारी दिए। भारतमा सेयर बजारमा जस्तै बिजुली पनि इनर्जी एक्सचेन्ज मार्केटमार्फत किनबेच हुन्छ।

जसले गर्दा छिनको छिन माग र आपूर्तिको आधारमा मूल्य तलमाथि हुने गर्छ। कार्यकारी निर्देशक घिसिङले भारतबाट प्रतियुनिट ३८ रूपैयाँको दरले बिजुली आयात गर्दा दैनिक २०–२२ करोड रूपैयाँ अतिरिक्त खर्च लाग्ने प्रक्षेपण गरेको बताए। ‘यही दरमा ३५ दिनसम्म खरिद गर्दा प्राधिकरणलाई ८ अर्ब रूपैयाँ अतिरिक्त भार पर्ने देखिन्छ,’ उनले भने, ‘समग्रमा यो वर्ष कुल १० अर्ब जतिको बिजुली आयात गर्नुपर्ने देखिन्छ ।’

प्राधिकरणले चालु आवको आठ महिनासम्म छिमेकी भारतबाट करिब चार अर्बको बिजुली आयात गरिसकेको छ। ‘हामीले रातको समयमा त प्रतियुनिट १.९० भारुमा पनि बिजुली किनेका छौं,’ उनले भने, ‘सरदर प्रतियुनिट ३ रूपैयाँ भारुमा समेत किनेका हौं। प्राधिकरण छोटो अवधिमा उद्योग, कलकारखानालाई सहयोग गर्न कै लागि भए पनि महँगोमा खरिद गर्न तयार भएको छ।’ घिसिङले प्राधिकरणले लामो समयसम्म महँगोमा बिजुली किनेर सरदर प्रतियुनिट ९ रूपैयाँमा बेच्न नसक्ने स्पष्ट पारेका छन्। प्राधिकरणले एक साताको लागि महँगो मूल्यमा भए पनि बिजुली खरिद गर्ने वाचा गरेको छ।

प्रकाशित: ११ चैत्र २०७८ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App