coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बागलुङ बजारदेखि प्रसिद्ध कालभैरव मन्दिर बलेवा जाने सडक कालोपत्रे गरिँदै

सदरमुकाम बागलुङ बजारदेखि प्रसिद्ध कालभैरव मन्दिर बलेवा जाने सडक कालोपत्रे गर्न थालिएको छ। 

बागलुङ नगरपालिका वडा नम्बर १३ को काभ्राबोटदेखि जलुकेनीसम्म साढे तीन किलोमिटर सडक कालोपत्रेको शुभारम्भ सोमबार प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठक र बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले संयुक्तरुपमा गरेका हुन्। नेपाल सरकारको समपुरक अनुदान र उक्त नगरपालिकाको साझेदारीमा तीन वर्षअघिदेखि उक्त सडक स्तरोन्नति गरिएको थियो।

साढे पाँच मिटर फराकिलो उक्त सडक कालोपत्रे गर्न जिम्मेवारी पाएको रौताहा कन्ट्रक्सन प्रालिले चैतको अन्तिम सातासम्म सबै काम सकेर सडक हस्तान्तरण गर्ने जनाएको छ।

'अघिल्लो वर्ष नै हामीले यो सडक कालोपत्रेका लागि आवश्यक पूर्वाधार तयार गरेका थियौँ, पहिले कोरोना र बाढीका कारण काम गर्न सकेनाैँ', कम्पनीका साइड इन्चार्ज सुशिल लामिछानेले भने, 'चैत मसान्तसम्मको समय छ, हामीले काम सकेर हस्तान्तरण गर्छौ।' ६०/४० को साझेदारीमा निर्माण भैरहेको सडकका लागि तीन वर्षमा क्रमागत रुपमा रु नौ करोड बजेट बिनियोजन भएकामा  निर्माण कम्पनीले रु छ  करोड नौ लाखमा ठेक्का संझौता गरेको थियो।

'निर्माण कम्पनीको काम गर्ने तरिका हेर्दा तोकिएको समयमा काम सकिन्छ, गत वर्ष कोभिड र बाढीका कारणले समय थप भएको हो, यो वर्ष थप गर्न नपर्ला', नगरप्रमुख जनकराज पौडेलले भने, 'एकैपटक नगरको समेत साझेदारीमा एकै ठाउँमा तीन किलोमिटर लामो सडक कालोपत्रे हुन थालेको यो पहिलो सडक हो।'

गत बर्ष तयार भएको ग्राभेल सडक र आसपासमा लगाइएको पर्खाल असार १ गतेको बाढीले कालीगण्डकीमा पुर्‍याइदिनाका साथै उक्त खण्डमा झरेको पहिरोका कारण लामो समयसम्म सडक अबरुद्ध भएको थियो। सडक मर्मत गरेर कालोपत्रे गर्न थालिएको निर्माण कम्पनीका इन्चार्ज लामिछानेले बताए। 

सडक कालोपत्रे भएपछि भैरवस्थान, मुलाबारी, भकुण्डे भ्यूटावरलगायत पर्यटकीय क्षेत्रमा पुग्न सहज हुनेछ। पाग्जादेखि भैरवस्थानसम्म विभिन्न खण्डमा स्तरोन्नतिको काम भैरहेकाले बाँकी सडक क्रमशः कालोपत्रे गर्न दबाव दिइने नेकपा एमाले नेता कृष्ण पाठकले बताए। रासस

प्रकाशित: ८ चैत्र २०७८ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App