साताको पहिलो दिन आइतबार सेयर कारोबारमा गिरावट आएकामा सोमबार सुधार आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार १४.६७ बिन्दुले गिरावट आएको नेप्सेमा सोमबार १८.०७ बिन्दुले सुधार आएको हो। यो बढोत्तरीपछि परिसूचक २६३४.६५ मा पुगेको छ। यो ०.६९ प्रतिशतको वृद्धि हो। नेप्सेमा सुधार आए पनि कारोबार रकम बढ्न सकेको छैन।
बिहान ११ बजे बजार खुल्दा करिब २६१९ बिन्दुबाट सुरु भएको कारोबारमा लगानीकर्ताले सेयर खरिदमा त्यत्ति धेरै चासो दिएको देखिएन। दिनभर भएको कारोबारमा नेप्से उच्चतम २६३४ बिन्दुसम्म पुगेको थियो भने न्यूनतम २६०१ सम्म झरेको थियो। बजार बन्द हुँदा परिसूचक यही उच्चतम बिन्दु २६३४ मा रोकिएको हो। कारोबार सुरु भएलगत्तै नेप्सेमा केही सुधार देखिए पनि त्यो दिगो रहन सकेन। त्यसपछि नेप्से २६०६ मा झरेकोमा फेरि केही सुधार आएर २६२४ पुगेको थियो। त्यसपछि फेरि घटेर २६०१ मा झरेको हो।
नेप्सेका अनुसार सोमबार नेप्से बाहेकका अन्य तीन सूचकमा पनि सुधार आएको छ। सेन्सेटिभ सूचक १.९२ बिन्दुले बढेको छ भने फ्लोट सूचकमा १.६९ बिन्दुले सुधार आएको छ। यस्तै सेन्सेटिभ फ्लोट पनि १.४८ बिन्दुले बढेको छ। आइतबार नेप्से बाहेकका अन्य तीन सूचक सबैमा गिरावट आएको थियो।
नेप्सेका अनुसार सेयर कारोबारका अन्य १३ उपसूचकमध्ये सोमबार ११ उपसूचक बढेका छन्। दुई उपसूचकमा भने गिरावट आएको छ। कारोबारमा सुधार आउने ११ उपसूचकमध्ये सबैभन्दा बढी जीवन बिमा परेको छ। यसको सूचक १७३ बिन्दुले बढेको हो। यस्तै एक सयभन्दा बढी बिन्दुले बढ्नेमा विकास बैंक परेको छ। यसको उपसूचक १३३ बिन्दुले बढेको हो। फाइनान्स र जलविद्युत् उपसमूहमा पनि ५० बिन्दुभन्दा बढीले सुधार आएको छ। कारोबारमा गिरावट आउने २ उपसमूहमध्ये सबैभन्दा बढी अन्य उपसमूह १३ बिन्दुले झरेको छ भने होटल तथा पर्यटन ४२ बिन्दुले घटेको छ।
आइतबारको कारोबारबाट १३ मध्ये १२ उपसूचक घटेका थिए। त्यस दिन लगानी उपसमूह मात्र बढेको थियो। यो उपसूचक १.४४ बिन्दुले बढेको थियो।
कारोबारमा गिरावट आएका १२ उपसूचकमध्ये सबैभन्दा बढी जीवन बिमा उपसमूह १९७ बिन्दुले घटेको थियो।
नेप्सेका अनुसार सोमबारको कारोबारमा सबैभन्दा धेरै प्रतिसेयर मूल्य बढने कम्पनीमा इमर्जिङ नेपाल परेको छ। यसको सेयर ९.९८ प्रतिशतले बढेको हो। यस्तै प्रतिसेयर मूल्य सबैभन्दा धेरै घट्नेमा राष्ट्रिय बिमा कम्पनीका संस्थापक लगानीकर्ता परेका छन्। यसको सेयर मूल्य ६.७१ प्रतिशतले घटेको हो।
सोमबारको कारोबारमा सबैभन्दा धेरै रकमको कारोबार हुने कम्पनीमा नेपाल टेलिकम परेको छ। यसको २० करोड ९४ लाख ५७ हजार २ सय २९ रूपैयाँका सेयर खरिदबिक्री भएका छन्। यस्तै एपी हाइड्रोको सबैभन्दा धेरै कित्ता सेयर बिक्री भएका छन्। यसका १ लाख ८१ हजार ७ सय ४१ कित्ता सेयर बिक्री भएका हुन्।
आइतबारको कारोबारमा सबैभन्दा धेरै कमाउने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था परेको थियो। यसको सेयर मूल्य १० प्रतिशतले बढेको थियो। यस्तै इमर्जिङ नेपालको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको थियो। आइतबारको कारोबारबाट सबैभन्दा धेरै गुमाउनेमा राष्ट्रिय बिमा कम्पनी परेको थियो। यसको यसको सेयर मूल्य प्रतिकित्ता ५.८८ प्रतिशतले घटेको थियो। यस्तै रकमका आधारमा सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको थियो। यसको १६ करोड २९ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै नेपाल बैंकको सबैभन्दा धेरै सेयर बिक्री भएको थियो। यसका १ लाख ७५ हजार ९ सय ६८ कित्ता सेयर बिक्री भएका थिए।
नेप्सेका अनुसार सोमबार २३१ कम्पनीका ५१ लाख ८९ हजार ८३ कित्ता सेयर किनबेच भएका थिए। यी सेयर खरिद गर्न २ अर्ब ५९ करोड रूपैयाँ लगानी भएको छ। आइतबार २२४ कम्पनीका ४२ लाख ८७ हजारभन्दा बढी कित्ता सेयर खरिद–बिक्री भएका थिए। यसका लागि २ अर्ब २७ करोड रूपैयाँको कारोबार भएको थियो। सोमबार बजार पुँजीकरण ३७ खर्ब ३५ अर्ब रूपैयाँ पुगेको छ।
प्रकाशित: ८ चैत्र २०७८ ०४:४९ मंगलबार