४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

श्रम रोजगार बैंकमा छैनन् श्रमिक

कालिकोटको रास्कोट नगरपालिकाले २०७५ सालमा श्रम रोजगार बैंक स्थापना गर्‍यो। रोजगार बैंकको लक्ष्य पालिकाका बेरोजगारहरुलाई रोजगारी दिनु थियो। उक्त बैंकमा दुई सय ६० जना युवाहरु आवद्ध भए। केही महिना उनीहरुको कालापहाड (भारत)को यात्रा रोकियो। कार्यक्रमको उद्देश्य राम्रो भएपनि प्रभावकारी सञ्चालन गर्न नसक्दा रोजगार बैंकमा समावेश भएका युवाहरु फेरि अहिले कालापहाड गएर भारी बोक्न बाध्य भएका छन्। रोजगार बैंकमा अहिले एक जना पनि छैनन्।

रास्कोट नगरपालिका–२ सिप्खानाका प्रभुराज सिम्खाडाले रोजगार बैंकमा काम नपाउँदा आफूहरु फेरि कालापहाड जान बाध्य भएको बताए। ‘गाउँमै काम पाएको भए कालापहाड किन जान्थ्यौं र,’ उनले भने, ‘घर–परिवार छोडेर अर्काको देशमा भारी बोक्न कहिल्यै नछुट्ने भयो।’ रोजगार बैंकमा आवद्ध सिम्खाडा जस्ता दुई सय ६० जना युवाहरु अहिले बेरोजगार बनेका छन्।

दुई सय ६० मध्ये ८० जना महिला थिए । २०–२० जनाको समूह बनाएर उनीहरूलाई २०७५ साल चैत १ गतेदेखि नगरपालिकाले सञ्चालन गरेका विभिन्न योजनाको जिम्मेवारी दिइएको थियो। रास्कोट नगरपालिका–४ का खेमराज सञ्ज्यालले श्रम रोजगार बैंकमार्फत नौ महिना मात्रै आफूहरुले काम गर्न पाएको बताए। ‘गाउँमै रोजगारी पाइन्छ भनेर कालापहाड गएकाहरु पनि फर्केर रोजगार बैंकमा आवद्ध भए,’ उनले भने, ‘नौ महिना काम पायौं, अहिले फेरि कालापहाड फर्किनुपर्ने अवस्था आइलाग्यो।’

बेरोजगार युवालाई विकास निर्माण र उत्पादनसँग जोड्न रोजगार बैंकमा तीन हजार सदस्य पु¥याउने लक्ष्य नगरपालिकाले लिएको थियो। तर अहिले सुरुमा रोजगारी पाएकाहरुले पनि आफ्नो रोजगारी गुमाएका छन्। श्रम बैंकमा अहिले न काम छ, न काम गर्ने कामदारीहरु छन्।  

रास्कोट नगरपालिका–४ का जयपुरा उपाध्यायले २०७७ को असारसम्म श्रम रोजगार बैंकमा कहिले काहीँ काम पाएको तर, अहिले काम नहुँदा बिहान बेलुकाको छाक टार्न पनि समस्या भइरहेको बताइन्। ‘अरु केही ब्यवासाय छैन् काम नहुदा समस्या छ,’ उनले भनिन्, ‘उधारो सामान किनेको पैसा तिर्नसमेत समस्या भएको छ।’

नगरपालिकाले रोजगार बैंक स्थापना गर्दा ठूलै तामझाम गरेको थियो। नगरपालिकाले भने कोरोनाको बहाना बनाएर रोजगार बैंक सञ्चालन गर्न नसकेको बताएको छ। नगर प्रमुख काशीचन्द्र बरालले कोरोनाका कारण विकास निर्माणको काम प्रभावित हुँदा रोजगार बैंक सञ्चालनमा समस्या आएको बताए। उनले रोजगार बैंकमा आवद्धहरु नगरपालिकाका कर्मचारी नभएकाले बाह्रै महिना रोजगारी दिन पनि नसकिने बताए।  

‘प्रदेश र संघबाट आएको बजेटबाट आफु खुशी उपभोक्ता समिति गठन गर्ने गरिएको छ, नगरपालिकासँग समन्वय पनि हुँदैन्,’ उनले भने, ‘यसले गर्दा पनि रोजगार बैंकमा आवद्ध युवाहरुलाई काममा लगाउन नसकिएको हो।’ उनले रोजगार बैंकलाई फेरि सुरु गर्ने सोच आफूहरुले बनाएको बताए। ‘अव नयाँ आउने कार्यक्रममा स्रोत छनोट गरी केही दिनमै श्रम रोजगार बैंकमा आवद्धहरुलाई बोलाएर काम सुरु गछौं,’ उनले भने, ‘अहिले स्रोतको खोजी भइरहेको छ।’ नगर प्रमुख बरालका अनुसार रोजगार बैंकमा अहिलेसम्म १५ सय सदस्य आवद्ध भएका छन्। अहिले ति सबै काम बिहीन छन्।

प्रकाशित: २९ फाल्गुन २०७८ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App