१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन भोलि

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलन फागुन २६ गते हुुने भएको छ। महासंघले मंगलबार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गर्दै महाधिवेशन र सम्मेलनको तयारी पूरा भएको जनाएको हो।

महासंघ अध्यक्ष श्यामप्रसाद गिरीले महाधिवेशनमा लघु घरेलु तथा साना उद्योग र महिला उद्यमशीलताको क्षेत्रमा सुधार गर्नुपर्ने र स्थापित गर्नुपर्ने सकारात्मक नीति नियम र कानुनहरूबारे छलफल गरी ठोस निष्कर्षमा पुग्ने योजना रहेको बताए। वीरगञ्जस्थित टाउन हलमा हुने महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले बताए। महाधिवेशनबाट तीनवटै तहका सरकारले लघु घरेलु तथा साना उद्योगको क्षेत्रमा अवलम्बन गर्नुपर्ने सुधारका कार्यक्रम र नीतिगत सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराउने र सुधारका लागि पहल गर्ने नेतृत्वसमेत चयन गर्ने अध्यक्ष गिरीले बताए।

गत वर्षसम्मको तथ्यांकले अहिलेसम्म चार लाख ९८ हजार लघु घरेलु तथा साना उद्योग दर्ता भएका र करिब दुई लाख ६२ हजारले नवीकरण गरेको देखिएको अध्यक्ष गिरीले जानकारी दिए। उनका अनुसार अहिले मुलुकमा क्रियाशील रहेका करिब दुई लाख ७० हजारको हाराहारीमा रहेका उद्योगमा आठ हजार जति मझौला र ठूला उद्योग रहेका हुँदा ९५ प्रतिशतभन्दा बढी उद्योगहरू लघु घरेलु तथा साना उद्योग रहेका छन्।

यस्ता उद्योगले अर्थतन्त्रमा कुल ग्रार्हस्थ्य उत्पादनको ६ प्रतिशत जति अंश योगदान गरिरहेको जानकारी दिँदै उनले भने, ‘योबाहेक झन्डै पाँच लाख परिवार अनौपचारिक रूपमा लघु उद्यम व्यवसायमा संलग्न रहेको अनुमान छ। यी सबैको गणना गर्दा लघु घरेलु तथा साना उद्योगले कुल ग्रार्हस्थ्य उत्पादनको झन्डै १३ प्रतिशत योगदान पुर्‍याइरहेका छन्।’

उनका अनुसार झन्डै २७ लाख जनशक्तिलाई रोजगारी उपलब्ध गराइरहेको यस क्षेत्रले मुलुकको निर्यातको ६० प्रतिशतभन्दा बढी अंशमा योगदान पुर्‍याइरहेको छ। यति हुँदाहुँदै यो क्षेत्र अझै उपेक्षित रहेको छ। वर्तमान संघीय संरचनामा मुलुक प्रवेश गरेपछि यो क्षेत्र र सरकारका तीन तहबीच दुरी घट्नुको साटो अझ बढिरहेको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ २०४७ सालमा स्थापना भएको लघु घरेलु तथा साना उद्योगीहरूको प्रमुख छाता संस्था हो। यस अन्तर्गत अहिले ३२८ वटा पालिकामा पालिका संघ, ७७ वटै जिल्लामा जिल्ला संघ र सातवटै प्रदेशमा प्रदेश संघ कार्यरत छन्।

योसँगै केन्द्रमा केन्द्रीय महिला उद्यमी समिति, प्रदेशमा प्रदेश महिला उद्यमी समिति, ६० वटा जिल्लामा जिल्ला महिला उद्यमी समिति र झन्डै ३ सय पालिकामा पालिका महिला उद्यमी समिति कार्यरत छन्। यस अन्तर्गत झन्डै ४० हजार लघु घरेलु तथा साना उद्योगीहरू महासंघका सदस्य रहेका छन् भने करिब १२ हजार महिला उद्यमी सञ्जालमा जोडिएका छन्। योबाहेक महासंघमा २७ वटा वस्तुगत संघहरू संस्थागत सदस्यको रूपमा रहेका छन् भने एसोसिएट सहकारी र ऊर्जा क्षेत्र गरी थप दुई हजार उद्योगी महासंघका सदस्य रहेका छन्।

प्रकाशित: २५ फाल्गुन २०७८ ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App