२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

पेट्रोल पम्पले निगमबाट तेल उठाएनन्, बजारमा अभाव हुने

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि सँगै नेपाल आयल निगमले पेट्रोल पम्पको कमिसन कटौती गरेपछि पेट्रोलियम व्यवसायी आन्दोलित भएका छन्। पम्पले आज (शुक्रबार) नेपाल आयल निगमका डिपोबाट डिजेल, पेट्रोल उठाएका छैनन्।

कमिसन यथावत नभएसम्म पेट्रोलियम पदार्थ खरिद नगर्ने निर्णय गरेको नेपाल पेट्रोलियम डिलर्श एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए। पम्पले आज यसअघि निगमबाट लिएको तेल बेचे पनि शुक्रबार लोड नलिएपछि बजारमा पेट्रोल, डिजेलको अभाव हुने भएको छ।

निजी पम्पले तेल लोड नगरे पनि सरकारी स्वामित्वका संस्था तथा कम्पनीका पम्पहरुले भने डिजेल, पेट्रोल लिएका छन्। नेपाली सेना, नेपाल प्रहरी र साझा सहकारीका पेट्रोल पम्पहरुले शुक्रबार दुई लाख लिटर डिजेल र पेट्रोल नेपाल आयल निगमको थानकोट डिपोबाट संकलन गरेका थिए।

आयल निगमले पेट्रोल पम्प सञ्चालकले पाउँदै आएको सुविधा कटौती गरेको थियो। त्यसको विरोधमा व्यवसायी आन्दोलनमा उत्रिएका हुन्। मूल्य वृद्धि हुँदा कमिसन बढ्ने र घट्दा घट्ने व्यवस्था थियो।

पेट्रोल पम्प व्यवसायीको कमिसन लिटरमा ६ रुपैयाँभन्दा माथि पुगेको थियो। यसपटक मूल्य बढ्दा व्यवसायीको कमिसन पेट्रोल र डिजेलमा प्रतिलिटर करिब १५ देखि २० पैसा बढ्ने थियो। यो कमिसन वृद्धि नहुने निगम सञ्चालक समितिले निर्णय गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन्।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि सँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यले नयाँ रेकर्ड राखेको हाे। पेट्रोलको मूल्य लिटरको एक सय ५० रुपैयाँ पुगेको छ।

नेपाल आयल निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो। रुसले युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले नयाँ रेकर्ड बनाएसँगै त्यसको असर नेपालमा पनि परेको हो। इन्डियन आयल कर्पोरेसनबाट मूल्य वृद्धि भएर आएपछि निगमले बिहीबार रातीबाट लागू हुने गरी मूल्य बढाएको हो।

मूल्य वृद्धिसँगै डिजेल र मट्टितेलको मूल्य एक सय ३३ रुपैयाँ पुगेको छ। यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ सय डलर बढेको वृद्धि गरेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ।

अन्तर्राष्ट्रय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रतिब्यारेल १ सय १७ डलरसम्म पुगेको थियो। मूल्य वृद्धि गर्दा पनि निगमलाई १५ दिनमै दुई अर्ब ५० करोड रुपैयाँ घाटा रहेको जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७८ ०९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App